दार्जिलिङ, ८ जुलाईः १२ जुलाईका दिन अर्थात आउँदो मङ्गलबार जीटीए सभाका नवनिर्वाचित सभासद्हरूले शपथ ग्रहण गर्नेछन्।
आज राज्यको गृह एवं पार्वत्य मामिला विभागले यस सम्बन्धमा एक निर्देश जारी गरेको छ।
निर्देशका अनुसार शपथ ग्रहण कार्यक्रम चौरस्तामा बिहान ११ बजेदेखि शुरू हुनेछ। शपथ ग्रहण जलपाइगढीका कमिश्नर अजित रञ्जन बर्धनले गराउनेछन्।
यस दिन जीटीए सभाका निर्वाचित ४४ जनै सभासदले शपथ ग्रहण गर्नेछन्।
उल्लेखनीय छ, पछिल्लो २६ जूनका दिन सम्पन्न जीटीए सभाको चुनाउमा अनित थापा नेतृत्व भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले २७ सिट जितेर स्पष्ट बहुमत प्राप्त गरेको छ।
त्यसैगरी अजय एड्वर्ड्स नेतृत्व हाम्रो पार्टीले ८ स्वतन्त्र उम्मेदवारले ५ र तृणमूल कङ्ग्रेसले ५ सिट जितेको छ।
अर्कोतर्फ, कालेबुङका तीनजना स्वतन्त्र सभासद् क्रमैले वीरे राई, विकास राई र कुमार शर्माले पनि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चालाई अघिबाटै समर्थन जनाइसकेका छन्।