सिलगढी, ११ जुलाईः स्विट्जरल्यान्ड गइरहेको कुमुदिनी होम्सको पाइप एन्ड ड्रम ब्यान्ड टिम आज बिहान ९.३५ बजे बाघडुग्राबाट दिल्लीका लागि उडेको छ।
हिजो स्पाइसजेटको उडान रद्द भएपछि बिचल्ली बनेको यस टिमका लागि आज नयाँ टिकट बनेको हो। अब कुमुदिनी होम्सको पाइप एन्ड ड्रम ब्यान्ड टिमका सदस्यहरू आज राति दिल्लीबाट इन्डिको विमानमा कतार जानेछ, त्यहाँबाट उनीहरू कतार एयरवेजको विमानमार्फत मध्यराति जुरिखका लागि उड्नेछन्।
जानकारीका अनुसार उनीहरू भोलि बिहान करिब ७ बजे जुरिख पुग्नेछन्। जुरिखसम्म पुग्न उनीहरूलाई दार्जिलिङका सांसद राजु विष्टले सहयोग गरेका छन्, जसका लागि कुमुदिनी होम्सले सांसद विष्टप्रति आभार प्रकट गरेको छ।
सांसद राजु विष्टका अनुसार यस टिमको जुरिखसम्म विमान खर्च पनि उनले नै व्योहोरेका छन्।
उल्लेखनीय छ, हिजो अन्तिम समयमा स्पाइसजेटको विमान रद्द भएपछि कुमुदिनी होम्सको पाइप एन्ड ड्र ब्यान्ड टिम मुम्बई उड्न पाएको थिएन। विमान रद्द भएपछि यस टिमका सदस्यहरूले विमानस्थलभित्रै राष्ट्रिय झण्डा लिएर धर्ना शुरू गरेका थिए भने पछि सांसद विष्ट बाघडुग्रा हवाइअड्डा पुगेर समस्याको समाधान निकालेका थिए।
पूर्व कार्यक्रमअनुसार उनीहरू हिजो बाघडुग्राबाट मुम्बई, त्यसपछि म्युनिख हुँदै जुरिख पुग्नेथिए तर हिजो विमान रद्द भएपछि अब नयाँ टिकटअनुसार आज बिहान उनीहरू बाघडुग्राबाट दिल्ली उडिसकेका छन्। दिल्लीमा दिनभर सांसद राजु विष्टको आवासमा बसेपछि १० बजे दोहा जानेछन्। दोहाबाट मध्यराति १.५० बजेको कतार एयरवेजको विमानमार्फत जुरिख उड्नेछन्।
स्मरणरहोस्, बसेल ट्याटु उत्सवमा अब कुमुदिनी होम्सको पाइप एन्ड ड्रम ब्यान्ड टिमले १५ देखि २४ जुलाईसम्म प्रस्तुति दिनेछ, जहाँ यस ब्यान्डले खुकुरी नृत्य पनि गर्नेछ।