कालेबुङ, १२ जुलाईः आज अपराह्न करिब २ बजे तारखोलाको फरेस्ट अफिसछेउ राष्ट्रिय राजमार्ग-१०मा विपरीत दिशाबाट आइरहेको बोलेरो र बाइक ठोकिँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्।
रम्फू पुलिसका अनुसार सिक्किमतर्फ गइरहेको एएस १७ एल ८०२७ नम्बरको बोलेरोसँग मल्लीतर्फबाट गइरहेको बाइक ठोकिँदा बाइक राइडर आईबीएम रम्फूनिवासी ३० वर्षीय विजय प्रधानको मृत्यु भएको छ।
अर्कोतर्फ यसै बाइकसँगै गइरहेको अर्को बाइक पनि यस दुर्घटनामा पर्दा उक्त बाइक राइडर दक्षिण सिक्किम तिमीनिवासी सुबोध राई पनि घाइते भएका छन्। ती घाइते बाइक राइडर र झाक्रापाडा असमनिवासी बोलेरो चालक अब्दुल मल्लिकलाई उपचारका लागि सिङ्ताम अस्पताल लगिएको छ।
रम्फू पुलिसले घटनाको अनुसन्धान गरिरहेको छ।
अर्कोतर्फ आजै कालीझोडाको सेती भिर छेउ एसके ०७ डी ०३०९ नम्बरको ट्रक र डब्ल्यूबी ७९ बी ०१३४ नम्बरको बाइक ठोकिँदा बाइकमा सवार दुई युवक घाइते भएका छन्। पुलिसले दिएको जानकारीका अनुसार घाइते हुने युवकद्वयका नाम अभि तिवारी र अभिनय तिवारी हो। उनीहरू दुवै कालेबुङ हाटबजारनिवासी हुन्।