“आशालाग्दो केटो जेठाज्यु पर्‍यो!”

0
1181

-पुरण छेत्री

“तेरो विमल गुरुङले जीटीए कि सीटीए थाप्छ, यहाँ घरमा रिस देखाउँछस् ? दिउँ क्या हो एक…?”

आमाको हातको कुच्चो देखेर म चुपचाप भान्सा घरबाट बाहिरिएको थिएँ ।

हुन पनि दाज्युले जीटीए स्वीकार गरेर गोर्खाहरूकै दाँतमा ढुङ्गा लगाइदिएको थियो । डुवर्सको एक इन्च जमिन पनि छोड्दिन भन्थे, तर एक इन्च पनि पाएनन्; तरै पनि गोजमुमोका कार्यकर्ताहरू पसिनाले लोत भइञ्जेल नाचे । त्यही दिनदेखि हो मैले विमल गुरुङको आलोचना गर्न थालेको । यस्तै के के सोच्दै साथीहरूलाई पछ्याइरहेको थिएँ ।

“उ तलको हो घर ।” -मेरो अघि अघि हिँड्ने मिलनले (परिवर्तित नाम) नेताज्युको घर देखाउँदा झसङ्ग भएँ ।

मित्र फुर्बा (परिवर्तित नाम) मेरो पछि पछि थिए । तीनजना लहरै उभेर डाँडाबाट नेताज्युको घर र वरिपरिका दृश्य एकक्षण हेर्‍यौँ । अनि झर्‍योँ  ओरालो खुत्रुक खुत्रुक खुत्रुक ।

केही क्षणमा हामी नेताज्युको गेटभित्र थियौँ । घर बाहिरबाटै निक्कै सुन्दर देखिन्थ्यो । गेटको छेवैमा भएको तिर्पाल लगाएको खाली तम्बु देखाउँदै सुस्तरी मिलनले बताउन थाल्यो ।

“अस्तिसम्म त पूरा सुरक्षा गार्ड थियो नि ! आन्दोलन शुरू भएपछि ममताले फिर्ता लगेको ।”

मिलनको नेताज्युसँग राम्रो सम्बन्ध भएकाले बेला-बेला आइरहने भए पनि मित्र फुर्वा र म प्रथमपल्ट पुगेका थियौँ  नेताज्युको घर । फुर्बासँग पनि नेताजीको परिचय थियो । परिचय थिएन त बस मसँग । जातिका लागि केही गर्न सक्ने योग्यता भएको नेताज्यु सब कुरा जान्दछन् । बोल्न थालेपछि सबैलाई वाल्ल पार्छन् । आज पहिलोचोटि नेताज्युसँगको मेरो कुराकानी कस्तो होला भन्ने मनमा लागिरहेथ्यो ।

“सर हुनुहुन्छ ?” भित्र कसैलाई मिलनले ढोकाबाटै चियाउँदै सोधे । भित्रबाट के जवाब आयो कुन्नि, सुनेनौँ  हामीले ।

“मिलन भाइ आएको छ भनिदिनुस् न ।” नेताज्यु घरमै रहेका इसारा गर्दै उ हामी भएसम्म आइपुग्यो ।

मिलनसँगको मेरो मित्रता पुरानो भए पनि फुर्बालाई भने मिलनले २०१७ को जुलुसमै भेटाएका हुन् । सोझो, मिलनसार र गोर्खाल्यान्डप्रति उनको निष्ठा देखेर म प्रभावित बनेँ । त्यसपछि दैनिक जुलुस र सभामा हामी कहिल्यै छुटेनौँ ।

“भित्रै बस्दै गर्नुस् अरे, सर आउँदै हुनुहुन्छ ।” ढोकामा निस्किएकी युवतीलाई आज्ञाकारी बालकहरू झैँ पछ्याउँदै बैठक कोठामा पुगेर हामी बस्यौँ ।

ठूलाठूला मान्छेको घरमा पस्न पाउँदा म भित्ताभरि संवर्द्धना गरिएका फोटो र पत्रहरू खुब हेर्छु । यहाँ पनि मेरा आँखा कोठाका भित्ताहरूमा डुलिरहेथ्यो, नेताज्यु माथिल्लो तलाबाट झर्नुभयो ।

“आज कसरी बाटो बिराउनुभयो भाइहरूले ?” हाम्रो नमस्कार थादै, बस्ने बस्ने इसारा गर्नुभयो नेताज्युले ।

“यहाँ हाम्रो साथी हुनुहुन्छ, पुरण छेत्री”, मिलनले मेरो परिचय दिएपछि, बाँकी रहेको परिचयका बुँदाहरू म आफैले पूरा गरेँ ।

हिजसम्म सडकमा माइक्रो फोन लिएर माटो र जाति मुक्तिको भाषण दिइरहनु हुने नेताज्यु, अचानक चुपचाप बस्नु भएको मलाई असहज लागिरहेको थियो; तर एकक्षणका कुराकानी पछि उहाँले गफ गर्ने वातावरण निक्कै सहज बनाइदिनु भयो ।

“सरलाई डिस्टर्ब त गरेनौँ होला हामीले ?” एउटा शिष्टाचार र औपचारिकताकै लागि भए पनि मैले सोधिपठाएँ ।

“खासमा चै म एउटा किताब लेख्न बसेको थिएँ । यो अलिकति पाएको फुर्सद काम लगाउँ भनेर । मिलन भाइ आयो भनेर मात्र झरेको ।” चिया पिउने आग्रह गर्दै आफूले गरिरहेका कामको विवरण पनि दिनुभयो। उहाँले चियाको चुस्की लिदै अझ थप्नुभयो,-“कहिलेकाहीँ त लाग्छ, लेख्न छाडेर व्यर्थै राजनीतिमा पसिएछ ।”

“सर जस्तो मान्छे त राजनीतिमा हुनुपर्छ नि ! सरका जति अनुभव, विषयवस्तुको ज्ञान, बुझाउनसक्ने क्षमता, भाषिक कुशलता अरूमा त देखिएको छैन ।” मिलनले सरको राजनीतिक जीवनलाई सही ठहऱ्याउँदै भन्यो ।

“हाम्रो मान्छेले कहाँ त्यस्ता कुरा बुझ्छ भाइ ? नयाँ राजनीतिक संस्कारको निर्माण हुनुपर्छ भन्ने हाम्रो लक्ष्य हो, खै त जनताले बुझेका ?” एकै सासमा नेताज्युले चुनाउ हारेको आफ्नो मनको भडास पोखिदिए । त्यसपछि खाजासँगै २००७ -देखिको आन्दोलनका कुराहरू, जीटीए सञ्चालनका नीति र तरिकाहरू, विधान सभा चुनाउ, विमल गुरुङ, रोशन गिरी, अनित-विनय, जीएमसीसी, राजीनामा, वर्तमान आन्दोलन आदि विषयहरूमा चर्चा भयो ।  तर अझ पनि हामी नेताज्युलाई भेट्न गएको मुख्य उद्देश्यको पोको खुलेको थिएन ।

तमाम चर्चापछि मैले नै उद्देश्यको पोको खोलेँ, -“सर अहिलेसम्मका वार्तालापमा हजुरलाई मैले गोर्खाल्यान्डको पक्षधर नै पाएँ ; तर गोर्खाल्यान्डको माग उठाउने बलिया नेताहरूलाई त बङ्गाल सरकारले छानी छानी मार्ने रहेछन् । विमल गुरुङमाथि भएको हालैको गोलाबारीले के बुझाउँछ भने, गोर्खाल्यान्ड माग्ने नेतालाई “गोली ठोक्ने” अनि जनताको मुख बन्द राख्ने । अब विमल गुरुङ त बाँच्दैनन् नै, त्यसपछि मुद्दाको बिँडो सरले उठाउनु हुनेछ । सरलाई पनि त्यसरी नै गोली ठोक्दैन भन्ने के ग्यारेन्टी ? दल फरक हुनसक्छ, विचार फरक होला, सिद्धान्त नमिल्ला तर गोर्खाका नेताहरूलाई गोली ठोक्न पाइँदैन भन्ने सन्देश बङ्गाल सरकारलाई जान जरूरी देखियो । यसलाई रोक्न एउटा सर्वदलीय बैठक राख्दा कसो होला ?”

“हामी यसै क्रममा सबै राजनैतिक दलका नेताहरू भेट्ने अठोट गरेका छौँ । साथमा भागोपलाई पनि यस कुराको पहल गरिदिने अनुरोध गर्ने भएका छौँ।” साथी मिलनले अझ हाम्रो उद्देश्य स्पष्ट पारिदिए ।

नेताज्यु गम्भीर देखिए, हातको सिगरेट मुखमा हाले, सल्काए । बुङ्ग एकसरो धुवाँ उडाए र बोल्न शुरू गरे ।

“भाइहरूलाई गोर्खाल्यान्ड हुन्छ जस्तो लाग्छ ?” एस्ट्रेमा खरानी झार्दै सोध्नु भयो नेताज्युले।

“हुन्छ भनेर नै त यत्रो जनताले साथ दिइरहेका छन्, होइन र सर ?” मैले उल्टै प्रश्न गरेँ नेताज्युलाई ।

“धत् ! भाइ पनि, उति पारी सिक्किममा नेपाली मुख्यमन्त्री । गोर्खाल्यान्डमा पनि नेपाली मुख्यमन्त्री हुनदिन्छ र ? के केन्द्र सरकार लाटा छ ?”

हामी वाल्ल पर्‍यौँ, तीनै भाइका आँखा जुझ्यो। यत्रो वर्ष हामीलाई छुट्टै राज्यको पाठ पढाउने मान्छेको गोर्खाल्यान्डमाथिको विचारधारा सुनेर ती छक्क पर्‍यौँ । अब केही बोल्न सक्ने स्थिति रहेन । हामीले कल्पनै नगरेको उत्तर आयो । कुराको सिलसिला यही सकिएको आभाष भयो । केही क्षण त मलाई पनि ‘अँ त नि साँच्ची’ भन्ने लाग्यो ।

हातमा ट्रे लिएर अघि खाजा दिने युवती हामीले खाएको कप प्लेट उठाउन आइपुगी । त्यही मौकामा हामीले पनि नेताज्युलाई नमस्कार गरिराखेर उकालो लाग्यौँ, चुपचाप चुपचाप। म सोचिरहेका थिएँ, “शुरूवात नै गलत भयो, यिनले यत्रो वर्ष हामीलाई छक्याएका रहेछन् । यत्रो विद्वान् मानिस घरमा किताब लेख्दैछन्, मूर्ख भएर पनि उता विमल गुरुङ माटो माटे भनिरहेका छन्। अनि मैले अठोट गरेँ, जबसम्म मुद्दा विमलसँग छ, म उसलाई साथ दिनेछु”। दुईभाइले के सोचिरहेका थिए कुन्नि?

गाडीमा आएर पुन: तीन भाइ मुखामुख भयौँ। मैले चुपचाप गाडी स्टार्ट गरेँ।

“आशालाग्दो केटा जेठाज्यु पर्‍यो, भनेको चाहिँ यही हो।” हिलटप छाड्ने बेलामा, फुर्बाले हाम्रो मौनता तोड्दै एउटा उखान भने।

आज पनि जब हाम्रा ड. हर्क बहादुर छेत्रीलाई समाचार या टिभीमा देख्छु, फुर्बाले भनेका त्यो उखान झलझली याद आउँछ । सोचिरहन्छु, ‘साँच्चै कति मिलेको  यो उखान हाम्रा ड. हर्क सरलाई !’

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here