प्रधानमन्त्रीद्वारा सिक्किमका दुईवटा स्मार्ट सिटीको डिजिटल शिलान्यास : सीएमले दिए पीएमलाई धन्यवाद

0
1508
स्मार्ट सिटीको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै चामलिङ।

गान्तोक, 7 मार्चः प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार नयाँ दिल्लीबाट सिक्किमका लागि दुईवटा स्मार्ट सिटी परियोजनाको डिजिटल शिलान्यास राखे।

सिक्किम सँगसँगै उनले अरुणाचल प्रदेश र त्रिपुराका लागि एक-एकवटा स्मार्ट परियोजनाको शिलान्यास पनि गरेका छन्।

गान्तोक स्मार्ट सिटी परियोजनाका लागि चिन्तन भवनमा एउटा कार्यक्रमको आयोजन गरिएको थियो, जसमा मुख्यमन्त्री पवन चामलिङ मुख्य अतिथिका रूपमा उपस्थित थिए भने नाम्चीमा पनि एउटा कार्यक्रम आयोजन गरिएको थियो।

नाम्चीको कार्यक्रममा शहरी विकास तथा आवास विभागीय मन्त्री एनके सुब्बा मुख्य अतिथिका रूपमा उपस्थित थिए।

चिन्तन भवनको कार्यक्रमबाट मुख्यमन्त्री चामलिङले प्रधानमन्त्री नरेन्द्र मोदीसँग भिडियो कन्फ्रेन्सिङमार्फत कुराकानी गर्दै सिक्किमका लागि दुईवटा स्मार्ट सिटी परियोजना उपलब्ध गराएकोमा धन्यवाद दिए।

मुख्यमन्त्रीले भने,“दुईवटा परियोजनाका लागि म प्रधानमन्त्रीप्रति आभारी छु। सिक्किम र सिक्किमेली जनताका पक्षबाट प्रधानमन्त्रीलाई धन्यवाद दिन चाहन्छु। दुईवटै स्मार्ट सिटी परियोजना सफल बनाउने पनि वचन दिँदछु। यी परियोजना पर्यावरण-अनुकूल हुनेछन्।”

नाम्ची स्मार्ट सिटी परियोजनाको काम द्रुत गतिमा भइरहेको पनि मुख्यमन्त्रीले प्रधानमन्त्रीलाई जानकारी दिए। नाम्ची स्मार्ट सिटी परियोजनाअन्तर्गत पिउने पानी, फुटपाथ निर्माणको काम चलिरहेको र गान्तोक स्मार्ट सिटीमा आकाशे पानी दोहनमाथि कार्य भइरहेको उनले जानकारी दिए।

प्रधानमन्त्रीसँग भिडियो कन्फ्रेन्सिङमा बात भइसकेपछि मुख्यमन्त्रीले चिन्तन भवनमा उपस्थित सहभागी र विद्यार्थीहरूसँग भने, “म 40 वर्षदेखि सिक्किमको राजनीतिमा छु। रातदिन एक गरेर सिक्किमेली जनताका लागि काम गरिरहेको छु। मैले जतिसक्दो इमानदार र समर्पित भएर आफूले पाएको जिम्मेवारी निभाइरहेको छु। त्यसैले होला, आज सिक्किममा सोचेभन्दा अधिक काम हुँदैछ। यी कामको परिणामले मलाई धेरै खुशी मिल्दैछ। आज सिक्किमको नाम विश्वमा चिन्हित भइसकेको छ।”

विद्यार्थीहरूलाई ध्यानमा राखेर सरकारले धेरै नीति निर्धारण गरेको जनाउँदै मुख्यमन्त्रीले अझ भने,“हामीले महाविद्यालय स्तरसम्म निःशुल्क शिक्षाको व्यवस्था गरेका छौं। तर, यसले मात्र मलाई खुशी मिलेन। हाम्रा विद्यार्थीले अझ पढ्न पाउनुपर्छ भन्ने सोचेर गत 4 मार्चको दिन मैले एउटा घोषणा गरेको छु। अब राज्यका सबै विश्वविद्यालयमा सिक्किमेली विद्यार्थीहरूलाई निःशुल्क पढ़ाइनेछ।  विद्यार्थीहरू जति पढ्न चाहन्छन्, त्यति पढ़ाउने मेरो इच्छा छ। विश्वमा कहीं नभएको निःशुल्क चिकित्सा शिक्षा पनि हामी शुरु गर्दैछौं। यसै शैक्षिक सत्रदेखि यो पनि शुरु हुनेछ।”

स्मार्ट सिटी परियोजनामाथि बोल्दै मुख्यमन्त्रीले भने, “स्मार्ट सिटी परियोजनाअन्तर्गतका काम त हुन्छन् नै; यस अतिरिक्त राज्य सरकारबाट अन्य धेरैवटा परियोजना कार्यान्वयनको सङ्घारमै छन्। हामी सिक्किमको शहरी क्षेत्रमा बस्ने मानिसहरूलाई राम्रोभन्दा राम्रो अवसर र सुविधा उपलब्ध गराउन चाहन्छौं। त्यसैले सिक्किमका सबै शहरी क्षेत्रलाई स्मार्ट बनाउने काम हुँदैछ। हाम्रो राज्य पहाड़ी भएकोले हामीलाई धेरै कठिनाइ र ठाउँको कमी छ। त्यसैलाई ध्यानमा राखेर अन्डरग्राउण्ड बजारको परिकल्पनाका साथ अघि बढ्दैछौं। गान्तोकमा अन्डरग्राउण्ड बजार निर्माण हुनेछ।”

आगामी सरकारको योजनाहरूमाथि बोल्दै मुख्यमन्त्रीले भने,“हामी सड़क मार्गलाई छोट्याएर समय बचत गर्ने दिशामा काम गर्दैछौं। अब राज्यमा सुरूङ मार्ग विकास गरिनेछ। पहिलो परियोजनाको रूपमा सिङ्ताम नजिक सिरवानीदेखि पश्चिम सिक्किमको लेगसेपसम्म सुरूङ मार्ग खनिनेछ। यसको सबै प्रक्रिया पूरा भइसकेको छ। अब काम शुरु हुनेछ। राज्यमा पिउने पानीको केही समस्या देखिँदैछ। त्यसलाई पनि ध्यानमा राख्दै आकाशे पानी दोहन (रेन वाटर हार्भेस्टिङ) र हिमखण्डको पानी संरक्षणको दिशामा पनि हामीले काम गरिरहेका छौं।”

उल्लेखनीय छ, गान्तोक र नाम्ची स्मार्ट सिटी परियोजनाअन्तर्गत भौतिक पूर्वाधार सँगसँगै दुई शहरमै सीसीटीभी जड़ान, इन्टेलिजेन्ट ट्राफिक म्यानेजमेन्ट सिस्टम (आईटीएनएस), स्मार्ट पार्किङ सिस्टम र पेसेन्जर इनफरमेशन सिस्टम (पीआईएस), स्मार्ट स्ट्रिट लाइटिङ, स्मार्ट पोल, एकीकृत फोहोर स्मार्ट प्रबन्धन, पब्लिक वाईफाई आदिको सुविधा हुनेछ।

स्मरण गराइन्छ, दुईवटा स्मार्ट सिटी परियोजनाअन्तर्गत राज्य सरकारले केन्द्र सरकारबाट कुल 1000 करोड़ रुपियाँ प्राप्त गर्नेछ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here