-भविलाल लामिछाने
भारतको उत्तर-पूर्वमा अवस्थित असम राज्यको मध्यभागमा पर्ने लङ्का भन्ने ठाउँमा यज्ञप्रसाद सुवेदी र विष्णुमाया सुवेदीका जन्तरे पुत्रका रूपमा २५ जनवरी , १९६५ -का दिन मोहन सुवेदीको जन्म भएको हो ।
पिताजी पनि संस्कृत र बङ्ग्ला भाषाका पुस्तकहरू पढिरहने अनि घरमा लेख-पढको संस्कार भएकाले मोहनले स्कुलका दिनहरूमा नै असमिया, बङ्ग्ला, संस्कृत, हिन्दी र अङ्ग्रेजीभाषाका पुस्तकसित हेलमेल हुने मौका पाए । लङ्काबाटै आफ्नो प्राथमिक र माध्यमिक शिक्षा समाप्त गरी स्थानीय कलेजबाट बीए सिद्ध्याएर गुवाहाटी विश्वविद्यालयमा अर्थशास्त्र विषयमा एमए पढ्नथाले पनि परीक्षा भने दिन पाएनन् । पछि नेपाली भाषा-साहित्यमा अध्ययन गरी नेपाली विषयमा स्नातकोत्तरको डिग्री प्राप्त गरे ।
मोहनले विद्यार्थी कालदेखि नै कथा, कविता, गीत रचना गर्न थालेका हुन् । आकाशवाणी गुवाहाटीमा उनका कतिपय गीत रेकर्ड भई प्रसारित भएका छन् भने एलबमका रूपमा पनि सङ्कलित छन् । चार दशकको साहित्य-लेखनको अनुभव भएका मोहन सुवेदीको पहिलो प्रकाशित रचना हो १९८१ मा ‘विन्दु’ पत्रिकामा छापिएको कविता ‘नयाँ सूर्यको जन्म’ । असमिया भाषामा पनि उत्तिकै सहजतासित लेखनी चलाउन सक्ने सुवेदीले असमिया भाषामा प्रशस्त साहित्य-सृजना गरेका छन् । असमिया भाषामा पुस्तकाकार कृति प्रकाशित नभए तापनि धेरै पत्र-पत्रिकामा उनका रचनाहरू प्रकाशित भएका छन् ।
कवितामा नवीन आवेग र अनुभूतिलाई प्रस्तुत गर्ने सुवेदीका कवितामा सार्वजनीनता एउटा विशेष पक्ष देखिन्छ । वर्तमानमा मोहन सुवेदी भारतीय जीवन-बिमा निगमको कार्यालय, तेजपुर, (असम)- मा वरिष्ठ प्रशासनिक अधिकारीको पदमा कार्यरत छन् । कविताबारे मोहन सुवेदी आफ्नो विचार यसरी व्यक्त गर्छन्- ‘वास्तविक अनुभूतिको सम्प्रेषणी य काव्यिक भाव-अभिव्यक्तिको असल माध्यम हो कविता । वास्तविक उपलब्धि मात्रै भएर हुँदैन, त्यहाँ चाहिन्छ कविको कलात्मकता । स्वकीय दृष्टि-भङ्गी र वास्तविक अभिज्ञताको सहायताले मानव-सभ्यता, संस्कृति र ऐतिहासिक चेतना-बोधको काव्यिक चिन्ता-धारा जब व्यक्त गरिन्छ, तब जन्मिन्छ एउटा कविता । जीवनको तीक्ष्ण अनुभूति , मानवीय मूल्यबोध, आर्थ-सामाजिक अवक्ष्यय आदि अनेकौँ नेपथ्यले अनवरत घच्घचाइरहेको अन्तर्मनलाई वहिर्प्रकाशको सरल माध्यमका रूपमा कविताको सिर्जना गरिएको हुन्छ । कविता को निजस्व गठन पद्धति , रूप-रीति र गतिशीलता छ, जसका लागि आवश्यक पर्छ तीव्र अनुभूति , गतिशील धारणा , स्वकीय मननशीलता र स्वच्छ दृष्टिकोण । प्रायः चालिस साल अघिबाट कवितासँग मेरो अन्तरङ्ग सम्पर्क छ। देश-विदेशका पौराणिक अनि आधुनिक कविताहरू अध्ययन गर्दैजाँदा पौरिएर आएका विभिन्न समयका प्रतिच्छविहरू आँखाअघि घुम्न थाल्छन् । एकजना साधारण कविको हैसियतले आधुनिक कविताप्रति मेरो आस्था सुदृढ छ । यस सत्यलाई अस्वीकार गर्न सकिँदैन, जबसम्म मानवीय अनुभूति र आवेगिक प्रकाशको स्वच्छ परिवेश रहन्छ, त्यतिखेरसम्म कविताको मृत्यु हुँदैन ।’
सुवेदीका प्रकाशित कृति –
कविता-सङ्ग्रह
१. पृथ्वीजसरी भोग्दैछु (१९८७)
२. केही शब्द र धुवाँ (२००४)
३. नीलो चरो र अन्य कविता (२०१६)
कथा-सङ्ग्रह
१. माटो , मान्छे र माया (१९९८)
२. मृतकहरूको देशमा (२००८)
निबन्ध-समीक्षा
१. साहित्य र समीक्षा (२००५)
२. विवेचना र मूल्याङ्कन (२०२१)
गीत-सङ्ग्रह
१. गीतको मूर्च्छना (२०१२)
अनुवाद
१. मोरा (शिशु-ग्रन्थ, मूल लेखक – मुल्कराज आनन्द, न्यासनल बुक ट्रस्ट, २००२)
२. कविता (कविता-सङ्कलन, मूल लेखक – नीलमणि फुकन, साहित्य अकादमी , २०१२)
सम्पादन
१. प्रहर (सामयिक पत्रिका)
२. लंकाज्योति (स्मृति-ग्रन्थ)
३. हस्ताक्षर (कविता-सङ्कलन)
४. प्रणिपात (असमिया स्मृति-ग्रन्थ)
५. समकालीन नेपाली साहित्य (पत्रिका)
६. सम्भार (पत्रिका)
७. दुर्गाज्योति (स्मृति-ग्रन्थ)
पुरस्कार सम्मान
१. टङ्कनाथ उपाध्याय स्मृति कथा-पुरस्कार (असम, २००५)
२. स्पन्दन कविता-पुरस्कार (कुवैत, २०१०)
३. विद्यावाचस्पति सारस्वत सम्मान (भागलपुर, २०१३)
४. स्रष्टा पुरस्कार (कथा विधामा , सिक्किम, २०१८)
५. कवि पुष्पलाल उपाध्याय स्मृति कविता-पुरस्कार, (असम नेपाली साहित्य सभा, २०२१)
मोहन सुवेदीको एउटा कविता :
स्वाधीनता
अहिले मसित सुकिसकेको एउटा सपना मात्र छ
जसले मेरा पाखुरालाई टमक्क बाँधेको छ
सपना भनेको नै आशा
आशा नै त हो जीवन
जसले मृतप्रायः घोषणा गरेको छ
मेरो समग्र-सत्व ।
साथीहरू यसबेला कहाँ पुगे होलान्
जो सिगरेटको धुवाँसित उडाउँथे
परिवर्तनका बाफहरू
विप्लवका नयाँ नमुनाहरूको प्रस्तुति
भ्रष्टाचार र दुर्नीतिविरुद्ध अन्यतम प्रस्ताव ।
रातभरि ओछ्यानमा लम्पसार परेको
अर्द्धनग्न वास्तव
अहिले उनीहरूका छातीभित्र पलाएको छैन भ्रुण
किनकि उनीहरू परिधिबाट मुक्त भइसकेका छन् ।
सपना भनेको नै वास्तव
ढुङ्गाजस्तो कठोर
र आकाशजस्तो दुर्लभ ।
मेरा बन्धुहरूले फ्याँकेर गएको यस जन-अरण्यमा
अहिले सुकेका पैतालाहरू अघि सार्दै
खोज्दैछु म स्वाधीनताको संज्ञा
निसङ्ग महासागरको छातीमाथि ।
तर पनि मर्न दिएको छैन
आवेशमा होस् वा आवेगमा
हिँडिरहेका पैताला मुनिको
काँचो माटाको सुगन्ध
नाकभरि ठोक्किएर फैलिन्छ
मेरा सपनाका परेलीहरूमा ।
हात अघि बढाइदे समय
मैले तेरो साथ कहिल्यै छोडेको छैन
ब्युँझिने छन् मृतप्रायः समग्र सपनाका देह
जसले घोषणा गर्नेछन्
हजारौँ सालका प्रस्तावित स्वाधीनता ।