दार्जीलिङ, 7 मार्च : दार्जीलिङ पहाड़का विभिन्न उच्च माध्यमिक र उच्चत्तर माध्यमिक विद्यालयका 271 स्वयंसेवी शिक्षक-शिक्षिकाहरूसितै वर्तमानमा सञ्चालनमा रहेका कुल 12 वटा न्यु सेटअप अप्पर प्राइमेरी स्कुलका कुल 59 जना स्वयंसेवी शिक्षक-शिक्षिकाहरूको नियुक्ति प्रक्रिया राज्य सरकारले भोलि (शुक्रबार)-देखि शुरु गर्ने तय भएको गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिस्ट्रेशन (जीटीए)-को बोर्ड अव् एडमिनिस्टेटर (बीओए)-का अध्यक्ष विनय तामाङले बताएका छन्।
उनले बिहीबार एक प्रेस विज्ञप्ति जारी गरी यसबारे जानकारी गराएका हुन्। तामाङका अनुसार आज उनीलगायत जीटीएको बीओए उपाध्यक्ष अनित थापा र जीटीए शिक्षा विभागका प्रभारी अमरसिंह राईले मुख्यमन्त्री ममता ब्यानर्जीसँग भेटवार्ता गरेका थिए। लगभग एक घण्टासम्म चलेको उक्त भेटवार्ताको क्रममा उक्त निर्णय लिइएको विनय तामाङले बताएका छन्।
“मुख्यमन्त्री ममता ब्यानर्जीले दार्जीलिङ पहाड़का उच्च एवं उच्चत्तर माध्यमिक विद्यालयका 271 स्वयंसेवी शिक्षक/शिक्षिका अनि न्यु सेटअप अप्पर प्राइमेरीका 59 जना स्वयंसेवी शिक्षक/ शिक्षिकाहरूको नियुक्ति प्रक्रिया भोलिदेखि नै शुरु गर्ने आश्वासन दिइन्”, विज्ञप्तिमा विनयले भनेका छन्, “भेटवार्ताकै क्रममा मुख्यमन्त्री ममता ब्यानर्जीले राज्यका शिक्षामन्त्री पार्थ च्याटर्जीलाई फोनवार्तामार्फत् भोलिदेखि नै नियुक्ति प्रक्रिया शुरु गर्ने निर्देश दिइन् भने मन्त्री पार्थ च्याटर्जीले पनि भोलि बिहानदेखि नै उक्त शिक्षकहरूको नियुक्ति प्रक्रिया शुरु गर्ने बताए।”
यही चुनाउअघि नै दार्जीलिङ पहाड़का 14 वटा गैर-मान्यताप्राप्त उच्च विद्यालयहरूलाई मान्यता प्रदान गर्ने प्रक्रिया शुरु गर्ने पनि मुख्यमन्त्रीले मन्त्री पार्थ च्याटर्जीलाई निर्देश दिएको पनि उनले विज्ञप्तिमा बताएका छन्। साथै जीटीएका पे-ब्याण्ड कर्मचारीहरूको थाँतीमा रहेको दुई महीनाको वेतन पनि प्रदान गरिने राज्य सरकारले सहमति दिएको उनको भनाइ छ।
उनले भनेका छन्, “दार्जीलिङ पहाड़लाई अर्को उपहारको रूपमा कालेबुङमा आईटी पार्कको उद्घाटन गरिने भएको छ।”
विज्ञप्तिमा उल्लेख गरेअनुसार आगामी 9 मार्चको दिन उक्त पार्कको उद्घाटन उनीलगायत विधायक अमरसिंह राई, डा. रोहित शर्मा र राज्यसभा सांसद शान्ता छेत्रीको बाहुलीबाट उद्घाटन गरिनेछ।
विज्ञप्तिमा विनयले थप जानकारीअनुसार यसै दिन जीटीएका उपाध्यक्ष अनित थापा जलपाइगढ़ीको सर्किट बेञ्चको उद्घाटन समारोहमा सहभागी बन्नेछन्। उनका अनुसार आजको भेटवार्ताको क्रममा मुख्यमन्त्री ममता ब्यानर्जीसँग दार्जीलिङ पहाड़का विभिन्न समस्यामाथि पनि कुराकानी गरिएको थियो।