दार्जिलिङ, २९ सेप्टेम्बरः बोनस नदिई बन्सल अधीनस्थ ९ वटा चियाकमानका प्रबन्धकहरू हिजो राति सुइँकुच्च ठोकेपछि श्रमिकहरू बिचल्लीमा परेका छन् । दशैँका मुखैमा कम्पनीबाट चियाश्रमिकहरूलाई ठूलो धोका भएको छ ।
पहाडमा बन्सल अधीनस्थ १० वटा चियाकमान छन् ।
जानकारीका अनुसार मुण्डा चियाकमानका प्रबन्धकहरू भाग्न खोजिरहेको थाह पाएपछि भने श्रमिकहरूले उनीहरूलाई रोकेर राखेका छन् । यद्यपि अन्य ९ वटा चियाकमानका प्रबन्धकहरू भने भाग्न सफल भएका छन् ।
बोनस दिनका सट्टा उल्टै प्रबन्धकहरू ताला लागेर सुइँकुच्चा ठोकेपछि यी चियाकमानका श्रमिकहरू मालिकप्रति आक्रोशित बनेका छन् ।
उल्लेखनीय छ, बन्सल अधीनस्थ यी १० चियाकमानका श्रमिकहरूले अघिबाटै वेतन र अन्य सहुलियतका लागि सङ्घर्ष गर्दै आइरहेका छन् ।
आफ्ना श्रमिकहरूलाई समस्यै समस्याको भारी बोकेर पिरोल्ने कार्य गरेका कारण बन्सल अधीनस्थ यी १० वटा चियाकमानको लिज सरकारले रद्द गर्नुपर्ने माग अघिबाटै उठिरहेको छ ।
स्मरणरहोस्, पहाडका अम्बटे, रागेरुङ, सिडर्स, मुण्डा, पान्दम, ह्याप्पीभेल्ली, रङमुक, मन्टिभियट, चुङथुङ र मगरजुङ चियाकमान बन्सल कम्पनीद्वारा सञ्चालित छन् ।