- मोहन ठकुरी
साहित्यमा अलिकति पनि रुचि राख्ने पाठकलाई भविलाल लामिछानेको नाउँ नौलो होइन । उनी एक प्रतिष्ठित कवि हुन् । जब भारतेली नेपाली कविताको प्रसङ्ग आउँछ, उनको नाउँ पनि गणनामा आउँछ, अग्रपङ्क्तिमा आउँछ । नाउँ छुट्टिन गए अनर्थ हुन्छ । साठीको दशकको पूर्वाद्धदेखि नै उनले कवितालाई अँगालेका हुन् ।
स्कुले जीवन र साहित्यिक जीवनमा हरिभक्त कटुवालजस्ता प्रख्यात कविलाई गुरुका रूपमा पाउनु भविलालको निम्ति सौभाग्य मानिन्छ । कवि कटुवालको माया र मार्गदर्शनले उनको जीवनमा एउटा ठूलो, महत्त्वपूर्ण ठाउँ ओगटेर बसेको छ ।
एकपल्ट कवि कटुवाल नेपाल गए, फेरि फर्के असम । पावै बनगाउँको ‘साहित्यिक साँझ’ – मा कटुवाल पनि थिए, भवि पनि । क्राइस्टाब्द १९७३ को मार्च २७ – त्यो दिन । कवि कटुवालले भविलाई आशीर्वाद दिए यसरी –
‘यसबेला ठिक पाँच बज्न लागिरहेछ । पर क्षितिजमा हामीले देख्ने गरी घाम रातो अनुहार लाएर पल्टिरहेको छ, तिमीलाई त्यो देख्ता कस्तो लाग्छ भविलाल?
बैँसमा मलाई यस्तो घाम देख्ता एउटा भकुण्डोको सम्झना हुन्थ्यो, अचेल त्यस्तो लाग्दैन । आज त यस घामले मेरो बितेको उमेर सम्झाइरहेछ । घाम निस्तेज छ यसबेला, म्लान छ । मलाई पनि समयले बेस्सरी चिथोरेको छ तर म म्लान र निस्तेज हुने मन छैन । हार्न मलाई कत्ति मन लाग्दैन भविलाल ।
‘बाँच्नलाई एउटा आशा चाहिन्छ’- त्यो आशा कुनै साहुको पसलबाट पाथीभरि र धार्नीभरि किन्न पाइने कुरा पनि त होइन । यो त आफै छातीमा उमार्नुपर्छ – आँखामा फुलाउनुपर्छ । तिमीलाई पनि म त्यही भन्छु । ती मैले भनेका कुरा तिमीले मान्नैपर्छ भन्ने छैन । विसङ्गति, आक्रोश, कुण्ठा आदिका बिचमा पनि म त सङ्गति, प्रेरणा र रहर खोज्छु । तिमी पनि त्यस्तै केही खोज्दा हौ ।
यसपल्टको भ्रमणमा एउटा उपलब्धि तिमी पनि भयौ । तिम्रा कविता साह्रै मन परे । तिमी लेख, धेरै लेख…..’
–हरिभक्त कटुवाल
१७.३.१९७३
आफ्ना कवि – गुरुबाट यस्तो मनछुने कवितामय आशीर्वाद पाउनुहुने कवि भवि धन्य हुन् ! उनको शिरमा आशिषको यो हात कति महत्त्वपूर्ण र अमूल्य छ – वर्णनातीत छ ।
पछि कवि भविलाल लामिछानेले लेखेका एउटा कविता यस्तो पनि छ – ‘पौरखको नदी’ ।
उता ‘विसङ्गति, आक्रोश, कुण्ठा आदिका बिचमा’ कवि कटुवाल प्रेरणा र रहर खोज्छन्, यता कवि भविलाल ‘भोक, खडेरी अनिकालमा’ पनि ‘पौरखको नदी’ -मा पौडने आँट दिन्छन् ।
पौरखको नदी
बन्धु,
तिमी गर्छौ भोकका कुरा
खडेरीका कुरा
अनिकालका कुरा
#
पर्वतको छातीलाई फोरी गङ्गा बगेकी देखेका छैनौ ?
शिला र चट्टानका पहाडहरू फोरी मूल फुटेको सुनेका छैनौ ?
शायद देखेका छैनौ डढेलो लागेको खरबारीमा / पलाएका हरिया टुसा
सुनेका छैनौ ढुङ्गाका कापहरूमा / मौलाएको दुबोका कुरा ।
#
किन गर्छौ तिमी
भोकका कुरा
खडेरीका कुरा
अनिकालका कुरा ?
आँटको जङ्गलमा बगिरहन्छ पौरखको नदी
प्युँदै जाऊ / अँजुली अँजुली पानी ।
(‘स्वतन्त्र्योत्तर नेपाली कविता’ / नेसनल बुक ट्रस्ट इन्डिया / २००८ / पृष्ठ १०४)
#
कविता धेरै लेखेका छन् उनले । कविता सङ्ग्रह ‘अनागत’ छापियो क्रा. १९८३ मा । आजसम्म सात सङ्ग्रह प्रकाशित छन् कवितामा । एउटा त हिन्दीमा प्रकाशित छ कविता सङ्ग्रह – ‘हाशिए के पल’ (क्रा. १९९८) । गजल सङ्ग्रह छपाएका छन् । असमको तेलनगरी डिगबोइबाट पहाड़को फेदीमा अवस्थित सालबारी बसाइँ सरे उनी र उनका परिवार (क्रा. २०१०) । यहाँ उनको गजल सङ्ग्रह ‘जिन्दगी धेरथोर’ (क्रा. २०१८) प्रकाशित भयो । गजलसित पनि उनको माया बसेको छ तर उनी भन्छन् : “गजल मेरो सोख हो । टुङ्गो होइन ।” आफ्नो गजलमा गजबका कुरा भन्छन् उनी एक ठाउँ :
‘लाली गुराँस बन्नु हो भने भीरभीर फुल्नुपर्छ
झुल्किन्छ घाम एकदिन आकाश खुल्नुपर्छ
कि हरेश खाई हिँड्ने मान्छेले हार्न सक्छ
केही जित्नलाई एकछिन सब हार भुल्नुपर्छ..’
(जिन्दगी धेरथोर / पृष्ठ २५)
बालसाहित्य सम्बन्धित पनि दुई कृति प्रकाशित छन् उनका । ‘बादलपारिको देश’ (कविता) क्रा. २००६ र ‘चराको चिरबिर भुराको किरकिर’ । यसै कृतिमा उनी साहित्य अकादमी दिल्लीबाट बालसाहित्य पुरस्कारले सम्मानित भएका हुन् । असममा रहँदा उनले गरेका सम्पादन कार्य पनि सराहनीय छ । कुनै बेला कृतिका लागि , कुनै बेला दीर्घकालीन नेपाली साहित्य सेवाका लागि उनी पुरस्कृत र सम्मानित भइसकेका सर्जक हुन् ।
क्रा. २००८ मा खडकराज गिरीले सम्पादन गरेका ‘ओझेलमा परेको घाम’ प्रकाशित छ डिगबोइमा । यसमा सर्जक भविलाल लामिछाने र उनका कृतिहरूको लेखाजोखा पाइन्छ । बोधकुमारी स्मृति प्रकाशन, डिगबोइले प्रकाशित गरेको यस सङ्कलनको सम्पादकीयमा एक ठाउँ गिरीले लेखेका छन् : ‘पूर्वाञ्जलमा प्रकाशनको समस्या, बिक्री- वितरणको अस्थायित्व, पढन्ते पाठकको निराशावादी विचारधारा औ जीविकोपार्जनको जगजगी आदिले गर्दा उनको प्रतिभा सम्पूर्णताले अझै विस्तृति पाउन सकेको छैन । उनीमा अदम्य कवित्व भाव छ । अनि बडो दुःखलाग्दो कुरो आजसम्म यस्ता एकजना प्रतिभा सम्पन्न व्यक्तित्वको नेपाली साहित्यमा सही-सही मूल्याङ्कन हुनसकेको छैन ।…’
यो एउटा गम्भीर कुरा छ ।
#
हिजोआज सर्जक भविलाल लामिछाने चर्चामा छन् । उनको नयाँ कथा सङ्ग्रह ‘अर्धासत्य’ चर्चामा छ ।
उनको पहिलो कथा सङ्ग्रह ‘कसका लागि?’ (क्रा. २०००) हामीले देख्न पाएनौँ । ‘अर्धासत्य’ हामीसित छ । कृति लोकार्पणकै साँझ कथाहरूका प्रशंसा सुन्यौँ । कथाहरू पढ्नलाई त्यसै त्यसै लालायित छ मन ।
आदरणीय कथाकार लामिछानेलाई मैले सुटुक्कै दुई प्रश्न सोध्ने अवसर पाएँ ।
–तपाईंले कथालाई रोचकता दिन के गर्न रुचाउनु हुन्छ?
-‘मैले रुचाउँदैमा कथा रोचक नहुन पनि सक्छ । कथाका घटनाक्रमलाई स्वाभाविक रूपमा बग्न दिनुपर्छ । विभिन्न मोडबाट कथालाई घुमाएर अन्त्यमा पुऱ्याउने बेलासम्म पाठकभित्र जिज्ञासा बनिरहोस् – यसको ध्यान म सधैँ राख्ने गर्छु । भाषा-शैलीको सम्प्रेषणीय र कथावस्तुप्रति पाठकको जिज्ञासा बनाइराख्न सके मलाई लाग्छ पाठकले त्यो कथा रुचाउँछ । तर सर्जकका आफ्ना – आफ्ना सिपहरू हुन्छन् । ती कसैलाई मन पर्लान्, कसैलाई नपर्लान् । मैले भनेका कुरा नै सही हो भनेर म कदापि भन्न चाहन्नँ । यथार्थमा कथा रोचक बनाउन खोजेर बन्दैन, त्यो आफै रोचक हुन्छ । तर लेख्ने सिपमाथि त्यो निर्भर गर्छ ।’
उनको उत्तर सुनेर मैले मनमनै खुशी मानेर भनेँ – ‘छ । कथा रोचक बनाउने सिप तपाईंसित छ ।’
अर्को प्रश्न :
-‘अर्धासत्य’ –मा आफूलाई कति स्पष्टाउनु भएको छ ? कति लुकाउनु भएको छ ?’
उनी भन्छन् :
-‘अर्धासत्य’ -का पात्र-पात्रा यथार्थ (सत्य) हुन् – त्यहाँ म उपस्थित छु अनि घटनाक्रममा कल्पनाको जलप छ – त्यहाँ म नेपथ्यमा छु । यथार्थ खरो हुन्छ, त्यसलाई रोचक पार्न कतै ढाँट्ने काम पनि गर्नुपरेको छ – त्यही असत्य हो । ….’
#
आज
‘अर्धासत्य’ पढिसिध्याएको छु ।
आनन्दित छु ।
नौ उम्दा कथाका स्वादले मेरो पाठक रमाइरहेको छ ।
–२९.९.२०२२