- -कालूसिंह रनपहेँली
हिन्दुहरूको महान् चाड हो दसैँ । शरद्का दिनहरूमा वनपाखा काँस फुलेर रमणीय बनेका हुन्छन् भने गाउँघर सयपत्री फुलेर रमाइलो बनिरहेका हुन्छन् । बर्खाले आँसु तुर्क्याएर रुन छाडेको हुन्छ । फुको फाको बनेको हुन्छ मौसम । रातमा आकाशले पनि जूनको दही चामले टिको लगाएर रमाइरहेको भान हुन्छ । दसैँ आइपुग्यो है भन्ने जनाउन आइपुग्छ विश्वकर्मा पूजा । भगवान् विश्वकर्मालाई धेरै भक्तिभावले पूजा गरिन्छ । त्यसपछि आउँछ सोह्र सराद (सोह्र-श्राद्ध) । यसअवधि पितृहरूलाई स्मरण गर्दै तर्पण र पिण्डहरू चढाइन्छन् । दसैँको छेकमा बुढापाकाको ओठैमा झुण्डिरहेको हुन्छ यो वाक्य, ‘सोह्र सराद सोह्र दिन नौरथा नौ दिन।’ दसैँ आयो है भन्ने जान्नलाई गाउँघरतिर मादल गम्कन थाल्छ, सनईको भाका पनि सुनिन लाग्छ । उहिले मसक बजाउनेहरू पनि मसक बजाउँदै गाउँ रमाइलो पार्थे ।
दसैँको रौनक घटस्थापनाबाट शुरू हुन्छ । शरद् शुक्लपक्षको प्रतिपदादेखि आरम्भ भएर यो चाड पूर्णिमासम्म खुबै उत्साहपूर्ण र उत्सवपूर्वक मनाइन्छ । घटस्थापनाको दिन देवी दुर्गाको पूजा गरिन्छ अनि जमारा राखिन्छ । जमारे औँसीको दिन जमारा उमार्न तिल, जौँ, मकै अनि धान माटोको वेदी बनाएर छरिन्छन् । यही जमरा विजयादशमीको दिनसम्ममा रहरलाग्दा कलिला टुसाहरू भइसकेका हुन्छन् अनि टिका लगाइदिइसकेपछि ठुला बडाले आशीर्वादसित शिरमा राखिदिन्छन् अथवा कानमा सिउरिदिन्छन् । दसैँभरि सिंहवाहिनी देवी दुर्गाको भक्ति र आराधना गरिन्छ । नौरथा लागेपछि नै मादलको धिन्ताङसित मालश्री गुञ्जिएर वातावरण दसैँमय र दुर्गामय बनाइन्छ । जताततैबाट हावाले मालश्री गायनका आवाज कानमा थुर्याउन ल्याइपुर्याउँछ-‘जय देवी भैरवी गोरखनाथ, दर्शन देऊ भवानी…।’ दसैँका नौ दिनमा देवी दुर्गाको नौ रूपका पूजा गरिन्छन् । नवरात्रभरि दुर्गामाताको अर्चना र आराधना गरिन्छ । यी नौ दिनमा देवी दुर्गालाई नौ विभिन्न नामले पुकारिन्छन् । प्रथम दिन शैलपुत्रीको नामले पूजा गरिन्छ । दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुश्माण्डा, पाँचौँ दिन स्कन्ध माता, छैटौँ दिन कात्यायिनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको नामले पूजा गरिन्छन् । सातौँ दिनमा फूलपाती मनाइन्छ । यस दिन ठाउँ ठाउँमा फूलपातीका शोभायात्राहरू निकालिन्छन् । यस दिन सांस्कृतिक वेशभूषामा सजिएर बाजागाजा बजाउँदै, नाच्दै, गाउँदै र झाँकीहरू पनि प्रदर्शन गर्दै फूलपाती बोकेर गाउँ, बजार र सहर परिक्रमा गरिन्छ । रेडियोले पनि प्रात:कालीन विशेष अधिवेशनद्वारा महालय र फूलपातीका अवसरमा विशेष कार्यक्रमहरू प्रसारण गर्छन् । आकाशवाणी गान्तोक र आकाशवाणी खरसाङले महिषासुर मर्दिनी अनि महामाया चण्डिके नामक विशेष रूपकहरू प्रात:कालमा प्रसारण गरेर बिहानैदखि यी दिनहरूलाई भक्तिमय र भावमय तुल्याउँछन् । अष्टमी र नवमीमा मार हान्ने प्रथा छ तर पशु बली नै चढाउनुपर्छ भन्ने केही छैन । मानिसहरू फर्सी, कुभिण्डो, इस्कुसहरूलाई प्रतीकात्मक रूपमा मार हानेर पूजा गरेका पनि देखिन्छन् ।
दसैँ नराम्रोमाथि राम्रोको विजयको रूपमा मनाइने पर्व हो । प्राचीनकालमा राक्षसहरूले धेरै सताउँदा भगवानहरूले दुर्गा देवीलाई शक्तिको रूपमा प्रादुर्भाव गरेर राक्षसहरूलाई नष्ट गरेका थिए । मधुकैटव, शुम्भ, निशुम्भ, महिषासुर जस्ता मायावी र छली असुरहरूले अत्याचारको पराकाष्ठा नाघेका थिए । देवताहरूले माता दुर्गाको संरचना गरी आ-आफ्ना शक्तिशाली हतियारहरूले उनलाई सुशोभित गरी असुरहरूलाई संहार गरेको पौराणिक कथा दसैँसित जोडिएको छ । देवताहरूद्वारा असुरहरूमाथि विजय प्राप्त गरिएको विजय पर्वको रूपमा मनाइन्छ यो चाड । दसैँसित अर्को कथा पनि जोडिएको छ । भगवान् पुरुषोत्तम रामले अहङ्कारी रावणलाई वध गरेका दिनको रूपमा पनि विजया दशमी उत्सव मनाइन्छ । माता दुर्गाले असुरहरूमाथि विजय प्राप्त गरेकी थिइन् भने भगवान् रामले दानव रावणलाई वध गरी विजय प्राप्त गरेका थिए । यसरी नराम्रोमाथि राम्रोले प्राप्त गरेका विजयको उत्सव मनाउन दसैँ पर्व मनाइन्छ । विजया दशमीका दिन दही, चामल र अबिरमा मुछिएको अक्षताको टीका ठुला बडाहरूले निधारमा टाँसिदिएर आशिष् दिँदै कानमा जमारा सिउरिदिने चलन छ । टीका लगाइदिइसकेपछि ठुला बडाले दक्षिणा हातमा हालिदिने गर्छन् भने टीका थाप्नेले उनीहरूलाई कोसेली राखी ढोग गरेर सम्मान जनाउँछन् । टीका लगाइदिँदा छोरा वा पुरुषलाई दिइने आशिष यस्तो छ- ‘आयुद्रोणसूते, श्रियो दशरथे, शत्रुक्षयं राघवे, ऐश्वर्य नहुषे, गतिश्च पवने, मानश्च दुर्योधने, दानं सूर्यसूते, बलं हलधरे, सत्यञ्च कुंतीसूते, विज्ञानं विदुरे, भवन्तु भवताम, कीर्तिश्च नारायणे।’ उसै गरी छोरीचेलीलाई टीका लगाइदिएर यसरी आशिष दिइन्छ- ‘जयंती मंगलाकाली, भद्रकाली कपालिनी, दुर्गा क्षमा शिवाधात्री स्वाहा स्वधा नमस्तुते। जय त्वं देवी चामुण्डे जय भूतार्तिहारिणि। जय सर्वगते देवि कालरात्रि नमोस्तुते ।’
दसैँ विजय उत्सवसितै मेल-मिलाप, मैत्री, आत्मीयता र भाइचाराको पर्व पनि हो । दसैँको टीका थाप्न देश विदेशबाट मूलघरमा परिवारजन आउने गर्छन् । दशमीको पहिलो टीका मूलघरमा लगाइने गरिन्छ । पहिलो टीका घरको मूल ढोकामाथि लगाइदिने चलन छ । त्यसपछि परिवारजन टीका थाप्छन् । त्यसपछि टीका लगाउन अरू आफन्तहरूकहाँ जाने गरिन्छ । दशमीदेखि अरू पाँच दिन पूर्णिमासम्म यो टिका लगाउने काम चलिरहन्छ । दसैँ भनेको ठुला बडाको आशिक पाएको पर्व हो । बुजुर्गहरू निधारमा टीका टाँसिदिँदै आशिक दिन्छन् । कतिले आशिक यति लामो दिन्छन् जम्मै निधार टीकाले पुरिसक्दा पनि आशिष् सकिएको हुँदैन । यसबाट यो चाड आत्मीयता र वरपन भित्र्याउनु कति सक्षम छ अनुमान लगाउन सकिन्छ । दसैँले आपसी वैमष्यता र द्वेषहरू पखालेर प्रेम, मैत्री, सद्भाव र परस्पर आत्मीयताको भावना जगृत गराउँदछ । यो पर्वले मन मुटाउ र दुस्मनीलाई पखालेर एकता, प्रेम, मैत्री र भाइचाराको भावना सञ्चार गर्दछ । दसैँले बुढापाका, तन्देरी तरुनी, किशोर किशोरी, केटाकेटीहरू सबैका लागि रमाहट र आनन्द बोकेर ल्याउँछ । मसिना केटाकेटीहरू नयाँ नाना र नयाँ जुत्तामोजा लगाएर सिटी फुक्दै खुशी भएर कुदिहिँड़छन् । दसैँमा आफन्तको घरमा गएर टीका र आशीर्वाद थाप्नु कति आनन्दमय हुन्छ । मामा माइज्यूको घरमा जानुको खुशी पनि अर्कै हुन्छ । यो पर्व शरद्को रमाइलो मौसममा परेको हुन्छ । न गरम, न ठण्डा, न त बर्खाको झरी न हिउँदको चिसेनी । रमाइलो मौसम छाएको हुन्छ । खेतीकिसानबाट पनि फुर्सद मिलेको हुन्छ । बारीमा धान पोटिला बनिसकेका हुन्छन् । मङ्सिरमा काट्नुपर्ने धानले बारीलाई शोभायमान बनाइरहेको हुन्छ । बारीको कान्ला र घर-आँगनमा सयपत्री, गदावरी, मखमली र चितुचाँगेहरू फुलेर सौन्दर्य थपिरहेका हुन्छन् ।
यो चाडले स्वच्छताको शङ्खघोष पनि गर्दै आउँछ । दसैँ तिहारमा गाउँघर बाटाघाटाहरू सफा गरिन्छन् अनि घरहरूमा पनि रङ पचेराका नाना लगाएर खुशी बनिरहेका भान पर्छन् । सुस्वास्थ्यको गूढ़ रहस्य स्वच्छता हो । यसतिर अग्रसर गराउने यो चाड सुस्वास्थ्यमयको सन्देश पनि बोकेर आइपुग्छ ।
दसैँले हाम्रो बहुमूल्य सांस्कृतिक मूल्यहरूलाई पनि बोकिरहेको हुन्छ । यो चाडमा हामीले हाम्रा समृद्ध संस्कृति र परम्पराहरूलाई आत्मसात गरिरहेका हुन्छौँ । सांस्कृतिक वेशभूषा पहिरिएर, आफ्ना सांस्कृतिक बाजा गाजाहरू बजाएर अनि सांस्कृतिक नाच र कार्यक्रमहरू आयोजना गरेर संस्कृतिलाई बचाउने र संरक्षण गर्ने कार्यतिर पनि हामी लागिरहेका हुन्छौँ । दसैँका समय मेलाहरू पनि लाग्ने गर्छन् । मानिसहरू मेलामा भेला भएर रमाइलो गरिरहेका हुन्छन् । रोटेपिङ र लिङेपिङहरूले मेलाको रौनक अझै बढाइरहेका हुन्छन् । गाउँ गाउँमा र घर घरमा पनि लिङेपिङहरू बनाएर केटाकेटीहरू झुत्तिरहेका हामी पाउँछौँ । दसैँमा दुर्गा माताको पूजा गर्न ठुला ठुला पण्डालहरू बनाएर माताको मूर्ति स्थापना गरी पूजा गरिने पनि चलन छ । यस्ता पण्डालहरू घुम्न भक्तहरूका भीड़ जमिरहेको हुन्छ । दशमीपछि देवीको मूर्ति खोला नदीतिर विसर्जन गरिन्छन् । दसैँले आनन्दमय रौनक लिएर आउँछ । दसैँ आउँछ हामीलाई खुशी र आनन्द दिन अनि प्रेम, मैत्री र भाइचारा बढाउन । दसैँमा मिठा खानेकुरासितै अझै मिठो भइरहेको हुन्छ आपसी प्रेम, मैत्री, भातृत्व र सद्भावना ।
दसैँलाई नराम्रोमाथि राम्रोको विजयको प्रतीकको रूपमा मनाइन्छ। दसैँ रमाहट र हर्षको पर्व हो । तर अविवेकीपनको फाहा घस्ने काम गरेर यसलाई दशामा परिणत भने गर्नु हुँदैन । दसैँ भन्दैमा मदमदिराको सेवन गरी लडाइँ झगडा र जुवा तासले धन सम्पति नष्ट गर्ने काम गर्नु अवश्यै बुद्धिमत्ता होइन। यो चाडमा ऋण पान गरेर भए पनि मिठो-मसिनो खाने र राम्रो लाउने गरिन्छ तर आडम्बरका लागि ऋण काड़ेर दसैँ बितेपछि गालामा हात राख्नुपर्ने स्थिति नआओस् भन्नखातिर अग्रसोची बनेर अनाश्यक खर्चहरूबाट जोगिनु बुद्धिमत्ता ठहर्दछ । पुर्खाले भन्थे-‘जति सिरक छ त्यति नै खुट्टा पसार्नु पर्दछ ।’ यसकारण मितव्ययिता, बचतमा ध्यान दिएर नचाहिँदो आडम्बर भने नदेखाएकै उत्तम हुनेलाग्छ।
अन्तमा दसैँ एकताको पनि बलियो प्रतीक हो । यसले मान्छे मान्छेलाई जोड्छ आपसी प्रेम र मैत्रीभावले । यसले परिवार परिवारलाई जोड्दछ, समाजलाई जोड्दछ अनि राष्ट्रलाई जोड्दछ । विश्वकै दसैँ मान्नेहरूलाई यसले जोडिरहेको हुन्छ । अरू धर्मावलम्बीहरूलाई पनि दसैँमा बोलाएर भोज खाइरहेका र खुवाइरहका हामी पाउँछौँ । दसैँ सांस्कृतिक एकताको बलियो अँगालो हो । समुचितमा दसैँ एकता, प्रेम र मैत्रीभावले हातेमालो गरिरहेको चाड हो ।