सिलगढी, ५ अक्टोबर : प्रख्यात जनसेवी होमियो चिकित्सक होम बहादुर छेत्री अब हामीमाझ सशरीर रहेनन् । उनको मङ्गलबार मध्यराति करिब १ बजे मेथीबारी सालबारीस्थित निजी वासस्थानमा निधन भएको हो ।
डा. छेत्री ९३ वर्ष पुगेका थिए । उनको जन्म १९२९ मई १९ का दिन दार्जिलिङमा भएको थियो ।
होमियो चिकित्सामार्फत जनसेवा कार्यमा आफ्नो जीवन नै खिप्ती गरेका यी प्रख्यात डाक्टर केही दिनयता सामान्य बिरामी थिए ।
डा. छेत्रीकी कान्छी भान्जी विष्णु कुमारी खड्काले जानकारी गराएअनुसार केही दिनअघि मतिगढाको एक नर्सिङ होममा उपचारका लागि भर्ती भएका उनी १ अक्टोबरका दिन स्वास्थ्यलाभ गरी घर फर्केका थिए । तर, हिजो अचानक उनको निधन भयो ।
होमियो चिकित्सामा स्वर्ण पदक प्राप्त गरेका छेत्रीले ‘अरूका सेवा’-मै जीवन बिताए । उनले आफ्नो जीवनका महत्त्वपूर्ण ५४ वर्ष होमियो चिकित्सामार्फत जनसेवामा खर्चिए । यद्यपि ‘प्रचार, प्रसार र प्रशंसा’-बाट सधैँ आफूलाई टाढा राखे । पैसाको लोभ – लालचदेखि कोशौँ टाढा बसे ।
‘मेरो जीवनको उद्देश्य भनेको अरूलाई सेवा पुऱ्याउनु हो’, डा. छेत्री भन्थे, ‘प्रचार-प्रसार र प्रशंसा पाउनु होइन ।’
जनसेवामा सधैँ सक्रिय डा. होमबहादुर छेत्री एक समय नर्थ-इस्टर्न लाइन्सका डेपुटी गवर्नरसम्म बनेका थिए भने मृत्युपर्यन्त उनी धिरधाम मन्दिर दार्जिलिङका अध्यक्ष पदमा थिए ।
भोलि अर्थात बिहीबारका दिन १० बजे सालबारीमा उनको अन्तिम संस्कार गरिनेछ ।
उल्लेखनीय कुरा के छ भने होमियो चिकित्सामा प्रख्यात डा. होमबहादुर छेत्री लेखक/अनुवाद पनि थिए । आपत्कालको समयमा परिचय नामक पुस्तक पनि छपाए । बाइबलका पुराना र नयाँ अध्याय अनुवाद गर्न भ्याएका थिए ।