दार्जिलिङ, १५ अक्टोबर : दार्जिलिङ नगरपालिका चुनाउ जितेको हाम्रो पार्टीले कालेबुङ खरसाङ र मिरिक नगरपालिका चुनाउको तयारी शुरू गरेको छ ।
यी तीन नगरपालिका चुनाउका लागि अजय एड्वर्ड्स नेतृत्व हाम्रो पार्टीले रुबेन दास प्रधानलाई इलेक्सन चिफ कोअर्डिनेटर बनाएको छ ।
रुबेन दास प्रधान तिनै व्यक्ति हुन्, जसको कोअर्डिनेसनमा हाम्रो पार्टीले दार्जिलिङ नगरपालिका जित्न सफल बनेको थियो ।
यसैले आज अजय एड्वर्ड्सले कालेबुङ, मिरिक र खरसाङ नगरपालिकाका लागि पनि यो दायित्व प्रधानलाई दिए ।
उल्लेखनीय छ, कालेबुङ, मिरिक र खरसाङ नगरपालिकाको म्याद केही समय अघि नै सकिसकेको हो । यद्यपि चुनाउ भने भएको छैन । राज्य सरकारले यी तीन नगरपालिकाका अध्यक्षलाई प्रशासक बनाएर कार्य सञ्चालन गर्दै आएको छ ।
अब यी तीन नगरपालिकामा चाँडै चुनाउ हुने सम्भावना छ । यसै कुरालाई ध्यानमा राखेर हाम्रो पार्टीले चुनावी तयारी शुरू गरेको हो ।