मैले के लेख्ने ?

0
1216

-डा. ताना शर्मा

निकै दिन भइसक्यो शरद भाइ मलाई एउटा लेख मागेका मागेकै हुनुहुन्छ । मैले टार्दै आएको छु; कहिले अचेल मलाई लेख्न मन लाग्दैन, कहिले म विषय नै पाउँदिन त कहिले चाहिँ लेखेरै पनि केही उपलब्धि छैन र यस समाजमा हुँदैन पनि भनेर । लेखेर के के न गर्न सकिन्छ भन्ने थियो ( र छँदै छ पनि !), तर यस समाजमा लेख्ने मान्छेको कुनै इज्जत छैन, र भने पनि हुन्छ कुनै अस्तित्व छैन । लेख्न छाडे र ढोका कुर्नु पर्थ्यो, कुरिएन । लेख्न छाडेर लात र हात बजार्नु पऱ्यो, बार्सिलोना त जान पाइन्थ्यो । हेर्नुहोस् न, लेख्न छाडेर अड्डातिर नोकरी गर्नुपऱ्यो, गरिएन ।

हो, शरद भाइ, मेची र महाकालीको कृत्रिम पर्खाललाई फड्केर मेरो मन छताछुल्ल फुक्का बगेको छ र जताततैबाट मलाई स्नेहको, सम्झनाको र सम्मानको ओइरो लागेको छ । हो मलाई एक प्रकारको आत्मतृप्तिले, आत्मसन्तोषले र आत्मविस्मृतिले लठ्याएको पनि छ, तर भाइ, मेरो पनि भौतिक शरीर छ र परिवार पनि छ अनि परिवारको पेट प्रशंसाले नभरिदो रहेछ, पुत्रहरूको पढाइलाई पैसा नभई नहुँदो रहेछ र म पारिश्रमिक पारिश्रमिक भनेर काकाकुलले जस्तो चिच्याउन बाध्य हुँदो रहेछु । पाठ्यपुस्तक लेखेर पनि म पारिश्रमिक नपाएर पाखामा पाहा भएर पञ्चायत कालदेखि नै पल्टिरहेको छु र प्रजातन्त्रका प्रहरीहरूले पनि पिर नबुझिदिएपछि यो पापी पेट पसार्दै म कहाँ जाऊँ ? मैले नलेखेको होइन । आत्मप्रशंसा गऱ्यो नभन्दिनुहोला भाइ । मेरा छापिएका मात्रै फुटकर लेख एक हजारभन्दा बढी छन्, पुस्तक पनि चालिस पुग्न लागे, तर पारिश्रमिक खोई ? मैले दिनरात नभनी, झरी बादल नभनी, भोक निद्रा नभनी लगातार टाउको पगालेर तयार पारेको ९ र १० कक्षाका नेपाली पाठ्यपुस्तक हेर्नुभएकै होला । मेरा सहपाठी राजनारायण प्रधानले ती पुस्तक हेरेर ६-१० वर्ष अगावै ‘नयाँ शैलीले पाठ्यपुस्तक लेखेको’ भनेर प्रशंसा गर्नु भएको थियो र ‘अनुकरणीय’ भनेर मलाई धाप मार्नुभएको थियो । आँखाभरि आँसु आउँछ मेरो र नमस्कार गर्छु म मेरा प्रशंसकहरूलाई, प्रेरणादायी व्यक्तिहरूलाई र फेरि लेख्न बस्छु । तर भाइ, मलाई उही पीडा, उही आतेस र उही विडम्बनाले छातीभरि उकुसमुकुस फैलिन्छ, मुटुभरिभरि उखरमाउलो चल्छ र गिदीभरिभरि तिरिमिरि झ्याईको झङ्कार झन्झनाँउछ । अड्डा छान्नेले विशाल भवन बनायो, उसकी पत्नीले हिराको हार लाउँछे र उसको छोरो क्याम्ब्रिजमा पढ्छ र छोरी हैदराबादमा व्यवस्थापनमा स्नातकोत्तर गर्दैछे । ऊ चिल्लोचाप्लो गाडीमा चढ्छ र मलाई स्कच खुवाउँछ । उसले स्टार टीभी चक्र धुरीमा सजाएको छ । मग्मगाँउदो हातले ढोका उघार्छ र भव्य बैठकमा स्वाम्मस्वाम्म गलैचामा टेक्दै हातमा रिमोट कन्ट्रोल थिचेर रङ्गीबिरङ्गी टीभीका कार्यक्रमहरू देखाउँछ, ‘स्टार टीभी भएपछि नेपाल टीभी को हेरिरहोस, होइन त डाक्टर साप?

मलाई उसले चड्याम्म गालामा हिर्काएको अनुभूति हुन्छ । म के को डाक्टर साप ? कहाँबाट म पीएचडी पढ्न पुगेछु । जुन पीएचडीको मूल्य एक मुठी चामल, एक कचौरा दाल र एक चिम्टी नुनभन्दा कम छ, जुन डाक्टर साप मामुली भन्सारको खर्दार जति ठाँटिएर हिँड्न र बोल्न सक्तैन र जुन लेखक चालिस पुस्तक लेखेर पनि राति खाली पेट पानी पिएर सुत्छ त्यो केको डाक्टर साप?

एउटा नवयुवक हात जोड्दै आयो । तपाईंमाथि अन्याय भयो, समयले फटाई गऱ्यो, व्यवस्थाले चिनेन, प्रजातन्त्रले आँखा खोलेन भन्दै त्यसले फुर्कायो । म अन्तर्वार्ता दिन्छु र रिट्ठो नबिराई तपाईंको जीवनी लेखेर पत्रिकामा छपाउँछु भन्दै त्यसले बेलीविस्तार गऱ्यो । भरे ‘तारानाथ त पैसामा बिक्ने भाट हो’ भनेर त्यो युवक दसतिर प्रचार गर्दै हिँड्न थाल्यो, तारानाथले जनतालाई त्याग्यो, तारानाथ जनताबाट टाढा सम्पन्नताको सर्वोच्च शिखरमा जुँगामा ताउ लाउँदै पैसा गन्दैछ’ भनेर त्यो नारा लाउन थाल्यो । उसको कलिलो अनुहार, उसका चिप्ला चाकरीका वाक्य र उसको झुकेर नमस्कार गर्ने बानीले गर्दा धेरैले उसलाई पत्याए, पत्याउन करै लाग्यो ।

हो, शरद भाइ, पञ्चायतमा यस्तै पारालाई पत्याइन्थ्यो र प्रजातन्त्रमा पनि पटके पातकीहरूलाई नै पत्याइँदो रहेछ तर, म भने दस वर्षसम्म आफ्नो पुस्तकको पारिश्रमिक फल्ला कि भनेर चकोरले चन्द्रमालाई पर्खे जस्तै पर्खेको पर्खेकै छु । दस वर्ष बितेपछि दस लाखभन्दा बढी प्रति बिक्री सकेर जनक शिक्षा नामक प्रकाशन मालामाल भयो, लाखौँ बालकबालिका मेरै पुस्तक पढेर जीवनका विभिन्न क्षेत्रमा सफलतासाथ पसिसके र मैले परिमार्जन गरेर परिश्रम गरेको संस्करण पनि प्रशंसित भइसक्यो, तर मैले पारिश्रमिक अझै पाएको छैन । मेरो घरछेउमा कराँसो छ र त्यसमा बिहान झार उखेल्न दुई घण्टा आउने मान्छे मसित पचहत्तर रुपियाँ लान्छ । मलाई बाकसभित्र गुम्सिएका पुस्तक र पत्रिकाहरू राख्ने दराज चाहिन्छ र त्यो सानो दराज बनाउने सिकर्मी मसित पाँच हजार रुपियाँ लान्छ । मलाई लेख्न कागज चाहिन्छ, कलम चाहिन्छ र मसी चाहिन्छ, तर तिनलाई पनि पैसा नै चाहियो भनेर पसले भन्छ, पत्रिका होस् वा पुस्तक होस, साराका साराले पैसा माग्छन् । पैसाले पालिएको यस दुनियाँमा तारानाथले चाहिँ पैसाका लागि पसरा पर्न जानेन भाइ, पटक्कै जानेन । तर एक्लो बृहस्पति झुटो हुँदो रहेछ र पैसा, पद र प्रचारको यस प्रजातन्त्रमा पाजी, पाङ्दुरे र पलाप्पिएका पापीहरूका कुरा पत्याइँदो रहेछ ।

यसरी भाइ, मैले साँच्चै नै लेखन छाडेर ढोका कुर्नु पर्थ्यो, पद र पैसा त गुटमुटाउन त पाइन्थ्यो, कुरिएन । यसरी लेखन छाडेर अड्डातिर नोकरी गर्नुपर्थ्यो, आफ्नै गाडीमा गम्म फुल्दै चढ्न त पाइन्थ्यो, गरिएन । यसरी लेख्न छाडेर हावापानी अनुसारको लुगा फेर्न जान्नुपर्थ्यो, राजनीतिमा दाउपेच गर्नु पर्थ्यो मन्त्री त भइन्थ्यो, जानिएन, गरिएन । तर यति भएर पनि तपाईं चाहिँ मलाई लेख्न नै अनुरोध गर्नु हुन्छ ।

शरद भाइ, म विद्यार्थी छँदाको कुरो हो । परीक्षामा मै प्रथम हुन्थेँ । तर्कसभामा मै सर्वश्रेष्ठ ठहरिन्थेँ । मेरै लेख बढी चर्चित हुन्थे । बाटामा बुढा शिक्षक भेटिन्थे, ‘तिमीले साह्रै राम्रो लेख्यौ नानी !’ चोकमा बूढी शिक्षिका भन्थिन्, ‘नानी त कस्तो राम्रो लेख्दो रहेछ हौ ! स्याबास !’ साथीहरू प्रेमपत्र लेखिमाग्न त छाड् र म छाड् गर्थे । बुज्रुकहरू म छात्र सङ्घमा कुदेको देखेर लख काढ्थे, ‘पक्का पनि यो ठूलो मान्छे हुन्छ, यसले समाजलाई हाँक्छ, हेरौला यो केही भएर छाड्छ !’

यी भए हिजोका कुरा । यी भए झुटा भविष्यवाणी । यो भए छेपाराका कथा । कक्षामा पाँचचोटि अनुत्तीर्ण हुनेहरू आज सचिव भएका छन् । प्रेमपत्र लेख्न नजान्ने प्रेमीहरू आज न्यायाधीश भएका छन् । छात्र सङ्घमा एक दिन देखा नपर्ने डुकुलठ्ठकहरू आज संसदमा विद्यार्थीका हक र हितमा भाषण छाँट्ने नेता भएका छन् । होनहार, प्रतिभावान् र कर्मठ भनाउँदो मचाहिँ यी सब विडम्बना हेर्दैछु र सरस्वती नगरमा ट्वाल्ल पर्दै झिँगा मार्दैछु । छक्क पर्छु बाह्र वर्ष रामायण पढेर पनि सीता कसकी जोई भन्ने प्रश्नको उत्तर दिन नसक्नेले राष्ट्र र परराष्ट्रका सम्मेलनहरूमा के बोल्दो हो, कसरी बोल्दो हो ? भविष्यमा पत्नी हुने किशोरीलाई आफ्ना मनका कुरा भन्न नसक्ने उठे सगरसम्म र बसे गजधुम्म धमधुर्सले मुद्दाका केस्रा केस्रा कसरी केलाउँदो हो, मानवसम्बन्धका तहहरू कसरी छिचोल्दो हो, के गर्दो हो ? पुस्तकहरू किनेर बर्सेनि पुस्तकहरू पुस्तकालय सजाउन छोडेर सो रकम कुम्ल्याउने प्रधानशिक्षकसित आफ्ना माग माग्न जाने टोलीमा आउन अनुरोध गर्दा नजाने गाउँको बाटो नसोध्नु भन्दै लुसुक्क भागेर पोल लगाउने महाशय आज संसदमा कुन मुखले, कुन आँटले र कुन इमानले कुर्लँदो हो, कसरी भाषण छाँट्दो हो?

म हिजोलाई आज पार्न पनि जान्दिनँ, सक्तिनँ । म ढाँट्न पनि जान्दिनँ, सक्दिनँ । अनि म हिजोलाई बिर्सन पनि जान्दिनँ, सक्तिनँ । भाइ, इतिहास भन्ने कुरो बाङ्गिए पनि टिङ्गिए पनि नाङ्गिने कुरो हो । इतिहासप्रति सचेत व्यक्तिले साँचो बोल्नुपर्छ, हृदय खोल्नुपर्छ । मान्छेले जीवनका क्रममा बाटो बिराउन सक्छ, सोझो मूल सडक त्यागेर गोरेटो समाउन सक्छ अथवा थाकेर विश्राम समेत लिन सक्छ । तर इमानलाई त्यसैले त्याग्न सक्छ, जसले इतिहासलाई तीन कौडी पनि गनेको हुँदैन अथवा इतिहासलाई चिनेको हुँदैन ।

यस मुलुकमा धेरैजसो मन्त्री भए, प्रधानमन्त्री भए । यस देशमा धेरैजना सचिव भए, मुख्य सचिव भए । यस राष्ट्रमा धेरैजसो नेता भए, प्रमुख नेता भए  तर, कालले हाब्रो बाएपछि अनन्त अँध्यारोमा खसेर गए, बिलाएर गए।

एकजना मामुली युवक, खोरण्डो र होचो मान्छे, दीन र पीडित लेखक जीवन आचार्यलाई सम्झनोस् त भाइ । उनले छाडेर गएका शब्दका फिलुङ्गाहरू कहिल्यै मर्लान् ? पञ्चायतकालमा मन्त्री, सचिव र नेताहरूलाई हाँक दिँदै उनी आफ्ना कविताको झर्झराउँदो अगुल्टो उझ्याउँदै न्याय, स्वतन्त्रता र मानवताको स्थापनाका लागि कुर्लेका थिए ।

हो, शरद भाइ, लेख्नु मामुली कुरा होइन । लेखक देवकोटा झैँ, भूपि शेरचन झैँ र जीवन आचार्य झैँ अमर हुन्छ र दुई दिनको रामछायाँमा रमाउनेहरू त ताक पर्दाका तिवारी भएका मात्र हुन्, भोलि त ती गोतामे नै भएर  मर्छन् र बिर्सिइन्छन् ।

तर भाइ, त्यति भएर पनि मान्छे भएर जन्मेपछि दुई छाक मिठो खान एकसरो राम्रो लाउन र सभ्य, शिष्ट र सुखी जीवन बिताउन भने लेखकलाई पनि इच्छा हुँदो रहेछ । तर लेखकलाई यस राष्ट्रले जोगी ठान्यो, भिक्षु ठान्यो र माग्ने मात्र ठान्यो । सरकारले होस् वा सम्पन्न व्यक्तिहरूले होस् पुरस्कारमा भिख थाप्न बाध्य तुल्याएर लेखकको हुर्मत काढेका छन् । जीवनभरि जालझेल, फरेब, भ्रष्टाचार र घूसबाट थुपारेको पैसा पचाउन आफूले खाइसकेको र चुसिसकेको हाड कुकुरलाई फालेजस्तो पाँच हजार, दस हजार, पच्चिस हजार र पचास हजारका भिख लेखकलाई फालेर ती नाम कमायौँ वा पाप पखाल्यो भनेर मक्ख छन् । हेर्नोस् न भाइ, बार्सिलोना ओलम्पिकबाट त के कुरा कुनै अन्तर्राष्ट्रिय खेलबाट पदक ल्याउनेले पनि लाखौँ लाख स्याबासीस्वरूप रुपियाँ पाउँछ । यस मुलुकले नै मुड्की हानाहान र लात बजाराबजार सम्मकाहरूका त्यत्रो सम्मान गर्छ, तर लेख्नेको भने कुनै कदर छैन । पचास हजारले आजको महँगीमा के किन सकिन्छ ? के जीवनभरि लेखेर गरेका मानवसेवाको मूल्य पचास हजार रुपियाँको मासु चुसिसकेको हाडै मात्र हो त ? के भकुण्डो खेल्ने, मुड्की चलाउने र कुद्ने खेलाडी जत्तिको स्तर पनि लेखकको छैन त?

जुन देशले लेखकको सम्मान गर्न जान्दैन, त्यसको कुनै भविष्य छैन । जुन देशमा लेखकहरू गलैँचा बुन्ने कामदार जत्तिको जीवन पनि बिताउन सक्तैनन्, त्यसको कुनै स्तर छैन । जुन देशले मासु चुसिसकेका हाड कुकुरलाई फाले झैँ लेखकहरूसित व्यवहार गर्छ, त्यसले सभ्यता, संस्कृति र सम्पन्नताको फुई नगरे हुन्छ । प्रजातन्त्र आएकामा सबै प्रसन्न छन्, डाँडाकाँडा र पाखापखेरा  प्रसन्न छन्, नदीनाला, चुचुराशिखर र वनमैदान प्रसन्न छन्, तर प्रजातान्त्रिक आचरण खोई ? पदप्राप्तिको उही होड, पद पाएपछि उही मदान्धता र फोस्रो घमण्ड अनि उही चाकरी, चाप्लुसी र झोसपोलको मुसे दौड देखेर म स्तब्ध छु भाइ । न्याय माग्न, अन्यायबारे गुनासो गर्न र परिश्रमको ज्याला माग्न पञ्चायत कालमा पदाधिकारीहरूलाई भेट्न जति गाह्रो थियो, आज प्रजातन्त्रको प्रादुर्भाव भएपछि पनि उत्तिकै गाह्रो छ । जनप्रतिनिधिहरूले एक्कासी राणाकालका भाइभारदारलाई बिर्साउने आचारण गर्न थालेको देख्ता प्रजातन्त्र बाँदरका हातमा नरिवल त भइदिदैन भन्ने डर लाग्नु मजस्ता लेखनजीवीका लागि स्वाभाविक हो । त्यसैले शरद भाइ, म फेरि पनि भन्छु मैले के लेख्ने ?

२०४९-४-२९

सरस्वती नगर, चाबेल, काठमाण्डौ

(नोट : यो लेख काठमाडौँनिवासी साहित्यकार शरद प्रधानबाट प्राप्त भएको हो।)

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here