- -भविलाल लामिछाने
भारतवर्षको उत्तर पूर्वांचलका राज्यहरूमध्ये असम एउटा राज्य हो, जो जनसाङ्खिकीको दृष्टिले अत्यन्त महत्त्वपूर्ण मानिन्छ । यो राज्य उर्वर हुनुका सँगसँगै प्राकृतिक सम्पदाले परिपूर्ण छ । चियापत्ती, दुग्ध-व्यवसाय, पेट्रोलियम, कोइलासँगै विभिन्न प्रकारका वन-सम्पदाले भरिभराउ यो राज्यले छिमेकी राज्यका मानिसहरूको दृष्टि आकर्षित गर्नु स्वाभाविक थियो । त्यसैले भारतका विभिन्न राज्यका मानिसहरूका बाटा त्यता सोझिए । प्रारम्भिक अवस्थामा रैथानेहरूको जनसङ्ख्या पातलो छँदा बाहिरबाट मानिसहरूको आगमन कसैका आँखामा बिझाएन । बाहिरी राज्यका मानिसहरूको त्यस अञ्चलमा बसोबास हुन थालेपछि उनीहरूको परिश्रमले असमलाई विकासको बाटोमा डोऱ्याउन थाल्यो । त्यहाँसम्म त ठिकै थियो, तर कुनै समयको पूर्व पाकिस्तान र त्यसपछिको बङ्ग्लादेशबाट मानिसहरूको अनुप्रवेशले असमको जनसङ्ख्यामा डरलाग्दो वृद्धि परिलक्षित हुनथाल्यो। रैथानेहरूको जनसङ्ख्या-वृद्धि र बहिराबाट आएकाहरूको जनसङ्ख्या वृद्धिमाझ असन्तोषको आगो भित्र-भित्रै सल्किरहेको बेला ‘नीलाचल’, ‘अग्रदूत’, ‘प्रतिदिन’, ‘दैनिक जनमभूमि’ असमिया साप्ताहिक खबरकागतले आगोमा घिउ खनाउने काम गरे । यी पत्रिकाहरू असमिया मानिसको आवाज बने ।
साप्ताहिक ‘नीलाचल’-मा धारावाहिक रूपमा प्रकाशित भएको असमिया भाषाका प्रख्यात लेखक होमेन बरगोहाइँको लेखले असमलाई जगाउने काम त गऱ्यो तर दुर्भाग्यको कुरो के भने त्यस पत्रिकाले पनि सदियौँदेखि असममा भूमिपुत्रहरूसँग नङ-मासुसरि मिलेर बसिआएका नेपालीलाई पनि ‘विदेशी’ र ‘बहिरागत’ जस्ता शब्दले आरोपित पाऱ्यो ।
वास्तवमा असममा चियाखेतीको आरम्भ र कोइला उत्पादनको काम आरम्भ भएदेखि नै सन् १८२० को छेउछाउबाट नै असममा नेपालीहरू बसोबास गरेको कुरा उल्लेख गर्न सकिन्छ । पूर्व असमस्थित लिडु कोइलाखानी, चियाबगान र तेलखानीमा काम गर्ने नेपालीबाहेक पनि असमको जलवायुमा भिजी ब्रह्मपुत्रको छेउछाउमा छपडी बनाएर खेती गर्ने र दुग्ध-व्यवसायले असममा दुधको नदी बगाउने मानिसहरू नेपाली नै थिए । रैथानेहरू आफ्नै खेतबारीमा थोरै आवश्यकताका साथ रमिरहेकाले अन्य पक्षतिर उनीहरूको ध्यान थिएन । रैथाने असमिया मानिसहरूसँग सबैभन्दा बढी मिलेर बस्ने नेपाली नै थिए अनि त्यसपछि चियाखेतीका लागि ओडिसा, मध्यप्रदेशतिरबाट लगेका आदिवासी सम्प्रदायका मानिस, तर पूर्व पाकिस्तान विशेषगरी मैमनसिंहतिरबाट असममा अनाधिकार प्रवेश गरिरहने पाकिस्तानीहरूबाट असमको जनसङ्ख्यावृद्धिका साथै असमको आर्थिक स्थितिमाथि प्रतिकूल प्रभाव पारिरहेको थियो । यहाँसम्म कि ब्रह्मपुत्रको दक्षिण तीरमा नेपालीहरूले गाई-भैँसी पालन गर्न व्यवहार गरेको चर वनाञ्चलमा पूर्वी पाकिस्तानबाट आएर अनाधिकार प्रवेश गरी बस्न खोज्दा नेपालीहरूले नै उनीहरूलाई धपाएका थिए । रैथाने भनिनेहरूलाई केही तातो लागेको थिएन । त्यसैमाथि पूर्व पाकिस्तान बङ्ग्लादेश हुँदा सन् १९७१ मा त्यहाँबाट ३४७,५५५ शरणार्थी विस्थापित भएर असम पसेका थिए । त्यतिखेरसम्म पूर्व पाकिस्तान अनि पछिको बङ्ग्लादेशबाट मिलाएर जम्मा १९,०३,०१० मानिसको अनुप्रवेश भएको थियो ।
नेपालीहरू असमका लागि असमिया भाषा-संस्कृति अँगालेर असमको विकास गरिरहेका थिए भने बङ्ग्लादेशीहरूको अनुप्रवेशले गर्दा असमको आर्थिक अनि राजनीतिक रूपमा सङ्कटको स्थिति उत्पन्न भएको थियो अनि पहिचानको प्रश्न पनि थियो, तर मानिसको स्वाभाविक प्रवृत्ति के छ भने आफू सधैँ अरूभन्दा माथि नै रहन चाहन्छ । जबसम्म नेपालीहरूको स्तरमा सुधार आएको थिएन तबसम्म चुप थिए । भाइचारा थियो । नङ-मासुजसरी नै मिलेर बसेका थिए । नेपालीहरू खेती र दुध-व्यवसायमा लागेर आफूलाई सामाजिक, आर्थिक अनि विशेष गरी राजनीतिमा पनि ओर्लिन थालेपछि असमिया मानिसहरूमा ईर्ष्याको सर्प कुण्डली मारेर बस्यो । नौकरी र अन्य सरकारी सुबिस्ताहरू खोसिएको देख्न थाले । स्वाधीनतापछि नेपालीहरू बाहिरबाटै आएका हुन् भन्ने धारणाले उनीहरूलाई घेर्न थाल्यो, तर उनीहरूले यो जान्नतिर सरोकार राखेनन् कि नेपालीहरू उन्नाइसौँ शताब्दीको आरम्भमै असम पुगिसकेका थिए । उनीहरूका आँखाअघि नेपाल झलझल्ती झल्किन थाल्यो ।
यो कुरो साँचो हो, भारत-नेपालमाझको सन् १९५०-को सन्धिअन्तर्गत नेपालका नेपालीले पनि भारतमा राजनीतिक अधिकारबाहेक अरू सबै अधिकार पाउँछन्, तर ती सामान्य सङ्ख्यामा थिए अनि स्थायी रूपले बस्नेवाला पनि थिएनन्, तर मौकाको आड लिएर रैथाने कहलाइनेहरूले असममा युगौँदेखि बसोबास गरी त्यहीँको माटोमा भिजेका नेपालीहरूलाई पनि उनीहरूसँगै मुछ्न थालेपछि परस्परमा शङ्काको आगो बल्न थाल्यो । नेपालीहरू विरक्त भएर सोच्न बाध्य भए कि जतिसुकै जे गरे पनि उनीहरूलाई असमिया मानिँदैन । चुनाउ-पञ्जिकामा त्यतिखेरसम्म आफ्नो मातृभाषा असमिया लेखाउने गरेका थिए । एकप्रकारले भनौँ भने उनीहरू घरमा बोल्दा पनि असमिया बोल्थे । असमिया संस्कृतिलाई अँगाल्न थालेका थिए । पहिरन असमियाकै हुन्थ्यो । यहाँसम्म कि कसै-कसैले त नाउँ पनि परिवर्तन गर्न थालेका थिए भन्ने सुनिन्छ ।
सन् १९७९-मा मङ्गल्दै पार्लियामेन्टरी कन्स्टिट्युएन्सीका प्रतिनिधि हिरालाल पाटोवारीको असामयिक मृत्यु हुँदा चुनाउ-पञ्जिकाको पुनरावलोकन हुने भयो । सन् १९७१ को जनगणना अनुसार असममा जनसङ्ख्याको अस्वाभविक वृद्धिका साथै असमिया मानिसको सङ्ख्या धेरै घटेको थियो । त्यो हुनुको पिँधमा थियो-बाङ्लादेशतिरबाट शरणार्थीहरूको अस्वाभाविक अनुप्रवेश र मातृभाषा असमिया लेखाएका सम्पूर्ण नेपालीले मातृभाषाका रूपमा नेपाली लेखाउनु । त्यसपछि असममै असमिया अल्पसङ्ख्यक हुने डरले रैथानेहरूलाई सताउन थाल्यो । फलस्वरूप अनुप्रवेशकारी बङ्ग्लादेशी शरणार्थीसँग नेपालीहरूलाई मुछी तिनीहरूलाई असमदेखि विस्थापित गर्नुपर्छ भनेर सन् १९७९ देखि असम आन्दोलनको सूत्रपात भयो । नेतृत्व लिए मुख्य दुई संस्था AASU – All Assam Students Union र Assam Gana Sangraam Parishad –ले ।
चारैतिरबाट यस आन्दोलनले समर्थन पाउँदा यसले व्यापक रूप लिँदै गयो । पत्र-पत्रिका र समाचार-पत्रहरूले आगोमा घिउ खनाइरहे । पहिले त आन्दोलन शान्तिपूर्ण नै थियो, तर बरपेटाको भवानीपुरमा आन्दोलनकारी खर्गेश्वर तालुकदारको मृत्युपछि आन्दोलनले हिंस्रक रूप धारण गऱ्यो । असमभरि लुटपाट, मारपिट, आगो झोस्नुजस्ता हिंसात्मक कार्य साधारण कुरा भए । नेपालीहरू पनि यसका बलि भए । चारैतिर गुञ्जायमान भयो एउटै नारा –‘जय आइ असम’ (असम आमाकी जय) यो आन्दोलन सन् १९७९ देखि सन् १९८५ सम्म चलेर Assam Accord सँगै मनोमालिन्यको विषाक्त धुवाँ छाडी समाप्त भयो ।
आश्चर्य लाग्ने कुरो के छ भने आफ्नै विरोधमा भएको आन्दोलनमा पनि नेपालीहरूले असमको माटो र असमियाप्रतिको माया मार्न सकेनन् । आन्दोलनमा उनीहरूले पूरा सहयोग गरे । आन्दोलनकी प्रथम नारी-सहिद नेपाली चेली थिइन् – वैजयन्ती देवी उपाध्याय । उनको श्लोगान थियो – ‘तिमी असमिया हौ भने हामीसँग आऊ !’
दरङ कलेजका प्राक्तन प्रोफेसर दुर्गाप्रसाद उपाध्यायको भनाइअनुसार ‘उनी एउटा अविकसित समाजभित्रको एउटा घरमा कहिल्यै पनि हार नमान्ने छोरी थिइन् ।’
चानमारी, तेजपुरनिवासी अमर उपाध्यायकी सुपत्री वैजयन्ती देवीको जन्म १९ जुलाई, सन् १९५९ मा भएको थियो ।
आन्दोलनकै बेला ‘रणसिङ्गा दिवस’ (शङ्खनाद दिवस)-मा जोरसँग शङ्ख फुक्दा मस्तिष्कको नसा फुटेर उनको १९८० को १६ अगस्तको बेलुकी ८:१५ बजे मृत्यु भयो । उनी असम आन्दोलनको इतिहासमा चिरस्मरणीय भइन् ।
असम आन्दोलनमा वैजयन्तीबाहेक अरू ४ जना नेपाली (सरकारी ग्याजेटअनुसार) सहिद भएका थिए –
१. धनबहादुर छेत्री : बको, कामरूप
२. पदमबहादुर छेत्री : आमगुरी, चिची बर गाउँ
३. भीमबहादुर तामाङ : बरबारी, गहपुर
४. तुलसी शर्मा : नतुन सिराजुली, शिङ्ग्री, शोणितपुर
भन्न सकिन्न रजिस्टरमा नाम नउठेका अझै कति नेपाली सङ्ग्रामी त्यो आन्दोलनका बलि भए होलान् ! यसरी असम र असमियालाई माया गर्ने नेपालीमा जग्गाजगीको समस्याको अन्त्य भएको छ भनेर अझै भन्न सकिन्न । एनआरसीमा छाँटिएर रहेका नेपालीले पूर्ण संवैधानिक मान्यता पाए तापनि भोलि के हुन्छ त्यो अँध्यारोमै छ…!