– कालूसिंह रनपहेँली
कमानको तलब आएको तीन दिन भइसकेको थियो। भगीमानलाई तलबको पैसाको बुजोले उसको घरका आवश्यकताहरूको छेंड़ टाल्न पुगेन। छोरीको स्कुल भर्नाको पैसा र उसको नयाँ खाता-किताब किन्ने पैसा चाहिएकाले घरकै सुँगुर लड़ायो । गाउँकाहरूले राम्रो घरपाला सुँगुर हारालुछ गरेर लगे । इन्द्रमानले भने सुँगुरको खुट्टा माग्यो अघाड़िपट्टिको एउटा र साथमा एक किलो शिकार पनि । त्यति लिएर ऊ घर पुग्यो अनि पत्नीलाई झोला थमाएर भन्यो, “हेर पम्फा! यो राम्ररी बनाउनू। अस्ति भानिजले सिक्किमबाट ल्याइदिएको ब्रान्डीसँग खान्छु । तल्लो घर बलमानेलाई पनि बोलाएर अलिक खुट्टाको अचारसँग कड़ा पनि दिइहालौँ । त्यो घरका कामहरू गरिदिने बलवान छ । घरको काममा मात्र जोतेर हुँदैन, अलिक चियापानी पनि दिएर मान्छे हातमा राख्नुपर्छ । आखिर त्यो एक बोतल छँदैछ ।”
खुट्टाको शिकार लिएर आउँदा इन्द्रमानले बलमानेलाई भनिराखेको थियो, “भरे साँझमा एकछिन आऊ है बलमान भाइ ! अलिक घाँटी भिजाउनुपर्छ ।” बलमान आँगनमा चोया काढ्दैथियो, घाँटी भिजाउने कुराले त्यो उत्तेजित भइहाल्यो ।
बलमानले हतार-हतार चोयाको बिटा बनाएर धारामा पानी बग्ने ठाउँमा भिजाइराख्यो । त्यसलाई साँझ पर्खनु निक्कै कठिन परेकाले आँगनमा ओहोर-दोहोर गरिरह्यो । साँझ पर्नु केही अघि नै त्यो इन्द्रमानको घरतिर लाग्यो तर बाटैमा गार्डन बाबु भेटेपछि उनको गफमा त्यो निकै अल्मलिन पऱ्यो।
बेलुकी इन्द्रमानले सिकुवामा दुइवटा बेन्ची र माझमा एउटा सानो टेबल राख्यो । एउटा बेन्चीमा आफू बसेर त्यो बलमानलाई पर्खन थाल्यो । निकै बेरसम्म पनि साथी आइनपुग्दा उसले सिकुवाबाटै कराएर पत्नीलाई भन्यो, “हेर पम्फा त्यो त बलमान ढिलो गर्लाजस्तो छ ! तिमी मलाई चैं अलिक अचार र चिया दिइहाल त ! त्यो आएपछि फेरि थपौँला ।”
बल्ल आइपुग्यो बलमान । इन्द्रमानले सिकुवा राखिएको खाली बेन्ची देखाएर भन्यो, “बलमाने भाइ बसौँ यहाँ। इ… म त पर्खिन नसकेर शुरू पनि गरिहालेँ । औ पम्फा ! एउटा गिलास र अलिकति खुट्टाको अचार ल्याइदेऊ त यहाँ बलमान भाइलाई ! अन्त अब त्यो बोतल नै यहाँ ल्याएर राख त !”
पम्फाले ट्रेमा सजाएर खुट्टाको अचार, एउटा गिलास, ब्रान्डीको बोतल र एक जग पानी हाजिर गराई । इन्द्रमानले ब्रान्डी सारिदिएर भन्यो, “पानी तिम्रै हिसाबले अड्कलेर हाल ।”
त्यसपछि दुई भाइ गफ हाँक्दै ब्रान्डी पिउनथाले खुट्टाको अचारसित ।
बलमानेले एक घुट्को ब्रान्डी निल्यो अनि चम्चीमा उठाएर खुट्टाको अचार चाखेपछि भन्यो, “खुट्टाको अचार बनाउनु त पम्फा भाउजूबाट गाउँलेले सिक्नुपर्छ । खै के हाल्छिन् कुन्नि, जिब्रो नै उँधो जालाजस्तो हुन्छ ।”
पम्फा भाउजू यो सर्काइले फुर्किनन् किनकि रक्स्याहाहरू खान पाए नुनै नहालेको मासुलाई पनि सर्काएर भुतुक्कै पार्छन् । अतः उनले भनिन्, “मिठो भएन भनेर खिसी पो गर्नुभएको होला है देवरले !”
बलमानले अचानक कसम खाएर भन्यो, “सत्ते होला भाउजू, मेरो सानो छोराको कसम। किन ढाँट्नु?”
“अपुई ! नाथे रक्सीसित खाने खुट्टाको अचारका लागि आफ्नो बालाखा छोराको कसम खान्छ ? कस्तो निर्दयी बाउ ! कस्तरी मुखमा जे आयो त्यही बोलेको हँ !”
बलमान अरकच्च परेर अलिक दिल्लगी गरेजस्तो भन्यो, “लू त्यसो भए गुहे खोलाको कसम !”
यति नै बेला माथिल्लो घरको जीतबहादुर त्यहाँ टुप्लुक्कै आइपुग्यो । जीतबहादुर पनि यो गाउँको निक्कै चंखो चतुरो मान्छे । भोट आउन आँट्दा त्यो सबै पार्टीतिर लाग्छ । जसले पैसा पेल्छ त्यता भोट हाल्छ । त्यो पनि रक्सी भनेपछि त शेषनागले जस्तो जिब्रो निकालेर मुख मिठ्याउँछ । अब घरमा दुई भाइ रक्सी र खुट्टाको अचार खाँदै गर्दा जीतबहादुर आइपुगेपछि उसलाई पनि साथमा बसाउनैपर्यो । इन्द्रमानले कराएर पत्नीलाई भन्यो, “पम्फा! याँ हेर त, माथिल्लो घरको जीतबहादुर भाइ पनि आइपुगेछ । उसलाई पनि एउटा गिलास र अलिकति खुट्टाको अचार ल्याइदेऊ न है!”
जीतबहादुर छेउको मुड़ा तानेर बस्यो अनि भन्यो, “आज त यहाँ पार्टी चल्दै रैछ । बलमाने भाइ पनि रैछन् । गफ लगाउँदै रातो खाइने भो ।”
पम्फाले खुट्टाको अचार र एउटा खाली ग्लास ल्याइदिई । इन्द्रमानले डेढ़ पेगजस्तो ब्रान्डी ग्लासमा सारिदिएर अड़्कलेर पानी पनि हालिदियो । जीतबहादुरको आँखा चम्किलो भयो । त्यसले सारेको ब्रान्डी स्वाट्ट पारेर अलिकति खुट्टाको अचार चम्चीले उठाएर मुखमा क्वाप्प हाल्यो । त्यसले पनि भनिहाल्यो, “पोहोर माघे सङ्क्रान्तिमा खाइएको थियो खुट्टाको अचार, आज यहाँ खाइयो । हन कति मीठो हौ ! खै के-के हाल्छन् हौ अचारमा र यस्तो मीठो ?”
पम्फाले जगमा कित्लीबाट पानी हालिदिँदै भनी, “खै के हाल्नु र जीते भाइ ! यसको खास मसला चैं हो तोरी । तोरीलाई पहिले भुट्नुपर्छ र पिसेर हाल्नुपर्छ, सुँगुरको खुट्टाको अचारले जिब्रो उँधो भासिन्छ । अरू त्यही हो तेल, प्याज, रामभेड़ा, मसला र खोर्सानी ।”
फेरि ब्रान्डी ग्लासमा सार्यो जीतबहादुरले अनि अलिकति पानी हालेर भन्यो, “यो गाउँमा मान्छेहरू सब ठूला-ठूला छन् । पत्याउनै छाड्यो । त्यो भगीमानले सुँगुर काटेछ, जाबो एक किलो मासु पनि पत्याएन हौ ! सबैलाई पठाएछ मलाई पठाएन । देखा जाला । त्यसले नपठाको कारण पनि बुझ्छु । त्यसले म अर्को पार्टीको मान्छे भनेर नपठाको । त्यस्तै हो भने त यो बलमाने भाइ पनि त्यो भगीमानकै पार्टीको मान्छे हो । खै त हामी एउटै टेबलमा बसेर रक्सी खाँदैछौँ त ! सिद्धान्त भनेको एउटा कुरा हो अनि गाउँ-समाज भनेको अर्को कुरा । तर यहाँ त मान्छे पार्टीको आधारमा काम गर्छन् । यतिसम्म पार्टी छुट्याएर बिहे र मलामी जान्छन् । खै यो गाउँ कस्तो थियो कस्तो भयो । भन्दा पनि बलमाने भाइ, तिमारको पार्टीको मिटिङ छ अरे अर्को हप्ता सोमबार यहाँको खेलकुद मैदानमा हो ?”
बलमानेले भन्यो, “हो नि, ठूलो मिटिङ हुँदैछ । अब त्यो मिटिङमा सुन्नुपर्छ यो गाउँमा अर्को पार्टीकाहरूको जालसाजी र काला कर्तुतहरू।”
ब्रान्डी फेरि सारेर पानी हाल्यो बलमानेले, अनि भित्रतिर टाउको फर्काएर करायो, “भाउजू, खुट्टाको अचार थपौँन ।”
पम्फाले खुट्टाको अचार ल्याएर तीनैजनालाई फेरि थिपिदिई ।
इन्द्रमानले भन्यो, “तिमीहरू दुईजना दुई पार्टीको, म चैं दुवै पार्टीको है ! मलाई पार्टीसार्टीमा कुदिहिँड्नु मन पर्दैन। व्यर्थैमा साथीभाइ दुश्मन हुन्छ। म त आफ्नो मनले गमेर कुनै एउटा पार्टीलाई समर्थन गर्छु । एजेन्डा मनिफेस्टो हेरेर भोट दिन्छु ।”
बलमानेले भन्यो, “भन्दा यसपालि कसलाई हाल्यौ त इन्द्रमान दाजु भोट ?”
इन्द्रमानले झट्ट भन्यो, “त्यो पनि भन्ने कुरा हो ? मैले त नोटामा हालेँ, नोटामा ।”
पम्फाले फेरि पानी ल्याएर राखिदिई अनि सोधी, “यो नोटा भनेको चैं के हो?”
इन्द्रमानले भन्यो, “आच्ची… त्यति पनि जान्दैनौ? दुईतिरैबाट नोट थापेर भोट हाल्न जानेले चैं ‘नोटा’-मा हाल्छ । नोट थाप्यो सबैबाट, अन्त नोटामा भोट हाल्यो ।”
अहिले निक्कै मात्दै गएको जीतबहादुरले कराएर भन्यो, “हन नोट चैं कसले थाप्यो र कसले नोटको आधारमा भोट हाल्यो हौ ! त्यस्तो खसालेर कुरा गर्न पाइँदैन है इन्द्रमान दाइ । यै बलमानेको पार्टीले पैसा गाउँमा बाँड़ेको हो । हाम्रो पार्टीले त बाँड़ेन है ।”
बलमाने करायो, “कसले नोट बाँड्यो अरे ? प्रमाण छ ? के आधारमा तिमी त्यसो भन्दैछौ ?”
जीतबहादुर कड्क्यो, “पैसा बाँड़ेर भोट जित्ने तँहरूको दाउ होइन ? भो, अब जनता लाटा छैन । जानेर-बुझेर भोट हाल्छन् ।”
इन्द्रमानले भन्यो, “म पो कुनै पार्टीमा छैन । भित्री सपोर्ट चैं गर्छु । मैले पो नोटको बिटा मागेर नोटामा भोट हाल्नु सुहाउँछ। तिमीहरू त्यसका लागि केको बाझो गर्छौ ?”
बलमाने करायो, “होइन इन्द्रमान दाजु, यो जीतबहादुरले अस्तिदेखि मलाई निहुँ खोज्दैछ। बाटो ढुकेर मलाई बजाउँछु भिनिहिँड्छ अरे ! म पनि सुन्छु नि, मेरो पनि मान्छे छ क्या यो गाउँमा !”
जीतबहादुरले भुइँमा कुरा खस्न दिएन अनि भनिहाल्यो, “मैले कैले तिमीलाई बाटो ढुक्छु भनेँ ? देखाउन सक्छौ ? प्रमाण दिन सक्छौ ? कस्तो उल्टा मान्छे !”
अहिले टेबल ठोकाठोक हुनथाल्यो ।
इन्द्रमानले भन्यो, “अरे नबाझ मोरा हो, नबाझ । बरू मजाले खाऊन । खाई सार कि लाई सार मरेपछि लम्पसार । पम्फा ! खुट्टाको अचार थप थप । यहाँ दुई भाइको मुखमा बुजो लगाइदिऊँ ।”
पम्फाले हातमा प्रेसर कुकर नै बोकेर ल्याई र भनी, “इः अब यति अलिकति बाँचेको छ । लू यो पनि खाइहाल र आ-आफ्नो घर जाऊ । यहाँ अर्काको घरमा कचिङ्गल होइन है !”
पम्फाले उब्रेको खुट्टाको अचार तीनजनाको बटुकामा हालेर रित्तो कुकर लिएर भान्साघरतिर गई । इन्द्रमानले भन्यो, “लू खाऊ, त्यो पानी त्यहीँ छ । ब्रान्डीको बोतल यहीँ छ, कति खान्छौ खाऊ । एक बोतल डल्लै त निकालेको मैले !”
फेरि ब्रान्डी सारियो । मासु त तुरिहाल्यो । अब ब्रान्डीमात्रै सोड्क्याउन थाले उनीहरू। फेरि बलमानेले भन्यो, “भन्नु उसो होइन, यो जीतबहादुरको खलक नै गाउँमा अशान्ति गरिबस्छ । यस्ताहरूले गाउँको विकास गर्न के पार्टी गर्छ ! बरू झण्डाको डोरी बनाएर फाँसी लाग्नु नि कचिङ्गलेहरू ।”
जीतबहादुरको टुप्पीबाट धुवाँ छुट्यो, “के अरे बले! म तेरो खुन पिउँछु । अहिले सुँगुरको खुट्टा खाने अब म तेरो ह्याकुलाको मासु लुछेर खान्छु । मुख नचला ।”
बलमानले ब्रान्डीको गिलास टेबलमा बजारेर भन्यो, “कसको बाबुको के खाइदिएको छु । के गर्छस् ? खेल्छस् ? हिँड़् बाहिर !”
“हिँड् । डराउँछु भनेको ? तेरो दाँत आँगनभरि छरिदिन्छु म, हिँड् !”
इन्द्रमानलाई अब दुई भाइलाई सम्हाल्न साह्र पर्यो । ऊ आफै पनि सम्हालिन नसक्ने भइसकेको थियो । दुवैजना उठेर बाझाबाझ गर्नलागे । इन्द्रमानले बलमानेलाई तानेर भन्यो, “तिमी घर गइहाल। यहाँ झगड़ा भयो भने राम्रो हुँदैन । लू जाऊ जाऊ… म तलसम्म पुर्याइदिन्छु ।” इन्द्रमानले अँगालो हालेर बलमानेलाई चार कान्लामुनिसम्म पुर्याएर आयो अनि जीतबहादुरलाई भन्यो, “हिँड़ जीते भाइ, म तिमीलाई पनि घरमा पुर्याइदिन्छु ।” ऊ आफै हल्लिरहेको थियो तथापि दुवै भाइ अँगालो मारेर उकालो लागे । जीतबहादुरको घरको सिकुवामा पुगेर उसले भन्यो, “लू जाऊ घरमा ।”
यतिकैमा जीतबहादुरकी स्वास्नी बाहिर निस्की। “हन के घिचेर यस्तो थामिनै नसक्ने भएर आएको ?”
“हैन कि बहिनी घरमा खुट्टाको अचार बनाएको थियौँ र त्योसँग अलिकति खाएर आएको नि!” इन्द्रमानले सफाइ दियो ।
“ए ल! मैले पनि घरमा खुट्टाकै अचार बनाइराखेकी छु । मासु पुगेन लू खुट्टा नै खाऊ भनेर भगीमान पुर्याउन आएछ र त्यो खुट्टाको अचार पाकिसक्यो । घरमै घिचेको भए हुनेथियो त! कस्तो गति देखाको दुनियाँलाई !” कराई जीतेकी पत्नी।
“लू भित्र जाऊ, म गएँ है !” यति भनेर इन्द्रमान घरतिर गयो ।
घरमा श्रीमती फुकेको बलुनजस्तो भएर फुलिएकी थिइन् । इन्द्रमानले भन्यो, “नाथेहरूले हाम्रो खुट्टाको अचार सब स्वाहा पारेर खाइदियो । उल्टा झगड़ा गरेर मिलाउँदा मिलाउँदा हत्तु भइयो । लू पम्फा, भात पस्क, भोक पनि लाग्यो । खुट्टाको अचार कति मन पराएर खान्थ्यो होला हाम्रो छोरा राजुले । अब मासु पनि पकायौ होली, त्यै देऊ त्यसलाई । मलाई पनि खुट्टाको अचारसित भात खाने कस्तो इच्छा थियो । दुई भाइले हाम्रो इच्छा टुक्रा-टुक्रा पारिदियो ।”
पम्फाले भात पस्की । इन्द्रमान हात धोएर बस्यो । त्यसलाई मातले निक्कै छोड़िसकेको थियो । त्यसले भन्यो, “पम्फा, मलाई माफ गर । कति नै रमाइलो गरेर हामी खुट्टाको अचार खाउँला भन्थ्यौँ । सब स्वाहा । अब झोलभात खाऔँ । मैले त ब्रान्डीसित भए पनि अचार खाएँ, तिमीले त चाख्न पनि पाइनौ, विस्मात लाग्यो।”
पम्फाले भात र तिहुन पनि पस्केर इन्द्रमानको अघि राखिदिई । फेरि उठेर भारबाट एउटा बटुका निकालेर इन्द्रमानको अघि राखिदिई। इन्द्रमान अचम्भित भयो, “अरे! खुट्टाको अचार तुरिएको थिएन ?”
“मत्थुहरूले सकिदिन्छ भनेर मैले बटुकामा हालेर अलग्गै राखिदिएकी थिएँ, तिमीले कस्तो मन पराउँछौ भातसित खाओस् भनेर, लू खाऊ !”
इन्द्रमान छक्क पर्यो पम्फाको माया देखेर । जसरी भए पनि खुट्टाको अचार खाने मेरो इच्छा पूरा गर्न चाहने पम्फा महान् हुन्, सोच्यो उसले। एक चोक्टा आफ्नो भागमा हालेर बटुका सार्दै उसले भन्यो, “लू म यति खान्छु, तिमी यी अरू खाऊ ।”
अघिसम्मको ङ्यारङ्यार ङुरङुरका तुँवालाहरू पानी परिसकेपछि घाम लागेको दिनजस्तो छ्याङ्ग भयो। दुवैले एकअर्काप्रति दर्शाएको मायामा दुवै खुशी थिए । इन्द्रमानले भन्यो, “भान्सा उज्यालो भनेको यै होला पम्फा, अलिकति मीठो खानेकुरा, धेरै मीठो एकअर्काप्रतिको माया-प्रेम ।”
पम्फाले भनी, “बिस्तारी खाऊ । खाको सुरमा अड्काउलाऊ हड्डी घाँटीमा ।”
इन्द्रमानले भन्यो, “बेसी नसिकाऊ न, म पनि जान्दछु नि घाँटी हेरेर हाड़ निल्नुपर्छ भनेर ! हाम्रा पुर्खाहरूले पनि त त्यसै भन्थे ! उनीहरूले त्यसै कहाँ भनेको हुन् र ?”