खरसाङ, ३१ अक्टोबरः खरसाङदेखि केही टाढा सिपाइधुरा छेउ आज सोमबार अपराह्न करिब ३. ३० बजे वाहन दुर्घटना हुँदा तीनजना यात्रुको घटनास्थलमै मृत्यु भएको छ भने अन्य पाँचजना घाइते बनेका छन्, जसमध्ये तीनजनाको अवस्था गम्भीर रहेकाले खरसाङ अस्पतालबाट उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पताल रेफर गरिएको छ ।
आज खरसाङबाट सोनादा पचेङतर्फ गइरहेको डब्ल्यूबी ७६ – ८३२७ नम्बरको टाटा स्पेशियो वाहन दुर्घटनामा परी मूल सडकबाट झर्दा टुङनिवासी स्वस्तिका तामाङ, अप्पर पचेङ सोनादानिवासी सविता लेप्चा र गोराबारीनिवासी बिना राईको घटनास्थलमै मृत्यु भएको छ ।
वाहनका चालक सुरज छेत्रीका अनुसार ओभरटेक गरेर आएको स्कुटीलाई बचाउने हुँदा उनको वाहन दुर्घटनामा परेको हो ।
“जबर्जस्ती ओभरटेक गरेर आएको स्कुटी मेरो वाहनको चक्कामा ठोकियो, मैले त्यो स्कुटीलाई बचाउन स्टेयरिङ अर्कोपट्टि काट्दा वाहन सडकबाट तल झरेको हो । त्यसपछि मलाई केही थाह छैन”, चालक छेत्रीको भनाइ छ ।
वाहनमा चालकसहित कुल आठजना यात्रु सवार थिए । दुर्घटनाको खबर सुन्न साथै स्थानीय मानिसहरू र पुलिस प्रशासन उद्धार कार्यमा जुटेका थिए ।
दुर्घटनामा परी ज्यान गुमाउने तीनैजना यात्रुको शवलाई पोस्ट मर्टमका लागि खरसाङ अस्पताल ल्याइएको छ ।