दार्जिलिङ, ५ नोभेम्बर : अन्ततः हाम्रो पार्टीका दुई सभासद् प्रमोष्कर ब्लोन र भुपेन्द्र छेत्री भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा अर्थात भागोप्रमोमा सामेल भए ।
पछिल्लो महिनादेखि यी दुई सभासद् हाम्रो पार्टी छाडेर भागोप्रमोमा सामेल हुने चर्चा चुलिएको थियो ।
यसैबिच, हाम्रो पार्टी प्रमुख अजय एड्वर्ड्सले २५ अक्टोबरका दिन प्रमोष्कर ब्लोन र भुपेन्द्र छेत्रीलाई पार्टीबाट विदा दिएपछि यी दुई सभासद् अनित थापानेतृत्व भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल हुने पक्कापक्की भएको थियो ।
यद्यपि यी दुवैले भोलिपल्टै विभिन्न संवाद माध्यमसँग कुराकानी गर्दै भागोप्रमोमा सामेल हुने कुरालाई खण्डन गर्दै यसबारे कुनै निर्णय नगरेको बताएका थिए । तर आज दुवैजना भागोप्रमोमा सामेल भए । दुवैलाई भागोप्रमो अध्यक्ष अनित थापाले आफ्नो दलमा स्वागत जनाए ।
अर्कोतर्फ आज, भागोप्रमोमा सामेल हुन साथै प्रमोष्कर ब्लोनले अजय एड्वर्ड्समाथि कटाक्ष गरेका छन् ।
“मैले जन्माएको मेरो पार्टीले आज मलाई बोल्ने मौकासम्म दिएन । केन्द्रीय समितिले मलाई सजाय दिनपर्थ्यो”, उनले भने, “फेसबुकबाट गरिएको सिटिङ रूमको राजनीति मलाई स्वीकार्य भएन ।”