- मणिकुमार प्रधान
लक्की
तिमी त के साह्रो लक्की हौ । दुई दुईवटा मामा छन् तिम्रा । म त साह्रै अनलक्की – एउटै मामा पनि छैन मेरो ।
तिमी त महालक्की । मेरा दुई मामा भएर के गर्नु ! एउटा मामा शकुनि, अर्का मामा कंश ।
रोयल्टी
फोनमा बाबु-छोरा :
– अँ भन छोरा, के भो ? सबै ठिकठाक छ त ?
– सबै ठिकै छ बाबा, तर हाम्रो घर छेवैमा बस्ने लेखक अङ्कलको घरमा दिउँसै चोरी भएछ ।
– हन के भन्दैछौ हौ त्यस्तो ! अलिक पत्याउने कुरा त गर !
– हो बाबा, पक्कै हो नि । म पनि त गएँ नि बिचरा त्यो अङ्कलकोमा – के कसो भयो होला भनेर सोधखोज गर्नु ।
-त्यसरी दिउँसै त चोरी नहुनुपर्ने । अच्छा, तिमीले एक काम गर ।
– हजुर बाबा भन्नुस् न ।
– तिमी त्यो अङ्कलकोमा गएर सोध त, उसको प्रकाशकले कहिलेदेखि उसलाई त्यस्तो गतिलो रोयल्टी दिन थालेछ ?
चिहान घारीमा
ऊ हरेक रात चिहान घारीमा गएर घर फर्कन्थ्यो । किन हो कुन्नि ! यो कुरा उसको साथीलाई थाह थियो । साथीले उसलाई सोध्यो एक दिन, “मलाई थाह छ, तिमी हरेक रात कतातिर हराएर घर फर्कन्छौ । तिमीलाई डर लाग्दैन राति हुँदो त्यसरी मुर्दाहरूको गाउँ डुलेर घर फर्कन?”
“मलाई जीवितहरूसँग मात्र डर लाग्छ । मुर्दाहरू त मरिसकेका त हुन् नि !” उसले साथीलाई भन्छ सहजै ।
गङ्गटाहरूको जुलुस
“यो जुलुस केका लागि?” पत्रकारले गङ्गटाको नेतालाई सोध्यो ।
“प्रशासनले हामीलाई रक्सीबाट वञ्चित गरिदिएकोमा ।” नेताको उत्तर दियो ।
“प्रशासनको यो कार्य त अति नै सराहनीय छ । यसका लागि जुलुस किन ?” पत्रकारले प्रश्न तेर्सायो ।
“रक्सीबिना हामी कसरी सीधा हिँड्नु ? युगौँदेखि त हामी बाङ्गै हिँडिरहेका छौँ । तपाईं मान्छे जाति, रक्सी खाएर बाङ्गिँदै हिँड्नुहुन्छ । हामी गङ्गटा रक्सी नखाई बाङ्गो हिँड्नु परिरहेको छ । रक्सीले हामीलाई सीधा हिँड्ने क्षमता प्रदान गर्छ नै भन्ने ध्येयले यो जुलुस निकालेको ।”
बिचरा गङ्गटाहरूको जुलुस फ्लप भयो । प्रशासनले गङ्गटाहरूलाई रक्सीबाट वञ्चित नै गरिदियो । यसैले बिचरा गङ्गटाहरू बाङ्गै हिँड़िरहेका छन् आजपर्यन्त ।