नेताजीको भतेर

0
780
  • जीतबहादुर सुनार

हुनत म प्राय: नेपाल जाने गर्छु । कहिले दमक, कहिले इटहरी त कहिले धरान । अस्ति भर्खरै भेडेटार पनि डुलेर आयौँ— म र श्रीमती । साथमा भविलाल लामिछाने सर पनि हुनुहुन्थ्यो । भविलाल सरसँग भ्रमणमा हिँड्न यस कारण पनि बढी राम्रो लाग्छ, उहाँलाई नेपालका ठाउँहरूबारे धेरै जानकारी छ । उहाँ विभिन्न ठाउँ घुमिसक्नु भएको छ…छिचोलिसक्नु भएको छ । फेरि यसो गरौँ भन्दा पनि मान्ने, उसो गरौँ भन्दा पनि मान्ने । यता जाउँ भन्दा पनि मान्ने, उता जाउँ भन्दा पनि मान्ने । त्यसैले उहाँसँग भ्रमणको परिवेश जहिले पनि सौहार्दपूर्ण बनिरहन्छ ।

तर यस खेप मेरो भ्रमणका कारण खासै भिन्न थियो। वि. सं. २०७९ वैशाख २६ गते (०९ मई २०२२) । चर्को घाम । मनमा कस्तो एउटा विचार फुऱ्यो कि धुलाबारी, चन्द्रगढी हुँदै बिर्तामोड जाने निर्णय गरेँ । एकलै। अनाहक । फेरि कारमा होइन, मेरो युग पचाएको स्कुटीमा । त्यो पनि दिउँसो एक बजेपछि। श्रीमती माइत गएकी हुनाले एकलै थिएँ । फुक्का ।

कुरो के पऱ्यो भने बिर्तामोडमा साझाको पुस्तक पसल छ भन्ने कुरो मैले दुई दिनअघि मात्र साथीहरूबाट सुनेको थिएँ । वि. सं. २०७९ वैशाख २४ गते (०७ मई २०२२) धुलाबारी, नेपालमा हाम्रा वरिष्ठ कवि, कथाकार, युग्मककार कालुसिंह रनपहेँलीलाई ‘तेराख महाकवि देवकोटा साहित्य पुरस्कार२०७८’-ले सम्मानित गर्ने भव्य कार्यक्रम राखिएको थियो । हामी सबैका लागि निकै हर्ष र गौरवको क्षण थियो त्यो । तोकिएको दिन बिहान ९ बजेतिर हामी हुल बाँधेर सालबारीबाट रमाइलो गर्दै धुलाबारीका लागि निस्केका थियौँ । वरिष्ठ साहित्यकार नरबहादुर दाहाल, कवि मोहन ठकुरी, कवि भविलालाल लामिछाने, कवि ज्ञानेन्द्र खतिवडा, कवयित्री उषाकिरण ‘सत्यदर्शी’, कवि हेमन्त काफ्ले, कवि लीलबहादुर सुनार हुनुहुन्थ्यो । त्यही कार्यक्रमको छेकमा बिर्तामोडको साझा पुस्तकपसलमा पस्ने र केही पुस्तक किन्ने कुरा पनि हामीले सोचेका थियौँ । तर समयको अभावले गर्दा त्यस दिन सम्भव भएन । पुस्तक हेर्ने र किन्ने अभीष्ट थाँतीमै रहेको थियो । त्यति खेरै मैले सोचेको थिएँ म फेरि आउँछु, एकलै भए पनि ।

हो, वि. सं. २०७९ वैशाख २६ गते । सोमबार । एउटा सनक बोकेर निस्केँ । काँकरभिट्टामा भन्सार तिरेर निस्कँदा दुई बजिसकेको थियो । धुलाबारीमा पनि साझाको पुस्तकपसल छ भनेर साथीभाइहरूबाटै सुनेको थिएँ । तर, त्यहाँका स्थानीय मानिसहरूलाई सोधेर पनि साझा पुस्तकपसल पहिल्याउन सकिनँ ।अन्त कतै छ कि ! सोध्दै धुलाबारी कटेपछि एउटा घुम्तीबाट देब्रे लागेर अघि बढेँ, बढिरहेँ । गर्मीले जिउ चिलिरहेको थियो । तर, साझा पुस्तकपसलप्रतिको अभीष्ट यस्तो कि मलाई गर्मीको वास्तै रहेन । पहिले त पक्की सडक, फेरि आधा पक्की अनि त्यसपछि कच्ची सडकमा मेरो स्कुटी कुदिरह्यो । एकजना साइकल चढेर आइरहेका अधबैँसे मानिसलाई रोकेर साझा पुस्तकपसलको टुङ्गो सोधेँ । उनले टाउको कन्याउँदै भने, ‘यो नाउँको पुस्तकपसल यताहुँदी छ जस्तो लाग्दैन । तर, तपाईं चन्द्रगढी पुग्नुहोस् । त्यहाँ पुस्तकपसलहरू भेट्नुहुनेछ ।’ उनले त्यसभन्दा बढी जानकारी दिन सकेनन् । मैले फेरि सोधेँ, ‘यो चन्द्रगडी कता पऱ्यो नि?’ उनले उत्तर दिए, ‘यहाँबाट सोझै जानुहोस् । एउटा स्कुल आउँछ । त्यसपछि पूर्व लाग्नुहोस् । त्यहाँ एउटा ठुलो मस्जिद बनिँदै छ । त्यसको उत्तर लाग्नुहोस् । केही पर फेरि एउटा सानो मस्जिद कटेर पूर्व लाग्नुहोस् । मूलबाटो भेट्नुहुन्छ । मूलबाटो नछोडी अघि बढ्नुहोस् । चन्द्रगढी चौराहा आइहाल्छ। त्यहीँ पुस्तक पसलहरू भेट्नुहुन्छ ।’

मनमनै गमेँ —‘एउटा ठुलो मस्जिद…त्यसपछि फेरि सानो मस्जिद ।’ सोध्न मन लाग्यो ‘मन्दिर भेटिँदैनन् झापामा ?’ तर धन्यवाद भनेर स्कुटीको कान निमोठेँ । मेरो बुढो स्कुटी कन्दै अघि बढ्यो । न मस्जिद आयो न मन्दिर। आफ्नै अडकलले दुई-तीनवटा सुनसान घुम्ती काट्दै अघि बढिरहेँ । नभन्दै एकछिनपछि मूलबाटोमा निस्केर स्वस्तीको लामो सास फेरेँ । एउटा पसलबाट एक लिटर पानीको बोतल किनेर घाँटीबाट घट्घटती ओह्राले । खरो लागेकै रहेछ । तिर्खा त मेटियो तर भोकले आन्द्रा बटारिरहेको थियो । त्यसैले समय खेर पार्नतिर लागिनँ । एउटा अटो चालकलाई सोधेर चन्द्रगढी जाने दिशा समातेँ । यस्तै ५/६ किलोमिटरपछि चन्द्रगढीको चौराहामा पुगी त्यहाँ एकजना चियापसलेलाई पुस्तकपसल कहाँ भेटिन्छ भनी सोधेँ । उसले दाहिने लाग्ने बाटोतिर देखाउँदै उत्तर दियो, ‘यो बाटो लाग्नुहोस् । छेवैमा तिनोटा जोडिएका पुस्तकपसल भेट्नुहुन्छ।’ मैले त्यसै गरेँ । सामुन्ने नेपाली राष्ट्रिय पुस्तकपसलको बोर्डले मलाई स्वागत गरिरहेको थियो । तर, पुस्तकपसलमा स्कुल-कलेजका पुस्तकहरू मात्रै बेच्न राखिएका । अझै अचम्म लाग्दो के भने उनीहरूले साझा पुस्तकपसलको नाउँ नै सुनेका रहेनछन् । हरे ! नाउँ नेपाली राष्ट्रिय पुस्तकपसल, तर साझा पुस्तकपसलको नाउँ पनि नसुनेका ! उदेक। म बिर्तामोड जाने बाटो सोधेर अघि बढेँ ।

चार बज्ने बेला भइसकेको थियो । भोकले पेटभित्र छुत्ती खेलिरहेको थियो । आफू परेँ निरामिषमान्छे। त्यस्तो कुनै होटल आँखामा नपरेकाले म स्कुटी अघि बढाएर हिँडिरहेँ…हिँडिरहेँ । हुनत मूलबाटो । तर, जताततै चर्केर, फुटेर, भत्केर स्कुटी नै निल्ने भ्वाङहरू मुख बाइरहेका । फास्ट-फुडका पसलहरू यदाकदा फाट्ट-फुट्ट देखिन्थे । तर, मलाई फास्ट-फुड नसहने । त्यसैले अघि बढिरहेँ । चुनाउको समय भएकाले प्रचार-प्रसारका कार्यक्रमहरू युद्धस्तरमा चलिरहेका थिए । अटोरिक्सा र गाडीहरू चुनाउको प्रचार गर्दै, माइकमा भाषण फलाँक्दै गुडिरहेका थिए । कुनै कुनै ठाउँमा त कतिपय नेताहरूले खिरिलो भिडलाई सम्बोधन गरेको पनि देखिन्थ्यो । तर मलाई अडिएर भाषण सुन्ने चासो भएन । निरामिष भोजन पसल खोजिरहेका थिए मेरा आँखाले । अब बिर्तामोड पुग्ने-पुग्ने बेला पनि भइसकेको थियो । एउटा सानो सहर जस्तो देखिने ठाउँमा पुगेर अडिएँ । त्यहाँ थुप्रै पसल थिए — किरानापसल, कपडापसल, सब्जीपसल, अझै धेरै थोक । केही पर एउटा ठुलो भिड देखेँ । एउटा खेल-मैदानजस्तो ठाउँमा रङबिरङ्गी कपडाले सज्जिएको मञ्चबाट एकजना अधबैँसे नेता चुनाउको भाषण फलाकिरहेका थिए । मानिसहरू पनि निकै चासो लिएर भाषण सुनिरहेका थिए । माझमाझ नेताको स्वरमा स्वर मिलाई थपडी पनि बजाइरहेका थिए । लोग्नेमानिसहरूका साथसाथै आइमाई र केटाकेटीहरूको पनि बाक्लो उपस्थिति देखिन्थ्यो।

चुनाउ-सभा मूलबाटोको दाहिनेतिर भइरहेको थियो । केही पर देब्रेतिर खानपिनका लागि बनाइएको एउटा बडेमानको पन्डाल पनि देखेँ । खानपिनको व्यवस्था पनि गरेका रहेछन् । भोट माग्नका लागि गरिब, भोका जनसाधारणका लागि राखिने यो एउटा प्रलोभन नै हो । ठिकै छ । नेताहरू चुनाउ जितेर देश नै खान्छन् । जिताउने जनसाधारणले एकै छाक भए पनि खान पाउनु जायजै जस्तो लाग्यो मलाई । यतिखेर म पनि जनतामाझको एकाइ नै थिएँ । मेरो ध्यान पन्डालतिर डोरियो । भोकले मलाई त्यतातिर धकेल्न थाल्यो । आफूलाई रोक्न नसकी स्कुटी स्टार्ट गरेर भान्सापन्डालतिर गुडाएँ । फेरि स्कुटी मूलबाटोबाट केही पर थन्क्याइ डिकीबाट ढाका टोपी झिकेर भिरेँ । त्यसपछि सामान्य र आश्वस्त देखिने लयमा पाइला चाल्दै ढोकाबाट भित्र छिरेँ । खाना खानेहरूको उपस्थिति खासै थियो । तर, बस्ने ठाउँ नै नपाइने भिड भने थिएन । भाषण दिइरहेका नेता निकै ठालु हुनुपर्छ । किनभने त्यहाँ खाना खान बसेका धेरैजसो मानिस सौम्य र सभ्य नै देखिन्थे ।

असममा छँदा पनि चुनाउका बेला भाषण सुन्नेहरूलाई खुवाउने गरेको देखेको थिएँ । त्यहाँ धेरैजसो ठाउँमा खिच्रो, नभए दाल-भात र एउटा निरामिष सब्जीभन्दा बढी केही हुँदैनथ्यो । तर बिर्तामोडको गरामनी भन्ने ठाउँमा त चुनाउको बेला भतेरै लाग्दो रहेछ ! छक्क परेँ । त्यति मात्र कहाँ र! बुफे सिस्टम । आफै लिने र खाने । खाना लिने पङ्क्तिमा उभिएँ । साढे चार बजिसकेको थियो । भोकले पेट हुँडलिरहेको बेला यस्तो तम्तयार भोजन पाएकोमा आफूलाई धन्य ठानेँ । साथसाथै चुनाउ यिनै उम्मेदवारले जितुन् भन्ने उद्गार पनि हृदयबाट निस्किरह्यो । पालो आएपछि मैले पेपर-प्लेट टिपेर भात, दुई थरीका निरामिष सब्जी, पनिरको सब्जी, फर्सीका तारेका चाना साथै माछाको एउटा गहकिलो पिस पनि प्लेटमा सजाएँ । माछा घर खाँदिनँ । बिहे-बरियातमा भने चल्छ । चिकेन लिइनँ । सधैँ युरिक एसिडको दुखाइ बोकेर हिँड्ने मान्छे ।साहस भएन । फेरि कुनाको एउटा कुर्चीमा बसेर खान थालेँ । मोबाइल झिकेर यताउतिका दुई-तीनवटा फोटा पनि खिच्दै आफू सहज भएको भान दर्शाउने चेष्टा गरिरहेँ । आफूलाई त्यस उपस्थितिको साक्षी पारेर दुई-तीनवटा सेल्फी पनि लिएँ। स्वादिष्ट भोजन । नेताजीले खर्च गरेकै हुन् । जितुन्। यिनैले जितुन् । मलाई के छ र! अहिले पेटको भोक मरोस् । पछि देखा जाला ।

स्वादिलो भोजनमा रमिरहेको बेला कोट, टाई लगाएका दुई-तीन जना अधबैँसे व्यक्ति आएर भोजनको स्वाद कस्तो छ, अरू केही चाहिनुपर्ने हो कि भनेर बुझ्न थाले। धन्य हुन् नेताजी ! जनताको कति ख्याल राखेका !! आउने पाँच वर्ष यसरी नै गए भने त जीर्ण-शीर्ण देशले निश्चय केही वर्गत पाउला ! जय होस् !! एकपल्ट फेरि कामना गरेँ चुनाउ यिनैले जितुन् ।

भोकबाट तृप्त भएर म हत्तपत्त उठिहालेँ । बाहिर निस्कन थालेकै थिएँ, एउटा युवकले बाटो छेक्यो। ऊ दौरा सुरुवालमा भए तापनि थारुको अनुहारको थियो । म सङ्कोचमा परेँ । मेरो ठर-ठेगान सोध्यो भने के उत्तर दिने मनमनै गुन्न थालेँ । एउटा पेपरप्लेटमा ठुलो रसभरी मतिर बढाउँदै उसले भन्यो, ‘सर ! मिठो खाएर जानुहोस् न । खजुरको हो । इन्डियाबाट मगाएको हजुर ।’

‘हो त, चुनाउ जितेर मन्त्री भएपछि नेताजी विदेशकै भरमा त देश चलाउने हुन्!’ मैले सोचेँ । त्यहाँबाट उम्केपछि हलुको तर स्वस्तीको लामो सास मेरा नाक र मुखबाट निस्क्यो । निस्किने बित्तिकै एकातिर सजिएर उभिएको एउटा ठुलो गेटको सिरानमा अनायासै मेरा आँखा परे । ठुला ठुला अक्षरमा लेखिएको थियो —

ओम् गणेशाय नम:

शुभ-विवाह

विजय – तुलसा

मिति: २०७९/०१/२६ गते

स्वागतम्

आकाशबाट खसेजस्तो भएँ म । यो त भाषण फलाकिरहेका नेताजीको भतेर रहेनछ । म त कुनै विवाह-भोजमा पो पसेको रहेछु । भोकको हुँडलोले गर्दा त्यत्रो ठुलो तोरणमा आँखै परेनछन् । कत्रो भुल गरेको रहेछु भन्ने बल्ल आभास भयो । लाग्न थाल्यो सबैका आँखा मतिरै तेर्सिएका छन् । टाउको निहुराएर अनुहार लुकाउने चेष्टा गर्दै अघि बढेँ । केही पर मेरो स्कुटी मूलबाटोको एकछेउ मलाई पर्खिरहेको थियो । स्कुटीको डिक्की उघारी टाउकाको ढाका टोपी डिक्कीभित्र राखेँ । आफ्नो ह्याट निकालेर भिरेँ । एउटा मिठो भतेर र तितो अनुभव बटुली स्कुटी स्टार्ट गरेर त्यहाँबाट कुलेलम ठोकेँ । पछि फर्केर हेर्ने साहस नै भएन । गरामनीबाट कतिखेर सिद्धार्थ होटलको मोड, साझा पुस्तकपसल र मुक्तिचौक काटिएछन् हेक्का नै रहेन । बिर्तामोडको राजमार्गमा स्कुटीका पाङ्ग्राले टेकेपछि बल्ल मैले स्वस्तीको लामो सास फेरेँ ।

साझा पुस्तकपसल जाने मेरो अभीष्ट यसखेप पनि थाँतीमै रह्यो ।

(सालबारी)

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here