इङ्ग्ल्यान्ड बन्यो वर्ल्ड टी-२० च्याम्पियन

0
819
फोटो स्रोत : आईसीसी अफिसियल साइट।

मेलबर्न, १३ नोभेम्बर : इङ्ग्ल्यान्ड वर्ल्ड टी-२० च्याम्पियन बनेको छ।

आज मेलबर्न क्रिकेट ग्राउन्डमा खेलिएको फाइनल खेलमा पाकिस्तानलाई ५ विकेटले पराजित गरी इङ्ग्ल्यान्डले उपाधि उचालेको हो।

पाकिस्तानले दिएको १३८ रनको विजयी लक्ष्य पछ्याएको इङ्ग्ल्यान्डका लागि अलराउन्डर बेन स्टोक्सले सर्वाधिक ५२ रन बनाएर टिमलाई जिताए । उनकै यस महत्त्वपूर्ण पारीका कारण इङ्ल्यान्डले १ ओभर बाँकी छँदै ५ विकेट गुमाएर लक्ष्य प्राप्त गरेको हो ।

नट्आउट फर्केका यी इङ्ग्लिस अलराउन्डरले ४९ बलको सामना गर्दै ५ चौका र एक छक्का हिर्काए ।

टिम सङ्कटमा फँस्दै गइरहेको अवस्थामा मोइन अलीसँग पाँचौ विकेटका लागि स्टोक्सले महत्त्वपूर्ण ४८ रनको साझेदारी गरे । मोइन अलीले १२ बलमा १९ रनको उपयोगी पारी खेले।

इङ्ग्लिस कप्तान जोस बटलरले २६, ह्यारी ब्रुकले २३ र फिल सल्टले १० रन बनाए । सेमिफाइनलमा इन्डियाविरुद्ध जीतका नायक बनेका एलेक्स हेल्स आज शुरूमै आइट भए। उनले भने केवल १ रन बनाए ।

पाकिस्तानका लागि हेरिस राउफले दुई तथा शाहिन शाह अफ्रिदी, शदाब खान र मोहम्मद वासिमले एक-एक विकेट लिए ।

यसभन्दा अघि टस हारेर पहिलो ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १३७ रन बनाएको थियो । पाकिस्तानका लागि शान मसुदले सर्वाधिक ३८ रन बनाए ।

त्यसैगरी कप्तान बाबर आजमले ३२, शादब खानले २० र मोहम्मद रिजवानले १५ रन बनाए । पाकिस्तानका चारजना ब्याटरले दोहोरो अङ्क पनि छोएनन्।

कसिलो बलिङ र फूर्तिलो फिल्डिङ गरेको इङ्ग्ल्यान्डका लागि स्याम कुरनले ४ ओभरमा केवल १२ रन खर्चेर ३ विकेट लिए  भने अदिल रसिद र क्रिस जोर्डनले दुई-दुई तथा बेन स्टोक्सले एक विकेट प्राप्त गरे ।

यो जीतसँगै इङ्ग्ल्यान्ड दोस्रोपटक वर्ल्ड टी-२० च्याम्पियन बनेको छ । २०१० मा पल कलिङहुडको नेतृत्वमा इङ्ग्ल्यान्डले अस्ट्रेलियालाई ७ विकेटले पराजित गरी पहिलोपटक वर्ल्ड टी-२० च्याम्पियन बनेको थियो ।

इङ्ग्ल्यान्डभन्दा अघि वेस्ट इन्डिजले वर्ल्ड टी-२० दुईपटक जितेको छ । वेस्ट इन्डिज २०१२ र २०१६ मा च्याम्पियन बनेको थियो ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here