सिलगढी, १९ नोभेम्बर : लीलाकुमार गुरुङले गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) छाडेका छन्। उनले आज गोजमुमोबाट राजीनामा दिएका हुन्।
गुरुङले आफ्नो राजीनामा पत्र गोजमुमो केन्द्रीय अध्यक्ष विमल गुरुङ र महासचिव रोशन गिरीलाई पठाएका छन्।
लीलाकुमार गुरुङ गोजमुमो ४४ नम्बर सामसिङ-कुमाई समष्टि अध्यक्ष पदमा थिए । यस पार्टीमा रहेर अहिलेको परिस्थितिमा वनबस्तीवासीहरूका मौलिक र कानुनी अधिकार सुनिश्चित गराउन असम्भव देखेपछि नै पार्टी छाडेको गुरुङले राजीनामा पत्रमा खुलाएका छन् ।
साथै वन क्षेत्रमा आश्रित बासिन्दाहरूलाई सधैँ अघि बढाएर लैजाने र उनीहरूको मुद्दा पार लगाएरै छाड्ने प्रतिबद्धता पनि उनले जाहेर गरेका छन्।
स्मरण रहोस्, लीलाकुमार गुरुङ हिमालयन फरेस्ट भिलेजर्स अर्गनाइजेसनका महासचिव पनि हुन्। यस सङ्गठनले शुरूदेखि दार्जिलिङ र कालेबुङ जिल्लाका वनबस्तीहरूमा वनाधिकार कानुन २००६ लागू गर्नपर्ने माग उठाइरहेको छ।