कालूसिंह रनपहेँली
शब्द र अर्थको सौन्दर्य
गाउँमा त शिरैमाथि जून देखिन्छ
शहरमा तर त्यो सबै छेलिन्छ।
फरक
एक्लै ठुलो छाउन खोज्दा हावाले च्यात्यो मानेको पात
सानै आकारमा रमाउन खोज्दा हावामा नाचे पिपलका पात।
जीवन यात्रामा
कतै बिझाउँछ सुख
कतै सम्झाउँछ दु:ख।
क्रान्तिका रूपहरू
वसन्तले क्रान्ति बुझ्यो फूलहरू जोड्यो
मान्छेले क्रान्ति बुझ्यो पुलहरू तोड्यो।
हार
‘हार’का फूलहरू जोड़िएर नै
जीतको ‘हार’ बनिएछ।
विश्वास
म छु
म हुन्छु।
असमर्थ
तिम्रो रूपको वर्णन के गर्नसक्छु
जति समयले त्यो गर्नसक्छ।
कविता
मृत्युको त्यो एक पङ्क्ति कविता
जीवनलाई कण्ठस्थै छ।
धरतीको काख
सुन्दरता हिँड़ेर कैँडा लागेछ फूललाई
बिसाउन धरतीतिर झर्यो।
साहस
जाबो अढ़ाई अक्षर ‘मृत्यु’-सित
म तीन अक्षर ‘जीवन’ किन डराऊँ?