दार्जिलिङ, २१ नोभेम्बरः दिल्लीमा रहेर सामाजिक कार्यमा उल्लेखनीय योगदान पुऱ्याउँदै आएका व्यक्तिहरूलाई हिजो अर्थात आइतबार गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) दिल्ली एकाइले सुवास घिसिङ सम्मानद्वारा सम्मानित गऱ्यो ।
दिल्लीलाई कर्मक्षेत्र बनाएर यहाँ विभिन्न सामाजिक कार्यमा संलग्न रही महत्त्वपूर्ण योगदान पुऱ्याउँदै आइरहेका समाजसेवीहरूलाई गोरामुमो युनिटले सम्मान जनाएको हो ।
विशेषगरी कोरोनाको वैश्विक महामारीको जोखिमपूर्ण स्थितिमा किञ्चित पछि नहटी निरन्तर सामाजिक सेवाकार्य गरेवापत दिल्ली पुलिसमा कार्यरत् सिंहमारी, दार्जिलिङनिवासी अरुण गजमेर, सुके-मानेभञ्ज्याङनिवासी प्रकाश तामाङ, डुवर्सनिवासी पूर्णिमा थापा, सफदरजङ्ग अस्पतालमा कार्यरत रणजीत कुमार, गोर्खा ब्योइजका महासचिव हेन्ड्री कुमारलगायत प्रतिष्ठा नारी सङ्गठनलाई सम्मान जनाइयो ।
यसअवसरमा गोरामुमो दिल्ली युनिटका अध्यक्ष रूद्र गुरुङ, उपाध्यक्ष अर्पण भुजेल, सचिव अजय जोशीलगायत अन्य पदाधिकारी पनि उपस्थित थिए ।
दार्जिलिङ पहाड, तराई अनि डुवर्सलगायत अन्य क्षेत्रबाट नोकरी गर्नका लागि दिल्ली पुगेका मानिसहरूलाई दुःख-कष्टमा सहयोग गर्ने समाजसेवीहरूका योगदानलाई उच्च कदर गर्नु कर्तव्य रहेकाले गोरामुमो दिल्ली युनिटले आउँदा दिनमा सम्मान कार्यक्रमलाई जारी राख्ने संयोजक प्रणय प्रधानले बताएका छन् ।