दोहा, २२ नोभेम्बरः कतार विश्वकप २०२२ को पहिलो खेलमै साउदी अरबविरुद्ध अपत्यारिलो हार व्योहोरेपछि अर्जेन्टिना सङ्कटमा फँसेको छ ।
फिफा ऱ्याङ्किङमा धेरै तल रहेको साउदी अरबले आज जुझारू फुटबल खेलेर बलियो अर्जेन्टिनाविरुद्ध २-१ को उत्कृष्ट कमब्याक जीत हात परेको हो ।
साउदी अरबविरुद्ध मेस्सीहरूले फराकिलो गोलअन्तरले म्याच जित्ने फुटबल पण्डित र खेलप्रेमीहरूको लख थियो, तर परिणाम उल्टो भयो ।
शुरूदेखि नै आफ्नो जातअनुसार आक्रामक फुटबल खेलेको अर्जेन्टिनाले खेलको १०औँ मिनटमा स्टार स्ट्राइकर लियोनल मेस्सीले पेनल्टीमार्फत गरेको गोलमार्फत अग्रता बनाएको थियो ।
त्यसपछि २२औँ र २९औँ मिनटमा लरेटो मार्टिनेजले भकाभक दुई गोल गरेका थिए, तर दुवै गोल रद्द भए । पहिलो गोल अफसाइड ठहरियो भने दोस्रो गोल भीएआरले खारेज गरिदियो ।
एकपक्षीय रहेको पहिलो हाफमा साउदी अरब कतिसम्म निरीह देखियो भने अर्जेन्टिनाको गोलपोस्टमा एउटै प्रहार गर्न सकेन । तर दोस्रो हाफ शुरू हुनसाथै खेलमा नाटकीय परिवर्तन आयो ।
पहिलो हाफमा निरीह देखिएका साउदीका खेलाडीहरू एकाएक उत्कृष्ट देखिए, जसको फलस्वरूप ४८औँ मिनटमा सालेह अलसहरीले गोल साउदी अरबलाई खेलमा फर्काए । त्यसपछि ५ मिनट नबित्दै सलेम अलदाउसरीले उत्कृष्ट गोल गरी आफ्नो टिमलाई २-१ को अघि बनाए ।
खेलमा १-२ गोलअन्तरले पछि परेपछि अर्जेन्टिनाले साउदी अरबको गोल पोस्टमा पटक पटक आक्रमण गरे तापनि हार टार्न भने सकेन ।
खेलमा ७० प्रतिशत पकड राखेको अर्जेन्टिनाले साउदी अरबको गोलपोस्टमा १५ पटक प्रहार गरेको थियो, जसमध्ये ६ प्रहार अनटार्गेट रहेका थिए, जबकि साउदी अरबले अर्जेन्टिनाको गोलपोस्टमा ३ मात्र पटक प्रहार गऱ्यो, जसमा दुई प्रहार गोलमा परिणत भए ।
आज गोल गरेसँगै मेस्सी फिफाको फरक फरक चार संस्करणमा गोल गर्ने पहिलो अर्जेन्टिनी खेलाडी बनेका छन् ।