जर्मनी पनि स्तब्ध, जापान जय

0
926

दोहा, २३ नोभेम्बर : कतार विश्वकप २०२२ को पहिलो खेलमा जर्मनी पनि अर्जेन्टिनाजस्तै स्तब्ध भएको छ । जर्मनीलाई पनि एसियेली टिमले स्तब्ध पारेको हो ।

आज खलिफा इन्टरनेसनल स्टेडियममा खेलिएको ग्रुप ‘इ’-को पहिलो खेलमा एसियाको पावर हाउस जापानले ०-१ ले पछि परेको अवस्थालाई उल्टाएर बलियो जर्मनीविरुद्ध २-१ –को उत्कृष्ट जीत हात पारेको छ ।

खेलको ७५ मिनटसम्म १—० ले अघि रहेको जर्मनी अग्रता जोगाउन नसक्दा पराजित भएको हो । जर्मनीका इकाय गुन्डागानले खेलको ३३ मिनटमा पेनल्टीमार्फत गोल गरी आफ्नो टिमलाई १-० को अग्रता दिएका थिए ।

जापानको जीतमा रित्सु डोआन र ताकुमा असानो हिरो बने । खेलको ७१औँ  मिनटमा आओ तनाकाको सट्टा मैदान छिरेका डोआनले ७५औँ  मिनटमा गोल गरी आफ्नो टिमलाई खेलमा फर्काए । यसको ८ मिनटपछि असानोले दर्शनीय गोल गरी जापानलाई उत्कृष्ट जीत दिलाए ।

जुझारू जापानले आजको खेल मात्र जितेन तर जित्यो विश्वका फुटबलप्रेमीहरूका मन पनि । र देखायो परफेक्ट डिफेन्स र काउन्टर अट्याकको सुन्दर नमुना पनि ।

खेलमा ७४ प्रतिशत नियन्त्रण राखेको जर्मनी फिनिसिङमा चुक्दा पहिलो खेलमै पराजित भएको हो । खेलभर जर्मनीले जापानको गोलपोस्टमा २६ पटक प्रहार गरेको थियो, जसमा ९ प्रहार अनटार्गेट रहे तापनि एकभन्दा बढी गोल गर्न सकेन ।

अर्कोतर्फ खेलमा केवल २६ प्रतिशत नियन्त्रण गर्नसकेको जापानले जर्मनीको पोस्टमा १२ प्रहार गरेको थियो, जसमा चार प्रहार अनटार्गेट रहे ।

यो जीतसँगै जापानले ३ अङ्क जोडेर ग्रुप ‘इ’-मा शीर्ष स्थानमा पुगेको छ भने जर्मनी पुछारमा झरेको छ ।

केही क्षणमा यस समूहका दोस्रो खेलमा स्पेन र कोस्टरिका भिड्दैछन् ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here