- मोहन ठकुरी
क्राइष्टाब्द १९७३
दार्जिलिङको गोर्खा दुःख निवारक सम्मेलनले प्रथम विराट् नेपाली साहित्य सेमिनार आयोजन गरेको छ । भारत र नेपालका धेरै अग्रज, प्रतिष्ठित साहित्यकार भेला भएका छन् । युवा कवि-लेखकहरूका पनि जमघट छ । दार्जिलिङे वातावरणले उत्साह र उमङ्ग बोकेको छ । समग्रमा साहित्यिकहरू हर्षित छन् । रमाइलो छ ।
सेमिनारमा स्वरचित कविता वाचनको सुअवसरले अत्यन्त खुशी लागेको छ । यसबाहेक कविवर ईश्वर बल्लभ दाइको चर्चित कविता ‘मेरो आमाले आत्महत्या गरेको देश’ सुन्न पाएँ । हरिभक्त कटुवाललाई सुन्न पाएँ, तुलसी दिवसलाई भेट्न पाएँ । तिनताकका मेरा आदरणीय र प्रिय कविहरू । साथीहरूमध्ये शरद् छेत्री र गुप्त प्रधानसित भेटघाट, बातचितले खुशी भइराखेको छु ।
अर्को खुशीको कुरो पनि पाउन सकेँ मैले त्यतिबेला । दार्जिलिङ जुनियर बेसिक ट्रेनिङ सेन्टरले मलाई नगरपालिका बाल उच्च विद्यालयमा एक महिनाका लागि फाइनल टिचिङमा पठाइदियो । त्यही विद्यालयमा कार्यरत थिए – साथीहरू शरद् छेत्री र गुप्त प्रधान । ती दुईले असाध्यै सहयोग गरे मलाई त्यतिबेला । महिनाभरि दिनहुँको भेटघाटले हामी साथीहरू नजिकिन पायौँ – शरद् र म अनि गुप्त र म ।
०००
गुप्त शरीरमा छैनन् अब । जीवनको माया-बन्धन उनले फुकालिसकेका छन् । तर साथीहरूका लागि उनका अनेक सम्झनाहरू छन् अनि छन् पाठकहरूका लागि उनका उम्दा कृतिहरू । छलकपटरहित सोझा, सरल, मिलनसार मान्छे उनी । जे सत्य छ, त्यही भन्ने उनी, जे सत्य छ त्यही लेख्ने उनी । ‘सत्य’ उनको एउटा मात्र अडिने ठाउँ ।
उनलाई बुझ्न सलुवाको अगमसिंह गिरी संस्थानले प्रकाशित गरेको ‘परदेशी गुप्त प्रधान अभिनन्दन विशेषाङ्क’ (मार्च २०२०) – ले धेरै सहयोग गर्छ पाठकलाई । विशेषाङ्कमा उनी आफैले एउटा लामो संस्मरण लेखेका छन् – ‘मैले दौडेको जिन्दगीको हर्डल क्रसिङ रेस ।’ जिन्दगीको दौडमा भेटेका सबै कुरा उनले त्यहाँ लेखेका छन् । ती सबै तर सत्यलाई समातेर लेखेका छन् – जीवन, परिवार, साथीहरू, साहित्य लेखन, दुःख कष्ट, रोग सङ्घर्ष, पत्नीवियोग, विपश्यना र विफलता, असत्य अभियोग मानसिक अवसाद र यन्त्रणा ।
गुप्त प्रधान अभिनन्दन विशेषाङ्क । यो विशेषाङ्कमा उनका कथाकृतिहरूबारे, उनका ऐतिहासिक ग्रन्थ ‘धुमिल पृष्ठहरू’-का बारेमा, उनका व्यक्तित्व/कृतित्वमाथि प्रशस्त लेखिएका छन् । उनलाई लिइएका अन्तर्वार्ताहरू छन् । तीहरूबारे केही छैनन् यस लेखमा, तर उनैका संस्मरणबाट टिपिएका केही बुँदा मात्र छन् ।
०००
साहित्य संसारमा गुप्त प्रधान कविता लिएरै छिरेका हुन् । उनको पहिलो कविता ‘बनिदेऊ’ पत्रिका ‘जनदूत’ वर्ष -२ अङ्क – ६ /१९६४ मा प्रकाशित छ । यसबाहेक उनका केही कथा पनि धुवाँ, पछ्यौरी, चाँप-गुराँस, परदेशी पत्रिकाहरूमा प्रकाशित भएका पाइन्छन् । तर कवितामा उनलाई सफलता प्राप्त भएन । सन्तुष्टि लागेन उनलाई । अभिव्यक्ति फितलो छ – उनले बुझे । नजिकका साथीहरूलाई पनि त्यस्तै लागेको रै’ छ । यही विचारले घेरेपछि उनले कविता लेख्न छाड्ने निश्चय गरे र कथालाई समातेका हुन् । कथालाई समात्ने कारण पनि छ । आठौँ श्रेणीका विद्यार्थी हुँदा नै प्रतिष्ठित कथाकार शिवकुमार राईको कालजयी कथा माछाको मोल -ले उनलाई छुयो । अत्यन्त प्रभावित भए उनी ।
अर्कोतिर, लब्धप्रतिष्ठित नाटककार बालकृष्ण समका नाटकहरू पढे उनले । भाषा-शिल्पले प्रभावित भए उनी । त्यतिबेला मनमा लेखन इच्छा जागृत भएको थाह गरे उनले । यसबारे उनी भन्छन् – ‘बीउ बने ती कुरा मेरो लेखनको ।’
000
कविता छाडेपछि कथाहरू लेखे उनले । त्यतिबेलाका पत्रिकाहरूमध्ये श्रेष्ठ, स्तरीय मानिने दियालो-मा प्रकाशनार्थ कथा पठाए – छापिएन । ‘केही न केही अपुग छ मेरो कथामा’- उनले सोचे । तेस्रोपल्ट पनि पठाए कथा, तर योपल्ट पनि छापिएन । उनले कथा पठाउन छाडेनन् । कथाको सङ्ख्या सात पुग्यो तर उनको कथा छापिएन । कथा नछापिएका कारण पनि उनले बुझेनन् । बरू सोचे मनमा र यही बुझे उनले – ‘म आफूलाई कथा लेख्न नआउँदो रहेछ ।’ उनले कथा लेख्न छाडे । उनी त क्यारम, ब्याटमिन्टन खेल्नपट्टि लागे, ट्युसन पढाउनतिर लागे । यसरी साहित्यलाई छाडे उनले ।
उनले तीन वर्ष साहित्यको नाममा केही लेखेनन् । एक शब्द पनि लेखेनन् । फेरि एक दिन यस्तो भयो – स्कुलमा साथी शरद् छेत्रीले कथाका कुरा कोट्याए । पहिले कहिलेकाहीँ लेख्ने गरेको तर अहिले लेख्नै छाडिदिएका कुरा उनले साथीलाई जानकारी दिए ।
“उसो भए अघि त्यसरी तिमीले लेखेका कथाहरू अहिले तिमीसित छ ?” शरद्को प्रश्न यो ।
“छ, फ्याँकिहालेको छुइनँ, जोगाएर राखेको छु ।”
शरद्कै अनुरोधमा ती जोगाएर राखेका कथाहरूमध्ये ‘समर्पित फूल’ ल्याएर दिए उनले । त्यही कथा हाम्रो अस्तित्व (सम्पादक चन्द्र शर्मा) –मा छापियो – क्रा. १९७३ मा । पछि त हाम्रो अस्तित्वले ‘एक व्यक्ति : सात कथा’ स्तम्भअन्तर्गत राखिदियो उनका सात कथा । कथाकार गुप्त प्रधानको जीवनमा अनौठो संयोग छ यो कुरा । एकातिर उनका सात कथाको सोझै अस्वीकृति अनि अर्कोतिर सात कथाको सहजै स्वीकृति । अस्वीकृतिले उनलाई दियो हतोत्साह र निराशा अनि स्वीकृतिमा उनले पाए उत्साह र आशा । उत्साहित उनले पछि अनेक स्तरीय, सबल कथाहरू लेखे र कथासाहित्यमा एउटा बेग्लै उच्च ठाउँ ओगट्न पुगे । तर हाम्रो अस्तित्वले नै टेवा दिएर उनको कथाकारितालाई उचालेका कुरा निर्विवाद छ । क्रा. १९७३ मा स्थापित युगपरिबोधबाट पनि उनले प्रशस्त साथ सङ्गत पाएकै हुन् ।
क्रा. १९८० मा प्रकाशित उनको पहिलो कथासङ्ग्रह मान्छे ! मान्छेकै बस्तीभित्र यी माथि उल्लिखित कथाहरू पनि समावेश छन् । कुनै बेला जुन पत्रिकाले उनका सात कथालाई ठाउँ दिएको थिएन, क्रा. १९९७ मा उनको कथा कथा घोडा-ले त्यही पत्रिकाको नामको पुरस्कार (दियालो पुरस्कार) पायो । यो पनि उनको लेखक जीवनमा एउटा महत्त्वपूर्ण अध्याय मानिन्छ । पछि, क्रा. २०१५ मा उनी साहित्य सम्मेलन पुरस्कारले सम्मानित भए – यो एउटा हर्षको कुरो छ ।
यही साल उनको कथासङ्ग्रह समयका प्रतिविम्बहरू (प्रकाशित २०११) का लागि साहित्य अकादमी पुरस्कार प्रदान गरिइने भयो । तर उनी सन्तुष्ट भएनन् । उनको पछिल्लो कथासङ्ग्रह विराम चिह्नहरू (२००२) तीनपल्ट फाइनलमा पुगेर पनि तीनैपल्ट पछारिएका कुरा उनलाई थाह रहेछ । समयका प्रतिविम्बहरू फाइलमा रहेका कथाहरू हराउने डरले मात्र छापेका रहेछन् उनले । उनले विस्मात मानेका कुरा यही हो ।
०००
सर्जक गुप्त प्रधानले दुई दशकभन्दा बढी समय अध्ययन र अनुसन्धानमा लगाएर लेखेका खाँटी कृति हो – धुमिल पृष्ठहरू । यो अनुसन्धानात्मक कृति क्रा. २००६ मा प्रकाशित छ ।
०००
अघि शुरूतिर भनिसकेको छु – सर्जक गुप्त प्रधानका कृतिहरूबारे अरूतिरै चर्चा छ । यो बेला, आफ्नो लेखनबारे उनले यस पङ्क्तिकारसित एउटा बातचितमा भनेका कुरा चासपर्दो छ । उनी भन्छन् – “कथाले पाठकलाई पीडा होइन, आनन्द दिने गरोस् – त्यसो भन्ने पक्षमा रहँदै कथा लेख्ने प्रयासमा मैले कथाहरू लेख्दै आएको हुँ अनि कथामा वस्तु होइन, वस्तुतालाई लेखूँ, मान्छेलाई होइन, मान्छेको जीविततालाई लेखूँ, उसको समयले उसलाई विष पिलाउँदा ऊ पनि नीलकण्ठ भएर कसरी आफैभित्र रनफनिरहने गर्छ, त्यसको विवरण कथामा लेखूँ । कथालाई त्यसको घटनाको दुर्बल पाखामा उभ्याएर त्यसमाथि आफ्नो सक्दो शब्दशिल्पको विशेषताले रङ भर्दै त्यसलाई सुन्दर बनाऊँ, हरेक युगमा मान्छे समाजसित जबर्जस्त सम्झौता गर्दै, कहिले बाझ्दै त्यसभित्र अँटाएर रहने प्रयासमा रहने गर्दोरहेछ – बत यस नयाँ युगमा कसरी ऊ अँटाएर बस्ने गरेको छ, त्यही बसाइलाई कलात्मक ढङ्गमा कथामा प्रस्तुत गरूँ…..।”
क्राइष्टाब्द २०२०, सेप्टेम्बरमा प्रकाशित उनको अन्तिम कथासङ्ग्रह जूनका अनुहारहरू –को भावबीजमा आफ्नो लेखनबारे अझ यति कुरा थपेर गएका छन् – “ ….. जीवन र जगतबिचको तादात्म्यले मलाई जे जे भन्ने गऱ्यो वास्तविकता विषयक, तिनैलाई धरातल बनाउँदै तिनैलाई म आफ्ना कथाहरूमा लेखूँ । जीवनको भोगाइको वास्तविकतामा जुन जुन अनुभवहरूले स्थायी भाव भएर जरा गाडेर मभित्र बस्दै गए, तिनै भावहरूलाई शाश्वत ठान्दै तिनै शाश्वतताहरूलाई लेख्ने गरूँ । समय र अवसरको मौका छोप्दै घरी घरी आफ्नो विचारको काँचुली फेर्दै त्यहाँ त्यस्तो अस्थायी आबादी जमाउने काम नगरूँ, किनकि शाश्वतता नै स्थायी हुँदोरहेछ र नै यस्तै शाश्वततालाई लेख्नेहरू नै कालान्तरमा दिगो बाँच्ने गरेका हुँदा रहेछन् ।….”
उनी अब मृत्युको भागबन्डामा परिसकेका छन् तर उनका कृतिहरू बाँचिरहने छन् – यति विश्वास मसित छ ।
ठकुरी सरको जादुमय लेखनीमा थपिएको यो सर्जक सन्दर्भका कुराहरूले मन छोयो। लेखनगत दर्शन र आधारमा कथाकार गुप्त प्रधानको छोटो तर महत्त्वपूर्ण मूल्यन उल्लेखनीय रहनेछ।
सबै अनुजका प्रेरणा श्रद्धेय गुप्त सरलाई हार्दिक श्रद्धाञ्जली !!