हरितालिका तीज पर्वमा स्वामी रामदेवले भने- नेपाली भारतको पनि भाषा हो, यसलाई गौरवको दृष्टिले हेरिनुपर्छ

0
1038
बुधवार दिल्लीमा हरितालिका तीज महोत्सवलाई सम्बोधन गर्दै स्वामी रामदेव।

दार्जीलिङ, 13 सेप्टेम्बर : बहुचर्चित गीत फूलको आँखामा फूलै संसार’-को  स्थायी गाएर आफ्नो  भाषण समाप्त गर्ने योगगुरु रामदेवले नेपाली भाषा भारतको पनि भाषा भएकोले यसलाई गौरवको दृष्टिले हेरिनुपर्ने बताएका छन्। साथै उनले भारतको एकता, अखण्डता र सभ्यताको गौरवगानमा नेपालीभाषी गोर्खाहरूको योगदान भारतका अन्य जाति समुदायहरूको जस्तै उच्च रहेको बताएका छन्।
बुधवार दिल्लीको तालकटोरा स्टेडियममा सम्पन्न हरितालिका तीज महोत्सवलाई सम्बोधन गर्दै रामदेवले यस आशयको बयान दिएका हुन्। यो हरितालिका तीज महोत्सव हाम्रो स्वाभिमान ट्रस्टले आयोजन गरेको थियो। ट्रस्टले प्रतिवर्ष विविध साङ्गीतिक कार्यक्रमको आयोजन गरी तीज पर्व मनाउने गर्छ।
“नेपाल राष्ट्र हाम्रो छिमेकी राष्ट्र हो। नेपालसँग राजनीतिक सीमा भिन्न हुँदा हुँदै  भाषा, सभ्यता र संस्कृतिको एकता भएकोले केही मानिसहरूले नेपालीभाषी गोर्खाहरूको राष्ट्रियता र नागरिकतालाई धेरै प्रश्नहरू गर्ने गरे पनि भारतीय संविधानले हाम्रो राष्ट्रभाषा र अन्य भारतीय भाषाहरूलाई जति गौरव दिएको छ, त्यति नै नेपाली भाषालाई पनि भारतीय संविधानले गौरव दिएको छ। यसैले नेपाली भाषाका लागि पनि हाम्रो हृदयमा त्यतिनै गौरव हुनुपर्छ’’, उनले थपे, “धेरैपटक नेपाली भाषा नेपालको भाषा हो भन्ने कुरा कसै कसैको मनमा आउँछ। मान्छौं नेपाली भाषा नेपालको पनि भाषा हो, तर नेपाली भाषा भारतको पनि भाषा हो। यसका लागि हाम्रो हृदयलाई अत्यन्त ठूलो गौरव हुनुपर्छ।’’
आफ्नो सम्बोधनमा रामदेवले सबैमा आफ्नो मातृभाषाप्रति अगाध प्रेम र सम्मान हुनुपर्ने तथा प्रत्येक नेपालीभाषी गोर्खाहरूले घरमा नेपाली भाषा नै बोल्नुपर्ने सुझाएका छन्। उनले भने, “आफ्नो मातृभाषामा धेरै गौरव हुनुपर्छ। आफ्नो मातृभूमिमा गौरव हुनुपर्छ। तपाईंहरू राष्ट्रभाषा र विदेशी भाषा  बोल्नु पर्छ, तर राष्ट्रभाषा हिन्दी र विदेशीभाषा अङ्ग्रेजी, फ्रेन्च, र जर्मनी जे नै बोल्नुहुन्छ, तर तपाईंहरूले आफ्ना घरमा, आफ्ना नानीहरूसँग व्यवहारमा बोल्नुमा गौरवबोध गर्नुहोस्।’’ 

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here