गोर्खाल्यान्डको मागमा भोलिदेखि दिल्ली धर्ना

0
696

सिलगढी, १ दिसम्बरः छुट्टै राज्य गोर्खाल्यान्डको मागमा गोर्खाल्यान्ड एक्टिभिस्ट समूहले भोलिदेखि दिल्लीमा धर्ना प्रदर्शन गर्नेछ।

यो धर्ना कार्यक्रम जन्तरमन्तरमा हुनेछ। धर्ना तीनदिन अर्थात दुई, तीन र चार दिसम्बरसम्म चल्नेछ।

संसदको शीतकालीन सत्र अवधि केन्द्र सरकारमाथि चाप सृष्टि गर्न गोर्खाल्यान्ड एक्टिभिस्ट समूहले दिल्ली धर्नाको कार्यक्रम बनाएको हो।

यो समूहले पछिल्ला सत्रहरू अवधि पनि जन्तरमन्तरमा गोर्खाल्यान्डको मागमा धर्ना कार्यक्रम गरिसकेको छ।

समूहका १४ सदस्यीय टोली हिजै दिल्ली प्रस्थान गरिसकेको छ। दिल्लीमा रहेका गोर्खाल्यान्ड पक्षधर सङ्घ-संस्थाका प्रतिनिधि र व्यक्तिविशेषहरूले पनि धर्नामा सहभागिता जनाउने बताइएको छ।

अधिवक्ता वीरेन्द्र रसाइलीको नेतृत्वमा एक टोली आज दिल्ली गइरहेको छ।

“गोर्खाल्यान्ड एक्टिभिस्ट समूहको एक मात्र माग गोर्खाल्यान्ड हो। हामी गोर्खाल्यान्ड छाडेर अन्य कुनै व्यवस्थामा सम्झौता गर्ने छैनौँ”, समूहका मूल संयोजक किशोर प्रधानले थपे, “दार्जिलिङ पहाडका सबै समस्याको एक मात्र निदान गोर्खाल्यान्ड हो। राजनीतिक दलहरू सबै स्वार्थ त्यागेर एकबद्ध हुन आजको आवश्यकता हो।”

उल्लेखनीय छ, दार्जिलिङ पहाडका राजनीतिक दलहरूले लोकसभा चुनावी कसरतमा लाभ-हानिको हिसाब गरिरहेका समय गोर्खाल्यान्ड एक्टिभिस्ट समूहले मानिसहरूलाई गोर्खाल्यान्डका लागि गोलबद्ध हुन आह्वान गरिरहेको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here