देवकोटाका कविता पङ्क्तिहरूमा अल्झेका आँसुका दाना-मोतीदाना

0
768

अर्जुन प्रधान

नेपाली साहित्य जगत्-का सर्वाधिक लोकप्रिय साहित्यकार लक्ष्मीप्रसाद देवकोटाका अनगन्ती कविता पङ्क्ति यस्ता छन्, जो आँसुका ढेकाले निर्मित छन्। आँसुका दाना मोतीदाना यत्र तत्र टल टल टल्केका छन्। देवकोटा स्वयं संवेदनशील स्रष्टा थिए, जीवनको गहन दुःखसँग चिरपरिचित थिए। उनका असङ्ख्य सृजना मानवीय सघन पीडाका प्रतिनिधि छन्। दुःखद परिस्थितिमा, विवश मान्छेका अश्रुधारले उनका पनि आँखामा अश्रुधार नै बगाएर जाने गर्थ्यो।

एक पटक सिद्धिचरण श्रेष्ठ आफ्नो पारिवारिक शोकमा शोकाकुल भएका बेला सान्त्वना दिनलाई पुगेका देवकोटा आफू पनि धर्धरी रोएका थिए। फलतः सृजना भएको थियो – यो अमर कविता पङ्क्ति –

 “टोह्लाइरहेका दृगले दृगरस

खैँचर बोल्दा ए डर चिक

तिमीले जगायौ प्रत्युत्तरवश

मेरा पुतली भर भर नीर।” (एक वियोगी पिताप्रति)

देवकोटाको जीवन दर्शन स्वयं अवसादको पृष्ठभूमिमा अडेस लागेको छ। जीवनको महत्ता दुःखको गहनतामा मात्र अनुभव गर्न सकिन्छ र दुःखको पहाडले थिचिएरै मान्छेको जीवनको उच्चतामा स्निग्ध भई उठ्दछ भन्ने सोच देवकोटामा देखिन्छ। आँसुका गोलालाई जीवनको गौरव मान्छन् उनी र यही अश्रुको अलङ्कारले मान्छेको जीवन गरिमामय बन्दछ, जीवनको आकलन हुँदछ अनि मूल्यहरू प्रतिष्ठित हुन्छन्, जीवन महिमामण्डित हुँदछ। एक पङ्क्तिमा लेखेका छन् –

पहिलो कविको नाम छ, जल जब

पहिला जगत छन्, जलाकार

आँसुको गोला विश्वको गौरव

इतिहास जलाङ्कित सब संसार।”

कवि र कविताको त झन् प्रारम्भिक मूल स्रोत नै अश्रुधार हो भनी मानिएका कथनको उनी प्रबल पृष्ठपोषक हुन्। प्रसङ्गमा देवकोटा, कवि सुमित्रा नन्दन पन्तका हाराहारी उभिन पुग्छन्। कविताको मूल स्रोत पहिल्याउँदै पण्डित पन्त पनि यसरी आँसुकै उद्गममा टुङ्गो पाउँछन् –

“विरही होगा पहिला कवि

आह से उब्जा होगा गान

उमड़कर आँखों से बही होगी

कविता अनजान।”पन्त

आँसुका आँसु कवि देवकोटाका ठेलीका ठेली कृतिमा उनलाई सर्वप्रिय लागेको कृति कविताकृति मुनामदन हो। एकपटक भनेका थिए – “मुनामदन छोडेर मेरा सबै कृति जलाइदिए हुन्छ।”- अर्थात मुनामदन खण्डकाव्यभित्र आँसुको जुन सागर छ, पीडाको जुन पहाड छ, जीवनमाथि बिछोड, विरह र मृत्युको जुन ताण्डव छ, त्यही नै साहित्यको गौरव हो – जीवनको गरिमा हो। जीवन पीरहरूका पिरामिड हो। र जीवनको दर्पण कविता त्यसैले आँसुको पोखरीमै फुलेको कमलसरह हो। देवकोटाको अमर कृति मुनामदनले त यही सन्देश दिइरहेछ बारम्बर। मुनामदनको त्रासदीय गौरवगाथा सम्बन्धी प्रसङ्ग झिक्दै तिनको मूल्याङ्कनको क्रममा एकताका एकास्थानमा स्वयंले यसरी लेखेको थिएँ –‘मुनामदनका सबै पात्र पात्रा नियतिको क्रूर प्रहारले क्षतविक्षत भएर लडेका छन्, व्याधित र पीडित भएका छन्। मानवीय सीमितताको कष्टदायी अनुभूतिबाट, विधिको निर्मम चोटबाट, आँसुको अथाह सागरबाट कोही पनि उम्कन पाएको छैन। सम्पूर्ण पात्रले जीवनको अन्त्यसम्म निस्सहायपनको, अनन्त मानवीय वेदनाको, अपरिहार्य त्रासदीको प्रतिनिधित्व गरेका छन्। देवकोटाको यस काव्यलोकमा सधैँका लागि घनघोर बादल छाएको छ।  कालो बादलले गम्म छोपेको तिमिराच्छन्न धरती नै वास्तवमा मुनामदनको पृष्ठभूमि हो। ढलपल ढलपल आँसुका गोलाहरूले निर्मित छ यसको दर्शन। दर्कने पानीले रुझाए जस्तो रुझेको गाथा छ यसको।‘

स्वयं देवकोटाले स्वीकारेका छन् –

अरू ता मैले के गर्न सक्थें ! अपढ़-अज्ञानी

आँसुले भिजे यो फूल गाँसे नजानी नजानी। (मुनामदन)

त्रासदीय गाथा नै यस काव्यको प्राण भएको छ। लोकप्रियताको आधार भएको छ, गौरवको प्रतीक पनि। युग युगान्तरदेखिको मानव प्रतिरूप त्रासदी हो, जीवनको हुबहु प्रतिबिम्ब पनि यही नै हो।

……..               ………                     ………..

मुनामदनको धरातलमा वसन्त बहार पनि छ, तर त्यो जाँदो वसन्त हो। सुरम्य कन्दराहरूमा, रमणीय पाखा पखेरीमा सिह्लटी सायङ्काल ओर्लिरहेको छ। साँझपख वनको धूमिलतामा कोइलीको मह्लार व्याप्त छ। पश्चिमको रातो क्षितिजमा दोछायामय पक्षीको उडान पनि देखिन्छ तर ती गौँथली पक्षी हुन्, अब यो देश छाडेर अर्कै अज्ञात देशतर्फ उडेर जानलाई आकाशमा भेला भएका।

मानिसको जीवनसँग उसको रोदन कसरी टाँस्सिएको छ, कसरी मानिसको मुस्कान पनि आँखामा छल्कन्छ-देवकोटा राम्ररी बताउन सक्छन्। आँसुले जलथल मानव जीवनमा काँडालाई पनि फूल सम्झनु पर्छ, चहऱ्याइरहेका चोटहरूलाई सुखदायी मलम मानिलिनु पर्छ र रोदनलाई पनि हाँसोका फोहरा छुटेका भनी अघि बढ्दै जानुपर्छ। भन्छन् उनी –

“काँढा कुल्चे फूल फुल्दछन्, आँसु नै मोती हुन्छन्

घाऊ लागे सुख बन्दछन्, रोदनै हास्य बन्दछन्।” (जीवन वन)

आँसुको मसीले लेखिएको मुनामदनको कथाको प्रत्येक पात्र नै रोएको भेटिन्छ। मदनले बाटामा भेटेका भोटे दाइका छोरो फुचा र छोरी लाबा जस्ता कलिला पात्रहरूसमेतका ओभानो आँखा देखिन्न। बाँसुरीको सुमधुर रागलाई गीत भन्ने कि रोदन तर दुई आमा नभएका अनाथ बालक-बालिकाले हामीलाई पनि उनीहरूका अश्रुमय संसारमा लैजान्छन् –

“बाँसुरी मधुर बजाउँथ्यो फुचा रोएर सुन्थे ती

सुरिलो गीत गाउँथी लाबा बरबर बन्थे ती।” (मुनामदन)

देवकोटाद्वारा सृजना गरिएका सबभन्दा हतभागी पात्रा मुनाको त बोली नै आँसु हो। उसका सुन्दर आँखा आँसु खसाल्नलाई बनेका हुन्। उसको आँसुको झिनो स्वर उसको प्रियतमसम्म तर पुग्नै सक्दैन –

“आँसुमा कस्छ मनको टुक्रा यो आँसु बोल्दैन

मनको कुरा मनमै बस्छ, छातीले खोल्दैन।”

देवकोटाको अर्को अभागी पात्र मदनको जीवन पनि आँसुमै चुर्लुम्म डुबेको छ। प्रेमी र प्रेमिकालाई चिन्ने चिनो पनि उनीहरूका आँखाको आँसु नै हो। जलेको मनको चीत्कार उसको अलौकिक प्रेम सन्देश पनि आँसुकै स्याहीले यसरी लेखिएको छ –

“पृथ्वीतिर नहेर मुना ! म पनि आउँछु

आँखामा आँसु लिएर चिनो म भेट्न आउँछु

प्रेमको हिरा छुटेको तल म लिई आउँछु।” (- मुनामदन)

आँसुको समुद्रमा भौँतारी खेल्नबाहेक अर्को विकल्प मानिसलाई छैन। यो संसारमा जन्मेपछि मान्छेले यहाँका विधि-विधानदेखि उम्कन पाउँदैन र विधिको विधान भने बडो निठुर छ। क्रूर छ। मानिसको कमजोर भाग्यमाथि बारम्बार प्रहार गरिरहन्छ। आँखाको सिमसिम पानीले मनको डढेलो निभाउन खोज्दै बाँच्नु पर्छ  यहाँ। देवकोटाको दर्शनमा पनि एउटा सहानुभूति छ मान्छेलाई, सहनै नसके पनि सहनुपर्ने जीवनको खेल छ। उनी भन्छन् – भनौँ नै भने हामी यहाँ आएका हौँ यही दुःख सहन भनी। दुःखको शोधनमा शोधिएर, आँसुकै नदीमा नुहाएर हामी जानुपर्छ मृत्युपारिको वैकुण्ठ धाम –

“सहन भनी जन्मन आयौँस हे बाबू ! सहन

दुःखमा हामी शोधिन आयौँ, दुःखमा रहन

आँसुको खोला नुहाई जान्छौँ वैकण्ठ भवन।” (मुनामदन)

देवकोटाको मान्यता-जीवन र अवसादको अर्को नाउँ हो, यो आँसुको पर्याय हो। के धनीको दुनिया, के निर्धनको संसार, के भिखारी, के दानी, कतै केही साँध सिमाना नतोकी आँखाको पानीले जीवन सर्वत्र जलमग्न छ, त्यहीँ पुगेर हामी संवेदनशील प्राणी एकाम्य छौँ । ईस्वरको अभिशाप अथवा भनौँ वरदान, यो हामीसँग छ र सायद जीवनको सौन्दर्य पनि गोल गोल अश्रुविन्दुमै प्रतिबिम्बित छ।

मानिस यस धरतीमा जन्म लिएर आउँछ। दिन, महिना, वर्ष बित्दै जान्छ। अनुहारमा विकृतिका किरिङ, मिरिङ वक्ररेखा कोरिँदै जान्छन्। केशराशिमा सेताम्मे तुषारापात हुँदछ। जीवनलाई दुःखले यसरी चिरा चिरा पार्दै लान्छ, मोहडामा खोपिल्टा पर्दै जान्छ। देवकोटा सम्झन्छन् – यो अनुहारमा परेको खोँच वास्तवमा उसका दुई आँखाबाट बगेको आँसुको खहरेले खनेको हो –

“वर्ष – वर्षका हेर तुषारा

शिरको उप गिरेका !

हेर आँसुका खहरेहरूका

मुखमा खोँच परेका

दिन दिनले त्यो छातीमाथि

चिरा चरक्क चिरेका ! (भिखारी)

कविले रचना गरेका सुन्दर सुन्दर कवितालाई सुन्दर फूलसँग तुलना गर्न सकिन्छ भन्ने विश्वास देवकोटाको छ। प्राकृतिक फूल फुल्नलाई जसरी मलजल हावा पानी र सूर्यकिरणको संयुक्त समन्वयन हुँदछ, उसरी नै कविता फूल फुल्नलाई पनि कविले आँसुले सिँचन गरेको हुन्छ, तब त्यो कविताले दिव्यताको सुगन्ध बोकेको हुन्छ, जीवनलाई सौरभसम्पन्न बनाउँछ।

“काँढामाथि सिहरी चल्छन्

आँसुहरूका रसले फुल्छन्

दिव्य हाँसी कविता फूल।” (माली)

सरल ग्रामाञ्चलका सरलता र सौन्दर्यमाझ मनको दुःखी संसार त अपरिहार्य छँदैछ। मानिस जहाँ भए पनि, जो नै भए पनि, बाल वृद्ध-वनिता जस्तै भए पनि रोदन उसको साथ रहिरहन्छ। देवकोटाको काव्य सृजना लूनीको एक पङ्क्ति-

“क्यान आज लूनी रानी

हेलम्बूकी बात झैँ

खोजी हिँड्छ्यौ रुनलाई

एकान्तको थल झैँ ।” (लूनी)

कृषिबालामा उसरी नै प्रियले भुल्दा अथवा प्रियको सम्झना आउँदा आँखामा आँसु छल्केर आएको अनि ग्राम्य सरलताको अनुत्तरित प्रश्न यस्तो छ –

“संचै छ ता बोलिदेन

बोल्दैन यो किरण केन

आँखा क्यान जाली भाको

क्यान थोपा धर्न आको

के यो सम्झ्यो यल्ले लहै

यस्तो खुलेसीमा।” (कृषिबाला)

जीवन अन्त्यहीन आवागमनको विचित्र खेल हो। जलद्वारा निर्मित बादल झैँ जीवन पनि जलमय छ, जञ्जालमय छ। यो बुझेर बुझिनसक्नु जीवनमा आँसुको रहस्यमय नाटक चल्छ। यहाँ यस रङ्गशालामा प्रवेश पनि रोदनमा हुन्छ र प्रस्थान पनि रोदनमै। पर्दा खस्दा थाहा लाग्छ आँसुको सागरमा गरिएको एक स्नानसम्मै रहेछ जीवन भनेर –

“आयौँ रोदनमा, जान्छौँ रोदनमा

जलको बादल जीवन-जाल

वरफ गमनमा, अनल पतनमा

स्नान स्नान हो जगको चाल।” (एक वियोगी पिताप्रति)

गाइनेको ऱ्याइँ ऱ्याइँमा अन्तर्मनको रोदन झङ्कृत भएको सायद प्रथमचोटि देवकोटाले नै देखे। घर-घर, आँगन-आँगन डुली डुली गीत गाएर गन्धर्व धर्म निर्वाह गर्ने गरिब गाइनेको गीत दुनियालाई मनोपञ्जन गराउने सुखद गीत कहाँ हो रहेछ र ? त्यो त कम्पित मनको तारमा रोदन मिसेको जीवन सङ्गीत पो रहेछ त ! देवकोटाका गीत पनि यसरी हिक्काहरूले खतिएका छन् –

“सागर झरी छाति चिरी

पहाड़बाट आएँ

तीनतारे सारङ्गी लिई

छिनभर गीत गाएँ।

००००

शिशु बैंसे बूढ़ा झुल्छन्

मेरो सरल गाना

मुठी मुठी भरी ल्याएँ

आँसु जस्ता दाना।” (गाइने)

देवकोटाले बुझ्न खोजेर बुझ्न नसकेको जीवन सुदूर शून्य आकाशमा देख्न सकिने चराका धूमिल धूमिल दोछायाजस्तो छ। एउटा रनभुल्लजस्तो, कतै भ्रम भ्रान्तिजस्तो, कस्तो कस्तो एउटा विचित्रको स्थितिमा परेको पथभ्रान्त पथिकजस्तो छ। यस्तो जटिल जीवनको कथा-व्यथा यति सरल भाषामा यसरी भनेर हामी पाठक सबैलाई देवकोटाले आश्चर्यचकित तुल्याएका छन् –

“मुटुकी चरी छायाले डरी भटभटी भुर्भुरी,

उड़ूँ कि बसूँ सरी छ जीवन हाँगामा फर्फरी।” (मुनामदन)

देवकोटाको जीवन दर्शन, जीवनमा आइपर्ने अवश्यम्भावी दुर्दिन, यसको क्षणभुङ्गुर चरित्र र अटल एवं अपरिहार्य अन्त्यको तिक्त यथार्थमा अडेसिएको छ। कविको दर्शनमा निराशावादको बादल छाएको होइन, तर जीवनको गरिमामय किरणको झल्का ओतप्रोत छ, मानिसकोअस्तित्ववादी सङ्घर्षको गाथा गुँथिएको छ अनि जीवनको चिर सत्यलाईआत्मसात गर्दै अन्तिम पर्दा खस्न अघिसम्म यस विचित्र नाटकमा अभिनय गर्दै जाने स्वर समाहित छ –

“गुलाफ जरा छन् चिहान घुसेका

ज्योति सब छन् छायादार,

योग वियोगको नृत्य भूमि यो

जन्म लक्ष्य नै मृत्यु किनार !

यसरी कवि लक्ष्मीप्रसाद देवकोटाका काव्यकृतिका विशाल भण्डारमा यस्ता असङ्ख्य कविता लहर छन्, जहाँ गोल गोल अश्रुविन्दु अल्झेका छन्, मोतीदाना भएर। जीवनको हरेक सुखदुःखमा साथ नछोड्ने यी आँसुका दाना मोतीदाना जीवनको अन्तिम अध्यायसम्म पनि मानिसका आँखामा झरी बनेर बर्षिरहेको हुन्छ यसरी –

जपमालाको आखिर भरमा

धरमर पयर जराको कम्पन,

आँसुभरि नजर निमीलन

विचित्र नै छस् है जीवन ! (जीवन)

देवकोटाको यस्तो अत्यन्त सौन्दर्यमयी मनोहारी कव्यलोक आँखाबाट झरेका झरीले जलथल छ सदा र नै काव्यिक गरिमाको शिखर छुन पुगेको छ, जीवनको सदृश उभेको छ।

नागरीफार्म, दर्जिलिङ।

(नोटः साहित्यकार अर्जुन प्रधानले यो लेख मृत्युका एक दिन अघि लेख्नु भएको हो। शब्द समयको एकाइले १२ नोभेम्बरका दिन सालबारीको गोम्देन टि बारमा रहेको सविता गोम्देन साहित्य कक्षमा आयोजन गरेको देवकोटा जयन्तीका लागि साहित्यकार प्रधानले यो लेख तयार गर्नुभएको थियो। तर त्यसैदिन स्वास्थ्यमा समस्या देखिएपछि यो लेख कार्यक्रममा पठनका लागि त पठाइदिनु भए तर, उहाँ कार्यक्रममा भने आउनै सक्नु भएन। यो लेख प्रथमचोटि दार्जिलिङ टक्सले छापिरहेको छ। दार्जिलिङ टक्स साहित्यकार अर्जुन प्रधानप्रति श्रद्धाञ्जलि अर्पण गर्दछ।)

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here