खरसाङ, ७ दिसम्बरः टिस्टा बाढी विपद नदेख्ने मुख्यमन्त्री ममता ब्यानर्जीले चिया नाटक गरिरहेको आरोप सांसद राजु विष्टले लगाएका छन्।
आज खरसाङको मकैबारीमा चियाकमानमा ढाका सारीमा सजिएर ममताले श्रमिकहरूसँग केही क्षण पत्ती टिपेकी थिइन्, यसैमाथि विष्टले तीखो कटाक्ष गरेकी हुन्।
उनको भनाइ छ– टिस्टा बाढीले धेरै ज्यानमालको क्षति पुऱ्याएको छ। अहिले पनि धेरै बेपत्ता छन्। धेरै विस्थापित बनेका छन्। यति ठुलो विपद बुझ्न समय नपाउने मुख्यमन्त्रीले मकैबारीमा चिया नाटक गरिरहेकी छन्।
विष्टको आरोप छ – राज्य सरकारले टिस्टा बाढीलाई आधिकारिक रूपमा विपद घोषणा नगरेकै कारण विपद् राहत कोष पीडितहरूसम्म पुग्न सकेको छैन।
अर्कोतर्फ, मुख्यमन्त्रीले एकजना पर्यटक जस्तै भएर चियाबारीमा रमाइलो गरे विपरीत श्रमिकहरूका जीवन बिघ्नै कष्टप्रद रहेको पनि सांसदले बताएका छन्।
यसरी रमाइलो गर्नका सट्टा संसदले अघिबाटै पारित गरिसकेका चार नयाँ श्रम संहिता लागू गरी चियाश्रमिकहरूका जीवनस्तर माथि उचाल्न ध्यान दिनुपर्ने पनि सांसदको सुझाउ छ।