कवि नोर्जाङ र गायक पेमालाई गिरी पुरस्कार

0
872

दार्जिलिङ, १९ दिसम्बरः  गोर्खाल्यान्ड क्षेत्रीय प्रशासनको सूचना एवं सांस्कृति विभागले प्रतिवर्ष साहित्य र सङ्गीत विधामा दिने गिरी पुरस्कार यस वर्ष कवि नोर्जाङ स्याङ्देन र गायक पेमा लामालाई प्रदान गरिने भएको छ।

यो पुरस्कार आगामी २७ दिसम्बरका दिन गिरी जयन्तीको अवसरमा एक कार्यक्रमबिच अर्पण गरिनेछ।

दुवै विधामा पुरस्कार राशि नगद एक लाख रहेको छ।

आज जीटीएका विभागीय सभासद् अनोश थापाले पत्रकार सम्मेलन आयोजन गरी यस वर्षको गिरी पुरस्कारको घोषणा गरेका हुन्।

उल्लेखनीय छ, तेस्रो आयामपछि सत्तरको दशक शुरूमा नेपाली साहित्यमा प्रभावशाली रूपमा उदाएका कवि नोर्जाङ स्याङ्देनका मूर्च्छना, कविताजस्तै कविता, राग रन्थरुमा गरी तीनवटा कविता र तिमी छौ किन जिन्दगी गजल सङ्ग्रह प्रकाशित छन्।

नोर्जाङ स्याङ्देन भारतेली नेपाली कविता साहित्यमा ट्रेन्ड सेटर कविका रूपमा चर्चित छन्।

अर्कोतर्फ, गायक पेमा लामा, नेपाली सङ्गीत जगतका चर्चित गायक हुन्। उनको गायन यात्राले पचास वर्ष नाघिसकेको छ।

चियाबारीको डिलैडिल चिया टिप्ने टिठीलाई, बाँच्न जानिनँ कि बचाउन जानिनँ लगायत दर्जनौँ चर्चित गीतका गायक पेमा लामाका आठवटा गीति एल्बम बजारमा आइसकेका छन्।

उनका धेरै गीत रेडियो नेपाल, आकाशवाणी खरसाङमा पनि रेकर्डिङ भइसकेका छन्। साथै गायक लामाले चलचित्रका गीतमा पनि स्वर दिएका छन्। उनले अहिलेसम्म तीनसय भन्दा बढी गीत गाइसकेका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here