सिलगढी, ५ जनवरीः गोर्खा जातिका छुटेका जातगोष्ठीमध्ये केवल चार जातगोष्ठीलाई जनजाति बनाएर छैटौँ अनुसूची लागू गर्ने षड्यन्त्रको गन्धबारे औँल्याएका छन्।
आज आफ्नो आधिकारिक फेसबुक अकाउन्टमा एक पोस्टमार्फत बजगाइँले यस्तो षड्यन्त्र गन्धबारे जनतालाई सचेत गराएका छन्।
उनले लेखेका छन् – तथाकथित भान्सेहरू दिल्लीको किचनमा भेला भएर ११ मसलामा ४ मसला मात्रै हाल्ने तर्खरमा छन्। यस्तो स्थितिमा उता ६ यता ७ को विभाजन खेल सुरु हुनेछ। यो विभाजनले नस्लीय चरित्र बोकेको अन्तरकलह जन्माउनेछ। त्यस अन्तरकलहमा मसला, तरकारी सबै ढड्ने नै छ, साथसाथै त्यस आगोमा भान्सेसहित किचन पनि भष्म हुनेछ…। अन्तमा क्रम भङ्ग भएपछि कुन चाहिँ अनुसूची रहन्छ? मेरो चेतनाले महाभारतको बर्बरिकले झैँ युद्धभूमिको दृश्य हेरिरहेको छ। फरक यति छ, बर्बरिकको शरीर नष्ट गरिएको थियो, तर मेरो शरीर युद्धभूमिमा नै जिउँदो छ।
विधायक बजगाइँको यो सङ्केत गोरामुमोको छैटौँ अनुसूचीप्रति मोह र मागप्रति हो। केही समययता गोरामुमो पहाडमा छैटौँ अनुसूची लागू गर्नेबारे सक्रिय बनेको छ।
गोरामुमोका केही नेता अहिले दिल्लीमै डेरा हालेर बसेका छन्। उनीहरूको स्पष्ट भनाइ छ – छुट्टै राज्य र केन्द्रशासित प्रदेश हुननसके दार्जिलिङ पहाड छैटौँ अनुसूची लागू गरिनुपर्छ।