इसाबेलको चौथो प्रेमी

0
773

0 खुसेन्द्र राई

PRELUDE

राज कुमार ड्राइभर इसाबेलको एक नम्बर प्रेमी हो ।

तपाईंले अमिताभ बच्चनको लावारिस फिल्म हेर्नु भएको छ भने बुझ्नहुन्छ, राज कुमार त्यही सहरको नालीबाट उब्जेको किरा हो ।

खोलातिर गिटी कुटिहिँड्ने उसकी आमाले खोलामा बालुवा, गिटी, ढुङ्गा ओसार्न आउने ट्रक ड्राइभर वा कुनै हेन्डी ब्वाईको भुँडी बोकी, तर उसको आमालाई कुनै पनि ट्रक ड्राइभर वा हेन्डी ब्वाईले जिम्मा लिएन, कारण उनी जोसुकैसँग सुत्थिन् । फलस्वरुप ऊ नालीको किरा जस्तो लावारिस जन्म्यो ।

अनि खोलाको बगरमा घस्रिँदै, मैलाकुचैलाले पेट भर्दै, दुनियाँको गाली गलौज र कुटाई खाँदै, भोक-बिमारीसँग निहत्था लड्दै, सहरको गन्दे नालीको मैलामा डुबुल्की मार्दै नालीको किराजस्तै हुर्क्यो ।

अलिक ठूलो भएपछि उसले ग्यारेजतिर गाडीको पन्चर बनाउने काम गर्न थाल्यो, मोटर स्ट्यान्डतिर गाडी पुछिहिँड्यो, सानोमै बिँडी तान्यो, रम-रक्सी खायो, गाँजा, भाङधतुरो तान्यो, एन १०-एसपी भन्ने लागूपदार्थ मकैजस्तो चबायो अनि ड्राइभरहरुको सङ्गत लागेर त्यतिकै ड्राइभर भयो ।

अनि त्यतिकै उसले घर जान पनि भुल्यो। तर, भन्नु नै हो भने उसलाई रातदिन मातेर उसको आमा र साना बाबु झगडा पर्ने त्यो घरमा जानै मन पर्दैन थियो ।

उसले आफ्नो आमालाई पुरै घृणा गर्थ्यो । उसँग भेट नभई त्यतिकै आमा पोहोर हिउँदमा खसिन् । उ खासै दुःखी भएन  । तर उसले घाटमा गएर आमाको लासलाई आगोले झोसेको चैँ थियो ।

अहिले उसले कैँयाको वेगेनर गाडी ट्याक्सी खेप्छ । टुरिस्ट रिजर्भ लिएर दार्जिलिङ, सिलगढी, डुवर्स, गान्तोक, मङ्गन जता गए पनि रात बिरात फर्केर घर चैं उ आउँछैआउँछ । त्यसरी उ घर वा किरायाको घरमा रात बिरात फर्कनुका कारण चैँ इसाबेल हो ।

दिनभरि गाडी कुदाएर हत्तु भएको राज कुमारले राति ट्याक्सी गाडी इसाबेलको घरमाथि, इसाबेलले चाहिँ भने अलिकति खिड्कीको पर्दा सारेर सहजै देख्न सक्ने,  सडकको डिलमा साइड गरेर राखेर हर्न एकपल्ट टक्क ट्याँ….. पार्छ । त्यसपछि ड्राइभिङ सिटमा बसी बसी उसले आधा बोतल हनी बी रम आधा भएको मिनेरल वाटरको बोतलमा मिसाएर खान थाल्छ ।

उसले आजभोलि लागूऔषध खान चैँ छाडेको छ । उसले फर्वड गरेर पेनड्राइभमा भएको पच्चास नम्बरको मेहदी हसनको पुरानो हिन्दी गीत… जिन्दगी में तो सभी प्यार किया करते है, मैं तो मरकर भी मेरी जान तुझे चाहूंगा…गाडीको डेकमा बजाउँछ । ब्रान्डी खान्दै त्यो गीत उसले तीनपल्ट रिवान्ड गरेर बजाउँछ अनि बत्ती मारेर सुतिसकेकी इसाबेलको अँध्यारो कोठा हेर्दै घर लाग्छ ।

राजकुमारलाई लाग्छ, इसाबेलले त्यो गीत दिनहुँ चुपचाप सुन्छे अनि उसले यो पनि सोच्छ कि ऊ टुहुरोको भावनालाई राम्रोसँग बुझ्ने यो दुनियामा इसाबेल मात्र छ।

इसाबेलका दुई र तीन नम्बर प्रेमी इसाबेलको घर छेउमै रूम भाडामा लिएर बसेका छन् ।

एकजना हो – रामु विश्व; जो हेर्दा हिन्दी सिनेमाका अभिनेता  नवाजुद्दीन सिद्दिकी जस्तो छ अनि ऊ छेवैको प्राथमिक स्वास्थ्य केन्द्रमा वार्ड ब्वाईको नोकरी गर्छ । हिज बाबुको पालासम्म गाउँ-घरका ठुला जातका विष्टहरूको काँटा कोदाली अर्जापेर दुई छाक खान पनि हम्मे पर्ने उसको परिवारमा यो वार्ड ब्वाईको नोकरीले अलिकति भए पनि खुसीको किरण छरिदिएको छ ।

त्यही खुसीको बलमा उसले आफ्नो सन्तान दर सन्तानले कहिल्यै गर्न नसकेको प्रेम इसाबेललाई एकतर्फी भए पनि गर्ने आँट बटुल्न सकेको छ ।

रामु विश्व पढ्नमा तेज थियो तर बाबुको असामयिक मृत्युपछि उसले माध्यमिकदेखि उँभो पढ्न सकेन,  तर, उनीहरूको खानदानमा ऊ नै पहिलो माध्यमिक पास केटो हो ।

बाबुको मृत्युपछि स्थानीय विधायकको सिफारिसले त्यो उनीहरूको खानदानमा पहिलो दस क्लास पास रामु विश्वले वार्ड ब्वाईको नोकरी पाएको थियो । अनि उनीहरूको खानदानमा सरकारी नोकरी गर्ने पनि ऊ नै पहिलो व्यक्ति थियो ।

अर्का तिलकसिंग राई विद्धुत् विभागमा लाइनम्यान छ, जुन काम उसले आफ्नो लाइनम्यान बाबु डम्बरसिंह राई गाउँमै बिजुली बनाउँदै गर्दा करेन्ट लागेर मरेपछि बद्लीमा पाएको हो ।

बाबु करेन्ट लागेर नमर्नु हो भने पाँच क्लास फेल ऊ गाउँको युरिया लगाएको रक्सी खाएर बाबुभन्दा कहिले अघि नै मरिसकेको हुन्थ्यो ।

नोकरी पाएपछि उसले कम रक्सी खान थालेको छ । झन् इसाबेलको प्रेममा परेपछि त रक्सी खान चटक्क छाड्ने अनि इसाबेलकै मण्डलीको विश्वासी हुने भनेर गाउँको मूलघरमा यसपालिदेखि कूलपूजा गर्न पनि छाडेको छ । जिन्दगीबारे मज्जाको प्लान छ, उसको दिमागमा, तर उसलाई आफ्नो थेप्चे नाक र चार फुट हाइटदेखि बहुतै चिड छ ।

उनीहरू तीनैजनाले जतिसक्दो इसाबेलको नजिक हुने बहाना खोजिहिँड्छन् । राज कुमारले इसाबेललाई बजारबाट सब्जी लिएर फर्किँदै गरेकी भेटे गाडीमा चढाएर घरसम्म सित्थैमा ल्याइदिने गर्छ । उसको आमा बाबालाई पनि कतै भेटे सित्थैमा गाडीमा लिफ्ट दिने गर्छ।

इसाबेलका परिवारले बिजुली बत्ती बिग्रे तिलकसिंगलाई कल गर्नेगर्छ । त्यसैले ऊ पनि उनीहरूको कल पर्खेर बस्नेगर्छ । अरू मान्छेहरूका बाट दुईचार सय नउठाई काम नगर्ने उसले तर इसाबेलको घरमा फ्रिमा काम गर्छ । रातबिरात वा जस्तै मौसममा पनि इसाबेलको घरबाट कल आए, उसले हाजिरी दिन्छैदिन्छ ।

उता रामुको सेवा गर्ने मौका विरलै आउँछ । घरमा रातितिर कोही बिमार भए उसलाई ज्वरो, पखाला वा भुँडी दुःखे दवाई माग्न आउँछन् । उ दवाईको बट्टा बोकेर डाक्टर जस्तो हाजिर हुन्छ । त्यसैले ऊ पनि पारासिटमल, एस्प्रिन, लोमोटिल, ब्रुफिन, निउस्प्रिन, आयोडक्स स्प्रे, रूई, डिटोल आदि-इत्यादि दवाई बट्टामा राखेर बस्ने गर्छ ।

अहिलेसम्म उसले दुई-चारचोटि मात्र इसाबेलको परिवारको सेवा गर्नु पाए पनि मौका पाएको बेला उसले अस्पतालबाट फोकटमा ल्याएका दवाईहरू उनीहरूलाई मनग्गे दिएर आउने गरेको छ ।

तर अब यहाँ कथाले अर्कै मोड लिइसकेको तीनैजनाले थाहा पाउन सकेका छैनन् । सम्भवतः थाह पनि पाउने छैनन् । म पनि यो कुरा उनीहरूलाई बताउने छुइनँ ।

इसाबेल विनयको प्रेममा परिसकेकी छे । प्रेममा परेकी मात्र हैन, विनयले इसाबेललाई प्रेगनेन्ट बनाएको छ । इसाबेलका एक, दुई अनि तीन नम्बरका दिवानाहरूले इसाबेलको मन जित्न अनेक जुक्ति खियाइरहेका बेला इसाबेलले भने विनयलाई म्यासेन्जरमा यो टेक्स गरेकी छे -…जिन्दगीभर नबोलूँ भन्थेँ तर तपाईं अघि झुक्नु बाध्य भएँ । तपाईंदेखि टाढा हुनलाई नै मैले मोबाइल, फेसबुक, वाट्सएप, म्यासेन्जरमा तपाईंलाई ब्लक गरेकी थिएँ । तर आज यसरी म मेरो कसम तोड्न बाध्य भएँ । यसको तपाईं अनि केवल तपाईं उत्तरदायी हुनुहुन्छ । मलाई तपाईंको अनपेक्षित व्यवहारले गहिरो चोट लागेको छ । म तपाईंकै कारण आफ्नो नजरबाट गिरेँ, अब मामा-पापाको अनि समाजको नजरबाट पनि गिर्न लागेकी छु । मैले कुकर्म गरेँ । हैन, तपाईंले मलाई त्यो कुकर्म गर्न बाध्य गर्नुभयो । मैले तपाईंलाई चोखो मनले प्रेम गरेकी थिएँ । म तपाईंलाई मेरो चोखो शरीर बिहेपछि मात्र समर्पण गर्न चाहेकी थिएँ तर तपाईंले लुछेर प्राप्त गर्नुभयो | तपाईंले मलाई बलात्कार गर्नुभयो । मैले तपाईंलाई प्रेम गर्नुको मूल्य महँगो चुकाउन पऱ्यो  तर मैले तपाईंलाई साँचो प्रेम गरेको थिएँ, जुन कुरो तपाईंले बुझ्नसक्नु भएन । तपाईले मेरो प्रेमलाई बजारू सम्झनु भयो । तपाईसँग प्रेमको अर्कै मूल्य, मान्यता, अर्थ थिएछ, जो मलाई थाह थिएन अनि स्वीकार्य पनि थिएन, तर ती सब भुलेर म अब तपाईंसँग बिहे गर्न बाध्य बनेकी छु । भनुँ, मैले जिन्दगीसँग सम्झौता गरेकी छु । अब आफ्नो प्रेमको, कमिट्मेन्टको सच्चाई प्रमाणित गर्ने अभिभारा तपाईंको !

I am pregnant.

इसाबेलले अनलाइन विनयलाई म्यासेन्जरमा टेक्स गरी ।

दुई महिनापछि इसाबेल ऊसँग बोलेकी हो । बोलेकी के भन्नु उसले म्यासेज गरेकी हो । यसभन्दा अघि मोबाइल, म्यासेन्जर, वाट्सएप, फेसबुक सबमा उसलाई ब्लक गरेकी थिई । उसले हतार हतार म्यासेज पढ्यो । पढेर विनय तर्सेर उठ्यो, मुटु ढक्क भयो, केही नसुझेर बाहिर टेरेसमा निस्केर गोजीबाट सिगरेट निकालेर सल्कायो । सिगरेट सल्काउँदा हात काँपेको थियो । दुइटा तिली भाँच्यो, तेस्रो तिली बल्लबल्ल जल्यो । सिगरेटको छिट्छिटो दुई-चार कस तानेपछि उसले डराई डराई त्यो घटना सम्झ्यो ।

FLASHBACK 1 : BINAY AND LOVE

त्यसदिन घरमा कोही पनि थिएन । उसले इसाबेललाई कल गरेर बोलायो । ऊ पलङ्गमा लडेर सिगरेट तान्दै थियो । इसाबेल आएकी थिई । इसाबेलले विनयलाई प्रेम गर्थी, त्यसैले घरमा कोही होस् नहोस् निसङ्कोच आउजाउ गर्ने गर्थी ।

“किन बोलाउनु भयो ?” इसाबेलले सोधी ।

उसले इसाबेललाई पछाडिबाट च्याप्प अँगालेर भन्यो– “बोलाउनु हुँदैन ?”

“हुन्छ ।” उसलाई घचेटेर अँगालोबाट मुक्त भएर कुनाको चौकीमा बस्दै इसाबेलले भनेकी थिई।

तर अहिलेसम्म इसाबेलले विनयको इन्टेन्सन बुझ्न सकेकी थिएन ।

“बसन ।” उसले इसाबेललाई अँगालो हालेर भित्तामा टँसाएर कलिलो ओंठमा जबर्जस्ती ‘किस’ खाएको थियो ।

“छाड्नुहोस् ! के भाको तपाईं ?” उसको अँगालोबाट मुक्त हुने कोशिश गर्दै इसाबेलले भनी ।

“I love you Isabel.” भनेर ऊ अझ हिस्रक बनेको थियो ।

इसाबेलले अनेक कोशिश गरेकी थिई, तर विनयको बलिष्ठ अँगालोबाट फुत्कन सकेकी थिएन ।

आफ्नो हवस शान्त भएपछि उसले देख्यो इसाबेल आँखामा आँसु टिलपिल झार्दै मात्र कुर्तामा पलङ्गको एक कुनामा डल्लो परेर काँप्दै बसेकी थिई ।

ऊ पलङ्गको छेउमा उभेको थियो । उसले के अनर्थ गऱ्यो बुझ्न नसकेर टोह्लाइरहेको थियो । यस्तो बेला के भन्नुपर्ने हो उसको मनले केही पनि सुझाउन सकेको थिएन ।

केहीक्षणपछि इसाबेलले दुई हातले आँसु पुछेकी थिई, भुइँबाट खोजेर सलवार लगाएकी थिई, केश हातले मिलाएकी थिई अनि चुपचाप गएकी थिई ।

उसले दुईवटा सिगरेट लगातार चुसेपछि केही सम्हालिन खोज्दै सोहोरिएर एक कुनामा थुप्रेको बेड सिट मिलाउन चाहेको थियो ।

त्यतिबेला मात्र उसले आलो खुनको दुई थोपा च्यादरको मध्य भागमा चुहेको देखेको थियो । त्यो देखेर उसको मन धप्प भएको थियो । उसलाई इसाबेलप्रति असीम प्रेम, दया, टीठ, अनुकम्पा के, केहरू एकैचोटि उर्लेर आएको थियो ।

ऊ विक्षिप्त बनेको थियो । उसलाई आफूले अक्षम्य अपराध गरेको थाहा भएको थियो । ऊ पलङ्गको एक छेउमा घोप्टेर साँच्चै रोएको थियो ।

त्यसपछि इसाबेलले विनयलाई सामाजिक सञ्जाल फेसबुक, वाट्सएप, म्यासेन्जर अनि मोबाइल सबैमा ब्लक गरेकी थिई । इसाबेलले माध्यमिक पास गरिसकेकी कारण ट्युसन आउन बन्द गरिसकेकी थिई। झन् अब यो घटनापछि आउने कुरै भएन ।

उसले इसाबेलसँग माफ माग्न चाहन्थ्यो, तर कुनै उपाय थिएन । उ इसाबेलसँग एकपल्ट भेटेर स्पष्ट हुनु चाहन्थ्यो तर आत्मग्लानिका कारण नजिक जानसकेको थिएन । उसको छुट्टी पनि सकिएको थियो । इसाबेलसँगको सम्बन्धका तारहरू त्यतिकै ल्याङफ्याङ छाडेर, जोड्न नसकेर वा भनौँ ऊ इसाबेलको नजरसँग नजर मिलाउन नसकेर चेन्नई महानगरी भागेको थियो ।

विनयको पिता पढेलेखेका लेखापाल भए पनि अर्थोडक्स सोचका थिए । पिता चार बजे बिहान उठेर चिसो पानीले नुहाएर पूजा पाठ गर्थे, गायत्री मन्त्र जप्थे । वर्षमा एकपल्ट घरमा पुराण लगाउँथे ।

उसलाई बेला कुबेला सम्झाई रहन्थे – “बिहा आफ्नै जातमा गर्नुपर्छ । अजातसँग बिहा गर्दा कुल बिग्रन्छ । अलिक ध्यान राखेस् ।”

तर उसलाई थाहा थियो, अजातसँग बिहा गर्दैमा हुनेवाला भने खासै केही थिएन । समयमा सबै मिलिहाल्ने हो । तर यस विषयमा पिताभन्दा आमा धेरै लिबरल थिई । उनलाई अजातसँग खासै विरोध थिएन तर उनी बुहारी पढेलेखेकी, लच्छिनकी चाहन्थिन् ।

भन्नु नै हो भने, अधिकारी खानदानमा थुप्रै छोराहरूले नेवारकी छोरी, सुब्बाकी छोरी, लाप्चेकी छोरी बिहेबारी गरिसकेका थिए ।

त्यसैले उसले इसाबेल राईलाई बिहे गर्दैमा त्यस्तो कुनै आकाश खस्नेवाला थिएन तर उसलाई आफ्नो करियर प्यारो थियो । ग्रेज्युएट इन्जिनियर भएपछि नोकरी नगरेर उसले मास्टर गर्दै थियो । मास्टर गरेर ऊ विदेश जान चाहन्थ्यो । उसको पिताको पनि सपना यही थियो । सके उ विदेशमै सेटल पनि हुनचाहन्थ्यो, तर उसको सपनाको बिचमा इसाबेल आएकी थिई ।

उसका सपनाहरूमाझ जिन्दगीमा कहाँनेर इसाबेल फिट हुन्छ उसले बुझ्न सकिरहेको थिएन । सायद समयमा समाधान निस्किन्छ होला – उसले सोचेको थियो । हाललाई कुरा थम्थमाएर राख्नु नै उचित हो भन्ने पनि उसले निर्क्योल निकालेको थियो । उसको रूम मेट सत्य प्रकाश नौटियालले पनि यस्तै कुरा भनेका थिए ।

उसले इसाबेललाई टेक्स गऱ्यो – ‘इसाबेल, please मलाई भुल नसम्झिदिनु…नानी हामीले बादमा प्लान गर्दा हुँदैन ?’

उसले धेरै बेरसम्म कुनै जवाब लेखिन ।

‘किन ?’ छोटो उत्तर आयो ।

‘मेरो पढाइ सकेको छैन । मेरो करियरको सवाल छ । अहिले नै म बाबु बन्न तयार छुइनँ । पढी सकेर मेरो करियर बनेपछि मज्जाले बिहा गरौँला । अहिले बिहा गर्यौं भने हामीले दुःख पाउँछौँ, हाम्रो नानीले दुःख पाउँछ । फेरि पढ्दापढ्दै बिहा गरेँ भने घरकाले पनि स्विकार्ने होइन । तिमीले कुरा बुझ ।’

‘मेरो एडहग–मा नोकरी हुनलागेको छ । म नोकरी गरेर नानीलाई पाल्छु । तपाई पढेर आउनुहोस् ।’ इसाबेलले खरखर लेखी ।

‘त्यो पाँच-छ हजारको नोकरीले के हुन्छ ? यस्तो महँगो जमानामा नानीलाई पाल्छौ कि, आफुलाई पाल्छौ कि, कि घर किराया तिर्छौ ?’ उत्तेजित भएर उसले लेख्यो ।

‘बिहा गर्ने इच्छा छैन भन्नु नि बरू डाइरेक्ट !’ इसाबेलले रिसाएर लेखी ।

‘त्यसो भनेको हैन लाटी ।… तिम्रो पनि त आमा हुने यो उमेर हैन । कति पुग्यौ ? अठार हैन ? कुरा बुझन तिमी !’ उसले नरम भएर लेख्यो ।

‘त्यसो भए, तपाईंलाई प्रेमभन्दा आफ्नो करियर, घर-परिवार प्यारो छ । प्रेम त तपाईंले सेक्सका लागि मात्र गरेको थियो हैन ! तपाईंको इच्छा पूरा भयो, अब म घाँडो भएँ हैन ?’ उसले मर्ममा हानेर लेखी ।

ऊ मर्माहत भयो । उसले तत्कालै जवाब लेख्न सकेन । तर उसको सचेत मनले इसाबेलको आरोपलाई अस्वीकार गरिहाल्न पनि सकेन ।

उसको चुपचापलाई उछिनेर इसाबेलले प्रश्न लेखी – ‘मैले के गर्नुपर्ने ?’

‘एबोर्सन गर ।’

दुवै मौन ।

‘यो तपाईंको अन्तिम निर्णय हो ?’

ऊ मौन ।

‘ठिक छ । त्यस्तै होस् ।…बाई !’

Flash Back 2 : Isabell and Love

इसाबेल र विनय छिमेकी थिए । विनयको बडेमानको पाँचतल्ले बिल्डिङ सहरको राजमार्गको माथि थियो । उनीहरूको सिलगढीमा पनि ठुलो फ्ल्याट थियो । महँगो एसयुभि गाडी थियो । मोटो ब्याङ्क ब्यालेन्स थियो । इसाबेलको एकतल्ले बिस बाई बिसको सानो बिल्डिङ विनयको घरदेखि पाँच सौ फुट माथि थियो । विनयको पिता लेखापाल थिए, जबकि इसाबेलको बाबु जिल्लापाल अफिसमा पिउन थिए । इसाबेलको परिवार येशुको साँचो भक्त थिए । आइतबार नबिराई सपरिवार चर्च जान्थे । झन् इसाबेललाई प्रभुमाथि अटुट विश्वास थियो ।

विनय र इसाबेल छिमेकी भएका नाताले सानैदेखि एकाअर्कालाई चिन्थे । उनीहरूको कोहीबेला बाटातिर भेट्दा छोटो अनपौचारिक गफसफ पनि हुन्थ्यो ।

खासमा विनयको इसाबेलले फाइनल परीक्षा दिनु लाग्दाखेरिदेखि औपचारिक परिचय भएको थियो ।

त्यससमय इसाबेल स्थानीय सरकारी स्कुलमा पढ्दैथिई, जबकि विनय दार्जिलिङको विख्यात अङ्ग्रेजी स्कुलमा पढिसकेर चेन्नईमा इन्जिनियरिङ पढ्न गएको थियो ।

विनयले ग्रेजुएट इन्जिनियरको फाइनल परीक्षा दिएर घरमा आएका समय साथीहरूको लहैलहैमा लागेर ऊ पनि म्याथको ट्युसन पढ्न गएकी थिई । विनयले ध्यान दिएर सबैलाई पढाउँथ्यो, तर बिस्तार बिस्तारै इसाबेलमाथि ज्यादा ध्यान दिनथाल्यो ।

ऊ इसाबेलप्रति साँच्चिकै आकर्षित भएको थियो र यसको छनक मौका मिल्नसाथ दिनेगर्थ्यो पनि, तर इसाबेल निर्विकार, निष्फिक्री बसिरहन्थी।

उसको अबोध हाउभाउले विनय अधीर भएर के गरूँ, कसो गरूँ हुन्थ्यो ; तर मुखले भन्ने उमा आँट आएन । उसले वाट्सएपमा गुड मर्निङ, गुड इभिनिङ, गुड नाइट आदि म्यासेज पठाउँदा प्रेमको प्रतीक बोकेका स्टिकरहरू पठाउँथे तर इसाबेलले वास्ता गर्दैन थिई ।

उसले बिनाबिच्चामा पनि कल गरिरहन्थ्यो, जसलाई इसाबेलले बडो धैर्यको साथ रिसिभ गर्थी, तर उसले आशा गरेबमोजिम फाल्तु कुरा गर्दिन थिई ।

केही उपाय नलागेपछि उसले साथीहरूसँग होटेलबाट बियर खाएर आएको रात वाट्सएप गऱ्यो – ‘I love you.’

भरैभरै इसाबेलले सोधी – ‘साँच्ची ?’

उसले उत्साहित भएर फटाफट उत्तर लेख्यो – ‘Really. कस्सम ।‘

‘बित्थामा कसम नखानुस् है, तोड्दा पिरोल्ला नि पछि !’ उसले लेखी ।

‘बरू म मर्छु कस्सम तोड्दिनँ ।‘

‘केटीजस्तो मर्ने कुरा किन गर्नुभाको ?’

‘तिमीलाई कसरी विश्वास दिलाउनु अनि ?’

‘Sing the song that only you can sing, write the book that only you can write, built the product that only you can build…live the life that only you can live.’ कतै पढेको कोटेसन इसाबेलले लेखेकी थिई ।

‘Love recognizes no barrier.’ उसले पनि गुगलमा खोजेर प्रेमबारे कोटेसन पठाएको थियो ।

इसाबेल मौन भई ।

‘I really love you and I mean it.’ इसाबेल चुपचाप बसेपछि उसले लेखेको थियो ।

‘हाम्रो बिचमा कति obstacles छ…’

उसले इसाबेलको वाक्य पूरा हुन नपाई लेखेको थियो – ‘twenty first century को postmodern युगमा, globalization को जमानामा, यो जातपात, ठुलोसानो, गारिब-धनीको कुनै अर्थ छैन । आज सबै जातले अन्तर्जातीयदेखि अन्तर्राष्ट्रिय विवाह गरिरहेछ । त्यसैले मान्छेले आफ्नो कर्मका कारण जात, धर्म गुमाइसकेका छन् । फेरि, म यस्ता वाहियात कुराहरू मान्दिनँ पनि ।’

‘सक्नु हुन्छ के घरमै लडाइँ लड्न ?’ उसले शङ्का पोखेकी थिई ।

‘तिमी Yes मात्रै भन न, म संसारसँग लड्न तयार छु ।’ उसले मातको सुरमा हाँक दिएको थियो ।

‘I love you too भन न !’

‘भनन !’

‘I love you too.’ इसाबेलले अन्तमा लेखेकी थिई ।

यसरी इसाबेल र विनयबिच प्रेमको सुरुआत दुई वर्षअघि भएको थियो ।

INTERLUDE:

त्यो अन्तिम म्यासेन्जरमा ‘बाई’ लेखेपछि पुनः इसाबेलले उसलाई, फेसबुकमा अनफ्रेन्ड गरी, फोनमा, वाट्सएप र म्यासेन्जरमा ब्लक गरी ।

विनयलाई तत्काललाई एउटा समस्यादेखि मुक्ति मिलेकोमा खुसी पनि लाग्यो । उसले यो पनि सोच्यो कि एक-दुई दिन ठण्डा दिमागले इसाबेलले सोच्ने छ अनि सबैकुरा ठिकठाक भई हाल्नेछ । उसलाई समय पनि चाहिएको थियो । समय यसकारण चाहिएको थियो कि इसाबेलसँगको आफ्नो सम्बन्धलाई कुन तार्किक निष्कर्षमा टुङ्गाउनुपर्ने हो, उसले पुनर्विचार गर्न चाहन्थ्यो । ऊ आफ्नो निर्णयसँग आफै आश्वस्त थिएन ।

उ पढाइ, परीक्षा, साथीहरूसँग घुमघाममा व्यस्त रहेका कारण समर-भ्याकेसनमा घरमा पनि आएन । यसै बिच इसाबेलको याद नआएको पनि होइन, तर फेरि त्यही बिहेको कुरा झिकेर दिक्क लाउँछ होला भनेर उसलाई हालमा टाढाटाढै रहेको उचित लागेको थियो । त्यसेले उसले इसाबेलबारे बेसी खोजखबर पनि लिएन ।

ऊ परीक्षा सकेर एकैचोटि आठ महिनापछि हिउँदे विदामा घरमा आयो ।

विनय घरको बरण्डामा बसिरहेको थियो । इसाबेलको घरको तेर्सोबाट निस्केर एउटी केटी नानी बोकेर उसको घरको ओह्रालो झरी । उसले को रहिछे भनेर हेरिरह्यो ।

उसको घरमाथि आइपुग्दा लाग्यो, त्यो केटी इसाबेल हो । त्यो केटीले उसको घर छेउमा उभेर कसैलाई पर्खेजस्तो उकालो फर्केर हेरी । इसाबेल नै रहिछे । उसको छाती ढक्क भयो ।

‘इसाबेल !’ बोलाएर तल आँगनमा झऱ्यो ऊ ।

‘कसको नानी बोकेको ?’ तल झरेर इसाबेलको छेउमा उभ्भेर उसले सोध्यो ।

‘मेरो ।’ उसले भनी ।

‘तिम्रो ?…नढाँटन !’ उसले भन्यो ।

‘मेरै हो ।’ नानीलाई चुम्मा खाएर इसाबेलले भनी ।

उ निरुत्तर भयो ।

‘उसको बाबु उमाथि आउँदैछ ।’ उसले उभो हेरेर भनी ।

उसले देख्यो – माथि होँचो कदको भुँडी पुटुक्क फुलिएको मरद दुइटै हातमा ब्याग बोकेर आउँदै थियो ।

त्यो मरद आइपुग्नु भन्दाअघि नै केही नभनी इसाबेल गई । उसले उनीहरू गएको हेरिरह्यो ।

‘इसाबेल दिदीको सात महिनामा जन्मेको छोरी कम्ती हेल्दी छैन ! पटक्क रुँदैन, हाँसी मात्र बस्छ ।’ उसको बहिनी विनीताले पछिबाट भनी ।

विनयले उनीहरू गएको हेरिरह्यो । उनीहरू लोग्ने स्वास्नी तल मूल सडकमा भेट भयो । उनीहरू ब्याग भुइँमा राखेर उभिरहे । एकक्षणपछि ट्याक्सी आएर उनीहरूको सामुन्ने रोकियो । इसाबेलले पतिलाई नानी समाउन दिएर पहिला फ्रन्ट सिटमा चढी अनि नानी इसाबेललाई दिएर पति पछाडि सिटमा चढ्यो । गाडी गइसकेर पनि धेरैबेरसम्म विनय अलमल गरेर आँगनमा बसिरह्यो ।

विनय छुट्टी सकेर कलेज फर्क्यो । एकरात सपनीमा नै ‘इसाबेल…इसाबेल…।‘ भन्दै विनय चिच्चाउन थाल्यो । होस्टेलका सबै साथीहरूले झकझकाए, पानी छम्के । ऊ जोडजोडले रुन थाल्यो । साथीहरूले उसलाई अस्पताल पुऱ्याए । डाक्टरले इन्जेक्सन लगाएपछि केही स्थिर भएर उसले भन्यो – ‘Do you know Doctor I am married  ?’

‘yes.’ डाक्टरले सहानुभूतिसँग भन्यो ।

‘My wife is very beautiful. Her name is Isabel.’

‘Yes.’ भनेर डाक्टर गयो ।

विनय पुरै पागल भइहालेको छैन । बेलाबेला उसलाई दौरा पर्छ अनि ऊ ‘इसाबेल…इसाबेल…’ भनेर चिच्चाउने गर्छ । आजकल उसलाई दौरा पर्दा साथीहरूले निन्दाखोजी गर्न छाडेका छन् । रूम मेट सत्यप्रकाश नौटियालले मात्र उसको यो अवस्थालाई बुझेर सहानुभूति गर्छ । ऊ भरैभरै आफै ठिक हुनेगर्छ ।

EPILOGUE:

त्यो घटनापछि इसाबेलका ती तीनजना प्रेमीको अवस्था कस्तो भयो होला !

तपाईंहरूलाई पनि जान्ने उत्सुकता होला !

तर मलाई केही पनि थाहा छैन । मैले पनि त्यो घटनापछि त्यहाँ बस्न छाडेँ । यति हो, त्यो राज कुमारलाई कहिलेकाहीँ नीलो वेगेनर गाडीमा हानिएर ठुलो भल्युममा मेहदी हसनको ‘जिन्दगी में तो सभी प्यार करते है’ फिल्मी गीत बजाउँदै कतै गइरेहेको देख्छु ।

तिलकसिंग राई लाइनम्यानलाई बजारतिर बिजुलीको पोलमा चढेर मरम्मती गरिरहेको अवस्थामा देख्छु ।

अस्पताल जाँदा वार्ड ब्वाई रामु विश्व, व्यस्त भएर यताउता दौडिरहेको हुन्छ ।

तर सबै कथा बितेर गएपछि अन्तमा बाँच्ने भनेको समय मात्र रहेछ अनि हरेक कथा समयको कथा मात्र रहेछ ।

म पनि इसाबेलका प्रेमीहरूको माझमा एउटा प्रेमी थिएँ । यो कथामा म कतै जिकिर भइनँ, तर पनि म कथामा यसरी घोलिएर बसेको थिएँ जस्तो पानीमा नुन ।

मेरो प्रेम समयको गुमनाम पातामा लेखेको कथा भयो, तर प्रत्यक्ष रूपमा मेरो प्रेम कथाको अस्तित्व कतै दृष्टिगोचर नभए पनि यो कुरा वायुमण्डलको सूक्ष्म तरङ्गमा सुरक्षित भएर बसेको होला । अनि, कुनै दिन विज्ञानले वायुमण्डल मन्थन गरेर पुनर्निर्माण गर्न सक्यो भने म पनि इसाबेलको चौथो नम्बरको प्रेमी थिएँ भन्ने सत्य उजागर हुन्छ होला ।

हाललाई सबै सत्य भविष्यको गर्भमै रह्यो, तर इसाबेल गएपछि मेरो सपनाको संसारको पनि अन्त भयो । अनि जब मान्छेको सपना तोडिन्छ वा मान्छे सपनाशून्य हुन्छ, ऊ अति व्यावहारिक र यथार्थवादी हुँदोरहेछ।

उसलाई पुरानो प्रेमको पराकम्पनले पनि झट्का दिन नसक्दो रहेछ । उ निर्विकार पत्थरजस्तो हुँदोरहेछ ।

इसाबेलका अरू तीनजना प्रेमीहरू पनि त्यस्तै भएका होलान् । म पनि त्यस्तै मान्छे भएको हुँला । मान्छेहरूले मेरो पछाडि भन्ने गर्छ अरे नि, हौ त्यही क्या त ढुङ्गाको मान्छे !

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here