दार्जिलिङ, 11 जनवरीः भाजपा सरकारले गोर्खाका मुद्दालाई सम्बोधन गर्न कार्य गरिरहेको दावी राजु विष्टले गरेका छन्।
हिजो गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) र भारतीय जनता पार्टी (भाजपा) दार्जिलिङ जिल्ला अध्यक्ष कल्याण देवानलाई साथ लिएर गृहमन्त्री अमित शाहसँग भेट गरेपछि विष्टले यस्तो दावी गरेका हुन्।
“प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भाजपा सरकार साँचो रूपमा दार्जिलिङ पहाड, तराई एवं डुवर्सका जनताका लागि न्याय सुनिश्चित गर्न प्रतिबद्ध रहेको गृहमन्त्रीले हामीलाई आश्वासन दिएका छन्”, उनले भनेका छन्, “भाजपाले गोर्खा जातिलाई गरेका वाचा पूरा गर्ने दिशामा सरकारले कार्य गरिरहेका छन्।”
यति मात्र होइन, गोर्खाका माग पूरा गर्न शाहले गरिरहेका प्रयासको प्रशंसा गर्दै विष्टले दार्जिलिङ पहाड, तराई एवं डुवर्सका जनताको तर्फबाट गृहमन्त्रीलाई धन्यवाद दिएका छन्।