विमल समूहका युवा नेता अनिल लोप्चनको सम्पत्ति कुड्की

0
1601
अनिल लोप्चन भाड़ामा बस्दै आएको घर, जुन घरबाट शनिवार पुलिसले सम्पत्ति कुड्की गऱ्यो।

कालेबुङ, 9 मार्च : गोजमुमो अध्यक्ष विमल गुरुङ समूहका युवा मोर्चा केन्द्रिय उपाध्यक्ष अनिल लोप्चनको भाड़ाको घरबाट पुलिसले सम्पत्ति कुड्की गरेको छ।

शनिबार दिउँसो यहाँको 11 माइल बिरालकोठीमा रहेको अनिल लोप्चनको घरबाट पुलिसले कार्पेट, पलङ, भाँडा बर्तन, पलङ च्यादर र सिरानी कुड्की गरेर लगेको छ।

विगतको छुट्टै राज्य गोर्खाल्याण्ड आन्दोलनअवधि अनिल लोप्चनविरुद्ध धेरैवटा गैरजमानती मुद्दा लागेको थियो। यसैले त्यसै समयदेखि भूमिगत बनेका लोप्चनलाई न्यायालयमा उपस्थित हुनुपर्ने निर्देश दिँदै उनको भाड़ाको घरमा नोटिस टाँसिएको थियो, तर तोकिएको समयभित्र पनि लोप्चनले उपस्थिति दिन नसकेपछि आज उनको घरबाट सम्पत्ति कुड्की गरिएको छ।

लोप्चन अनि उनको परिवार पछिल्लो 10 वर्षदेखि सुशिला तामाङको घरमा भाड़ामा बस्दै आएका थिए। विगतको आन्दोलनको कारण लोप्चन भूमिगत भएदेखि यता लोप्चनकी पत्नी राधा लोप्चन र छोरी दिछेन लोप्चन यसै घरमा बस्दै आएका थिए।

लोप्चनको भाड़ाको घरमा ठूलो कुनै सम्पत्ति थिएन, जो कुड्की गर्न लायकको थियो। पुलिसले भाँडा बर्तन, च्यादर, सिरानी, पलङ, कार्पेट इत्यादि कुड्की गरेको राधा लोप्चनले बताइन्।

उल्लेखनीय छ, यसअघि पनि पुलिसले कालेबुङबाट विमल समुहकै युवा नेता निमा तामाङ र वीरेन भुजेलको सम्पत्ति कुड्की गरिसकेको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here