सिलगढी, १८ जनवरीः सिक्किमका एक अवकाशप्राप्त पुलिस अधिकारी आज वन्यजन्तु तस्करीको मामिलामा पक्राउ परेका छन्।
उनलाई आज साँझपख शिवमन्दिरस्थित उत्तर बङ्ग विश्वविद्यालयको छेउबाट हरिणका दुईवटा नाभि र राजपङ्खीको छालासहित पक्राउ गरिएको बाघडुग्रा फरेस्ट रेन्जका वन अधिकारीले जानकारी गराएका छन्।
पक्रा परेका ती पूर्व पुलिस अधिकारीको नाम डानेल भोटिया हो। उनी गान्तोक तादोङनिवासी हुन्।
बाघडुग्रा फरेस्ट रेन्जका अधिकारी सोनाम ग्याछो भोटियाले पत्रकारहरूलाई जानकारी गराए अनुसार भोटियाले ती नाभि र राजपङ्खीको छाला नेपालको चिवाभञ्ज्याङ क्षेत्रमा ल्याएर दिल्लीका एक ग्राहकलाई बेच्न मोलतोल गरिरहेका थिए, जसको सूचना पाएपछि आज साँझ वन अधिकारी एक अभियान चलाएर उनलाई पक्राउ गर्न सफल बनेको हो।
साथै एसके 01-पीबी-8992 नम्बरको वाहन पनि जफत गरेको छ। पक्रा परेका भोटियालाई बाघडुग्रा थाना लगिएको छ।