ऋषिकेशको ऋषि बाबा

0
711

-मणिकुमार प्रधान

९ नोभेम्बर, २०००-मा  जन्मिएको २७औँ राज्य उत्तराखण्डको ऋषिकेशको माटामा सारांशका पाइलाले टेक्ने  सुयोग पायो।

आफ्नी प्रियसीबाट तिरस्कृत सारांश, ऋषिकेशमा शान्ति र आध्यात्मिक ज्ञान केही प्राप्त होला कि भन्ने सङ्कल्पले त्यहाँ पुगेको थियो। ऋषि त होइन, तर योगीसम्म बनिने उसको इच्छा जाग्यो।

सारांशका हर्ष चुलिएर कञ्चनजङ्घा जस्तो भइहालेको थियो, जब उसले त्यस दिन ऋषिकेश बाबाको दर्शन पायो- लक्ष्मण झुलाको छेउछाउमै अवस्थित एउटा प्रतिष्ठित आश्रममा।

ऋषि बाबा ऋिषिकेशका अति पूजनीय र आदरणीय सन्त थिए। ऋषिकेशको  ऋषि बाबालाई नचिन्ने र नजान्ने सायद बिरलै थिए होलान् ऋषिकेशमा।

सारांशको सुगठित शरीर, कान्तिमय अनुहार अनि अद्भुत व्यक्तित्व ऋषि बाबालाई साह्रै मन पऱ्यो। सारांशलाई त झन् ऋषि बाबाको त्यो केशले अथवा भनौ त्यो जगटाले  सम्पूर्ण रूपले नै आकर्षित गऱ्यो। सारांश ऋषि बाबाका अति नै प्यारो भक्त भए कालान्तरमा।

आश्रममा सारांशका धेरै महिना बिते,  ऋषिबा बाबाको सान्निध्यमा।  आश्रममै हुर्किएकी एउटी सुन्दरी केटी चारुमतीमा सारांशको मन बस्यो।  चारुमती पनि सारंशको आकर्षणदेखि बाच्न सकिन। प्रणयले दुवैलाई दास नबनाई छाडेन।

सारांश र चारुमतीका दासत्वको कुरा ऋषि बाबालाई थाहा भयो एक दिन।  सारांशलाई ऋषि बाबाले आफ्नो कक्षमा बोलाएर सोधे, “तिमी साँच्चै नै मन पराउँछौ चारुमतीलाई?”

“म उसलाई प्रेम गर्छु।” छोटो उत्तर सारांशको।

“अनि चारुमती? उसले चाहिँ तिमीलाई मनपराउँछे कि प्रेम गर्छे?” ऋषि बाबाको प्रश्न।

“दुवै।” सारांशको उत्तर।

“हेर सारांश,” ऋषि बाबा बोल्दै गए, ”तिमी मेरो अति नै प्रिय भक्त हौ, मैले तिमीलाई यी प्रश्न गरेका कारण चारुमती मेरी बायोलजिकल छोरी हुन्। तिमीलाई थाहा नहोला तर यहाँका सबैलाई यो कुरा थाहा छ। ऋषि बाबाकी छोरी भएकाले उमाथि दृष्टिपात गर्न कसैले पनि आजसम्म आँट गरेनन्। तिमीले आँट गऱ्यौ। तिमीहरू दुवै एकाअर्कालाई साँचो हृदयले चाहन्छौ भने मेरो कुनै आपत्ति छैन।”

हे भगवान्! रेपिस्ट ऋषि बाबा?   म कसरी यो ऋषि बाबाको आकर्षणमा परेछु ?  कहाँबाट आई ऋषि बाबाकी यो जैविक (बायलजिकल) छोरी ? सारांश घोरिएको देखेर ऋषिबाबा भन्न थाले, “म जान्दछु सारांश, यसबेला तिम्रो मनमा के भइरहेछ। स्वाभाविकै हुन् यी कुरा मनमा खेल्नु। तर सुन, अचम्भित हुने त्यस्तो केही कुरा छैन।  सन्त अर्थात्  ऋषि बाबा हुने लोभमा परेपछि यौन सहवास त्याग्नु पर्ने मेरो अनिवार्यता नै थियो।  त्यसै समय चारुकी आमाले मेरो मन हऱ्यो।  उसलाई मैले प्रेम गर्न लागिरहेको  र उसले पनि मलाई प्रेम गर्न लागिरहेकी अनुभव हामी दुवैले गरिरहेका थियौँ।  तर म ऋषि बाबा हुने लोभमा चारुलाई बिहे गरेर घर संसार बसाउन भने यो मेरो स्वार्थले दिएन किनकि त्यहाँ यौन सहवासको कुरा थियो।“

चारुकी आमाले एक दिन ऊ आमा बन्ने इच्छा जाहेर गरिन्।  उसले भनिन्, “हेर्नोस्, ऋषि बाबा बनिने लोभमा तपाईंले मलाई बिहे गर्ने त कुरै आएन। अब हामी छुट्टिनु पर्छ। यसर्थ तपाईंलाई मेरो एउटा बिन्ती छ।  तपाईंले मलाई एउटा सन्तान प्रदान गरिदिनुहोला। उसैको अनुहार हेरेर, उसैको उपस्थितिमा म तपाईंलाई सम्झना गर्दै बाँच्नेछु आउने दिनहरूमा। यति मेरो बिन्ती सुनिदिनु भएपश्चात तपाई निर्धक्क ऋषि बाबा हुनुहोला।“

“कस्तो कुरा गरेकी? थाहा छैन तिमीलाई यसको अर्थ?” भने मैले।

“थाहा छ मलाई।  यौन सहवासको कुरा… त्यो बिना पनि त सम्भव छ नि!” सहजै भनिन् उसले। ‘हामी एआईलाई अप्नाउन्!”

“कस्तो एआई?” मेरो जिज्ञासा।

“आर्टिफिसियल इन्सेमिनेसन अर्थात् कृत्रिम गर्भाधान।“ सहजै चारुकी आमा।

हामीहरू छुट्टिनु नै थियो। उसको कुराले छोयो मलाई र उसको प्रस्तावमा मेरो सहमति भएरै चारुले यो धरतीलाई टेकेकी हुन्। तर चारुको आगमनको केही दिन पश्चात् नै चारुकी आमा हामी दुवैदेखि मात्र होइन यो संसारदेखि नै अलग्गै भई सदाका लागि।  चारुलाई यस आश्रममा ल्याउनबाहेक अरू विकल्प थिएन मसँग।”

सारांश ट्वाल्ल परेर ऋषि बाबालाई एकोहोरो हेरिरहेको थियो।

“के भो सारांश?” सारांशको एकोहोरोपनलाई भत्काउँदै ऋषि बाबा बोल्न थाले, ”के बिचार छ? तिमी मजस्तै ऋषिबाबा हुन चाहन्छौ कि मेरो जुवाइँ?”

सारांश मौन थियो। उसको मनमा ऐले कुराहरू लडिबडी गरिरहेका थिए। आत्मशान्ति, घर संसार, यौन सहवास, सन्तानोत्पादन, कृत्रिम गर्भाधान इत्यादि इत्यादि।

जे होस् ऋषि बाबा सबैका बाबामात्र नभएर चारुको त बायलजिकल बाबा रहेछन्। यस्ता ऋषिबाबाका जुवाइँ हुन पाउनु कम भाग्यको कुरा हो र?

“ऋषिबाबा, म कहिल्यै पनि ऋषि बाबा हुने छुइनँ।”

ठुलो साहस बटुलेर सारांश बोल्न सक्षम बन्यो ऋषिकेशको ऋषि बाबाअघि।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here