खरसाङ, 30 जनवरीः विवेक राई निर्देशित लघु फिल्म शान्तिले सर्बियामा सम्पन्न कुस्टेन्डर्फ फिल्म एन्ड म्युजिक फेस्टिभलमा सिल्भर एग अवार्ड प्राप्त गरेको छ।
गोल्डन एग अवार्ड रसियन फिल्म भाइलेट कन्ट्रीले प्राप्त गऱ्यो।
लघु चलचित्र शान्तिका निर्देशक विवेक राई खरसाङ कट्लेरी निवासी हुन्। पछिल्लो समय लघु चलचित्र निर्देशनमा उनले चर्चा कमाइरहेका छन्।
उनी निर्देशित लघु चलचित्र डेड सर्टिफिकेट पनि खुबै राम्रो बनेको छ।
खरसाङकी कथाकार छिमी ओङ्मु लामाको कथामा आधारित फिल्म शान्तिमा प्रमुख भूमिकामा शान्तिला सिङ्गर तामाङ रहेकी छन्।
कुस्टेन्डर्फ फिल्म एन्ड म्युजिक फेस्टिभलमा भारत लगायत अस्ट्रिया, फिनल्यान्ड, ग्रिस, पोल्यान्ड, स्विडेन, जर्मनी, फ्रान्स, रसिया, अमेरिका, इजिप्ट, मेक्सिको, उज्बेकिस्तान, नर्थ मेसिडोनिया, चेक रिपब्लिक क्रोएसिया र सर्बिया आदि देशका 17 वटा फिल्म मनोनीत भएका थिए।
यो फिल्म एन्ड म्युजिक फेस्टिभल सर्बियाको ड्रेभनग्राड 23 देखि 27 जनवरीसम्म चलेको थियो।