चुनाउलाई लिएर एसडीएफको महत्त्वपूर्ण सभा : के.टी. ग्याल्छेनले भने –हाम्रो उम्मेद्वार भनेकै छाता हो

0
1167
पत्रकारहरूलाई सम्बोधन गर्दै एसडीएफ प्रवक्ता के.टी. ग्याल्छेन र प्रचार महासचिव डीबी कटवाल।

गान्तोक, 9 मार्च : सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) -को एक उच्चस्तरीय बैठक शनिबार इन्दिरा बाइपासस्थित पार्टी मुख्यालयमा बस्यो।

एसडीएफ अध्यक्ष तथा मुख्यमन्त्री पवन चामलिङको अध्यक्षतामा बसेको बैठकमा केन्द्रिय कार्यकारिणी समितिका सदस्यहरूको मात्र उपस्थिति रहेको थियो। यो बैठकमा चर्चा भएका कुनै विषय पनि एसडीएफले सार्वजनिक गरेको छैन।

यद्यपि बैठकपछि एसडीएफ मुख्यालयमा पार्टी प्रवक्ता के.टी. ग्याल्छेनले पत्रकारहरूलाई सम्बोधन गर्दै भने, “चुनाउलाई लिएर आजको बैठक हाम्रा अध्यक्षको अध्यक्षतामा सम्पन्न भएको हो। यो पार्टीको आन्तरिक बैठक भएकोले हामी सबै कुरा सार्वजनिक गर्न सक्दैनौं। तर, चुनावी रणनीति र नेताको दिशानिर्देशमाथि बैठकमा छलफल भएको थियो। नेताले पार्टीका तृणमूल स्तरदेखि लिएर हाईकमाण्डसम्मलाई निर्देशन दिएका छन्। त्यही निर्देशनअनुसार अब पार्टी अघि बढ्नेछ।”

चुनाउलाई लिएर पार्टीमा उम्मदेवारहरू विषय छलफल भयो भनी सोधिएको एक प्रश्नको जवाफमा एसडीएफ प्रवक्ताले भने, “हाम्रो उम्मेदवार भनेको छाता हो। एबीसीडी जसले पनि टिकट पाउँछ, त्यही मान्य हुन्छ। पार्टीले व्यक्तिलाई बोक्दैन, हामी छाताको चिन्ह लिएर चुनाउमा जान्छौं। त्यही नै हाम्रो अन्तिम निर्णय हो।”

एसकेएम र भाजपाको गठबन्धनमाथि प्रश्न गर्दा उनले भने, “अरू पार्टीहरूको आन्तरिक विषयलाई लिएर हाम्रो भन्नु केही छैन। हामी आफ्नो कार्यक्रम लिएर जनतामा जाने हौं। जनतामा हामी आफ्नो सिद्धान्त बताउनेछौं। जनताले हामीलाई भारी बहुमतका साथ विजय गराउनेछन् भन्ने कुरामा हामी विश्वस्त छौं।”

भाजपाप्रति कटाक्ष गर्दै ग्याल्छेनले भने,“लिम्बू-तामाङको सीट आरक्षणको मुद्दा होस् वा अन्य हाम्रा राजनीतिक मुद्दाहरू होउन्, कुनै पनि मुद्दालाई भाजपाले गम्भीर रूपमा लिएन। केन्द्रिय विषयहरूलाई सम्बोधन गरेन। हामी दुःखी छौं। हामीलाई जुन अधिकार दिनुपर्थ्यो, त्यस अधिकारबाट केन्द्र सरकारले हामीलाई वञ्चित गराएको छ। एसकेएमले त्यही मागहरू लिएर भाजपासँग गठबन्धन गरेको हो भने पूरा गरेर देखाओस्।”

केन्द्रिय कार्यकारी समितिको बैठकपछि एसडीएफ अध्यक्ष पवन चामलिङले क्याबिनेट मन्त्री, विधायक र विभिन्न निकायका अध्यक्षहरूसँग एउटा छुट्टै बैठक गरेको पनि जानकारी पाइएको छ। बिहान 10 बजे एसडीएफ मुख्यालय पुगेका चामलिङले अवेरसम्म पार्टीका विभिन्न स्तरका नेतृत्वसँग छुट्टा-छुट्टै बैठक गरेको एसडीएफ सूत्रले बताएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here