कालो ब्याग बोक्ने मान्छेको कथा

0
750
  • सञ्जीव छेत्री

जिन्दगीमा कहिल्यै कविता लेखेको चाल नपाएको कवीन्द्र र हेर्नु बक्सिङ र खेल्नुचाहिँ क्रिकेट मन पराउने सङ्गीतले आउँछौँ भनेकाले नवराज शनिवारका दिन बिहानैदेखि घरमा नै थियो।

‘‘तपाईंका लागि एकदम जरुरी छ।’’ – पनि भनेको थियो सङ्गीतले नै। फोनमा।

‘‘चिनी छ?’’ – सोध्यो नवराजले।

‘‘पुग्छ आजुलाई।’’ – नमिताले भनी।

‘‘आलुहरू?’’

‘‘छ। दाल छैन। गुन्द्रुकको रस बनाइदिन्छु।’’

‘‘के के गर्नुपर्छ गर न।’’ – भन्यो खुसी भएर नवराजले।

बिहे गरेकैदेखि नमिताले घर सम्हालेर चलाएकी सबै क्षणलाई जोडेर अहिले पनि खुसी भयो ऊ।

‘‘नौ बजीतिर आइपुग्छौँ।’’ – भनेका ती दुई आइपुगे। साथमा एकजना नेपाली अलिलि बोल्ने तर पुरै बुझ्ने अनेपाली साथी पनि लिएर। बडो शिष्टतासाथ उसलाई अभिवादन जनाए तीनैजनाले।

अलि कृत्रिमजस्तो लाग्यो उसलाई।

# # #

सङ्गीतको पहिरन हेऱ्यो।

चिटिक्क।

निकै महँगो कपडा। जुत्ता, घडी टिलिक्क।

कपाल सपक्क। कोट छपक्क।

कवीन्द्र उस्तै; अनुहार धपक्क।

सकपकाएछ नवराज।

सानोमा मामाको घरमा बसेर पढ्दा सँगै खेलेडुले पढेका ती दुई साथी आज अचानक यसरी आएर अति शिष्टाचार प्रदर्शन गरिदिँदा ऊ अलमलिएछ।

‘‘भित्रै आउनोस् न।’’ – नमिताले भन्दा पो झस्कियो ऊ।

‘‘आउनुहोस् न।’’ – भनेर लगभग तिस वर्ष पुगेको काठको साधारण घरको दैलोमा एकापट्टि पालेजस्तो भएर उभियो अठाइस पुग्नु आँटेको नवराज।

कोठा सानो भएकाले टाँसेर राखिएका प्लास्टिकका चौकीहरू व्यवस्थित पार्दै तीनैजना बसेपछि ऊ पनि बस्यो।

बसेको एकछिनमा – ‘‘म त बिर्सेछु पो।’’ – भन्यो नवराजले। उत्सुकतावश सबैले उसलाई हेरे।

‘‘नमिता; मेरी श्रीमती। यहाँ मेरो सानुका साथी सङ्गीत, कवीन्द्र र यहाँलाई चैँ मैले पनि चिन्न सकिनँ।’’

– दैलोबाट निस्कनु कि बसिराख्नु भइराखेको नमिता र त्यो अर्को अचिनारु व्यक्ति दुवैलाई लक्ष्य गरेर बोल्यो नवराज।

‘‘नमस्कार।’’ – चारैजनाले एकार्कालाई अभिवादन गरिसकेपछि कवीन्द्रले भन्यो – ‘‘उहाँ हाम्रो सिनियर। हामी एउटा नेटवर्क मार्केटिङ एजेन्सीमा काम गर्दैछौँ। टेन्थ पोजिसनमा हुनुहुन्छ शिशिर सर।’’

उसले अघि नै – तीनैजनाले एक-एकवटा कालो ब्याग बोकेर आउँदा नै अड्कल काटेका कुरा साँचो रहेछ भन्ने सम्झ्यो।

‘‘तोपाई कोविन्द्र सोर आर सोंगीत सोरको क्लासमेट?’’ – सोध्यो नवराजलाई नयाँ मान्छेले।

‘‘हो हामी सानोमा सँगै हुर्के बढेका।’’ – भन्यो नवराजले।

‘‘कि गोर्नुहुन्छ ? मोतलब जोब।’’ – सोध्यो शिशिर सरले।

‘‘स्कुलमा गर्छु। प्राइभेट जब।’’ – ढाँटेन उसले।

‘‘आर?’’  – फेरि प्रश्न।

‘‘घरमै। बारी खेती।’’ – भन्यो नढाँटी  – ‘‘ट्युसन पढाउँथेँ, छोड्देँ।’’  – समेत भनिपठायो।

‘‘किन?’’ – यत्तिबेला कवीन्द्रले सोध्यो।

‘‘अब्जस सारो गाउँ-घरमा। इक्जाम भएको महिना नानी पठाउँछ। अन्त फेल भयो भने – राम्रो पढाउँदैन, जान्दैन पढाउनु भन्छ। न पैसा देओस्।’’ – डल्लै गनगनायो नवराज।

एकछिन कोही बोलेन।

‘‘अरू के गरिन्छ? बिजिनेस सिजिनेस?’’ – अब सङ्गीतको पालो आएको जस्तो सोध्यो।

‘‘छैन अरू त। हप्तामा पाँच दिन त स्कुलमै बित्छ। दुई दिन एता र उता गर्दै गइहाल्छ। गरुँ भनेर सोचेकाहरू क्यै गर्नु भ्याउँदैन। बिजनेस त झन् खै त। यता गाउँमा फस्टाउने त्यस्तो के छ र ? म त टेन्सन बढाउनु जस्तो मात्र लाग्छ।’’

– बाल्यकालका साथीहरूसँग केही नलुकाई र केही नबनाई भन्दैछ नवराज।

‘‘ठुलै बेपार गरुँ – बजारतिर निस्कुँ भने पुञ्जीले पुग्दैन…’’ भन्दै गर्दा नवराजलाई … ‘‘ट्र्याडिसनल बिजिनेस गरेर त सकिँदैन नि साथी। अब  अलिक अप-टु-डेट हुनुपर्छ हामी। अलिक अर्को खालको बिजिनेस अप्सन चुज गर्नुपर्छ। हो कि होइन भन्नोस् त?…’’ भनेर कवीन्द्रले रोक्यो।

यत्रो हुञ्जेल एकैपल्ट उसकहाँ नआएको सङ्गीतले भन्यो –  ‘‘त्यसैले तपाईंलाई हामीले विशेष गरी सोचिराखेका थियौँ। माइजूलाई नम्बर मागेर कन्ट्याक्ट गरेको अनि सरको टाइम मिलाएर आज आउन जुऱ्यो।’’

युगलबन्दी गरेको जस्तो लगत्तै कवीन्द्रले जोड्यो …………..

‘‘यो राम्रो अप्परच्युनिटी छ तपाईंलाई। यो एरियामा फस्ट हामीले तपाईंलाई नै चुनेको।’’

नमिता चिया लिएर आई। दिई र सुन्नथाली।

‘‘सरले क्लियर गरिदिनुहोस् न।’’ – भन्यो सङ्गीतले।

पालो पर्खिबसेको पात्र नयाँ मान्छेले चिया सुरुप्प पारेर भन्यो –

‘‘यताको चिया खुब मिठो।’’

मुसुक्क हाँस्यो नवराज । ‘पोलिसी लाउन सिपालु’ – सम्झेर।  चिनी सकिनु आँटेको – पनि सम्झेर।

‘‘अच्छा तोपाईंको तोलब कोती?’’ – सोझै सोध्यो त्यसले। घुमाएर सोध्न जानेन क्यार।

बताइहाल्न मन गरेन नवराजले। एक त साथीहरूका पहिरन र आफूलाई प्रस्तुत गर्ने तरिकाअघि अप्ठ्यारो लागिरहेको नवराजलाई यो प्रश्न मन परेन।

‘‘गुस्सा नगर्नुहोस् अ……….. नाम………… अ…………… नवोराज सार मो भी पोइला प्राइभेट जोब कोरनुहुन्थ्यो तो ! मो जम्मा कुडी सौ मोत्लोब टोटाल दो हाजार तोलब पाउनुहुन्थ्यो । कोती ? दो हाजार।’’

– आफैँलाई ‘तपाईं’ भन्यो। ‘कति?’ भनेर सोध्यो अनि आफैँले ‘दुई हजार’ पनि भन्यो।

‘‘मो ग्रेजुएसन करेको बादमो तीन बोर्ख त्यस्तै काम करेको। थुप्रो पोरिक्खा आदि दिनुभए। पास नाभोएको। कोई जागा घुस कोर्नु नासकेको। बादमा यी कोम्पोनी जोइन करेको। बादमा आफ्नु पोरिश्रमको काराण कि भोए? … मो मिस्टोर शिशिर एकटा सोतोन्त्रो मानुस हुनुभए।…

… यो मो तोपाईंलाई भन्नभयो। कि कारोण? … कारोण यो … अहिलेको मिस्टोर नवोराज आर ऊ मिस्टोर शिशिर सोमान। कोइ फोराक होइन।’’

सुन्न मज्जा लाग्यो नवराजलाई। भाषाका कारणले पनि र मिस्टर शिशिर कसरी स्वतन्त्र भएछ भन्ने उत्सुकताले पनि।

‘‘… त कि भए? …’’ – सिलसिला जोड्दै उसले फेरि बोल्न सुरू गऱ्यो।

‘‘… ये बिजनेसमा एकटा ब्योक्ति आप्नु मास्टार हुनुहुन्छो। मोतलब कि आप्नु मालिक आपै हुन्छो। तापाईं पार विक पाँच दिन स्कूल जानुहुन्छो तो … ओर्थात् पार मान्थ कुडी दिन मोतलोब बिरिस दिन स्कुल गएपछी कोती पानुहुन्छो?’’

… फेरि घुमाएर तनखा नै सोध्यो। तर यसपल्ट भने नवराजले नधकाई ‘‘अठार सौ’’ भन्यो।

‘‘आरू इन्कम सोर्स?’’ – फेरि सोध्यो।

‘‘छैन भन्दा पनि हुन्छ।’’ – नै भनिदियो नवराजले।

थोरै बारीखेती र गाईवस्तुबाट हुने अनिश्चित उप्जनी र आयको भिन्नभिन्नै गणित हुन्छ वर्षैपिछेको । त्यो नयाँ मान्छेले बुझ्दैन होला भनेर उसले केही भनेन।

‘‘नानीहरू?’’ – पनि सोध्यो फेरि।

‘‘छ एकजना।’’ – बतायो।

‘‘कोविन्द्र सर भोन्नोस्।’’  – कवीन्द्रलाई चट्टी दियो उसले।

‘‘नवराज साथी ! जस्तो तपाईं त्यस्तै म ।’’ – भनेर सुरु गऱ्यो उसले। कवीन्द्रले।

‘‘मानिलिउँ नवराज एउटा मान्छे। नरिसाउनुहोस् है, उदाहरण मात्रै।’’

– भन्यो र केही निमेष नवराजको अनुहारतिर हेरेर प्रतिक्रिया जान्न चाहँदै रहल चिया घुट्क्याएपछि फेरि बोल्न सुरु गऱ्यो-

‘‘तपाईंसँग अहिले तपाईंको मात्र प्रश्न छैन। भाउजू र नानीको लाइफ, फ्युचर पनि तपाईंसँग रिलेटेड छ। हो कि होइन भन्नोस है।’’

हो नै लाग्यो नवराजलाई र टाउको हल्लाएर ठिकै हो जनायो।

‘‘मतलब तीन शरीर, तीन आवश्यकता। अनि आवश्यकता के को? – पैसाको। हो कि होइन भन्नोस् है ?’’

हो नै लाग्यो नवराजलाई र टाउको हल्लाउदै मुखैले पनि ‘‘हो’’ भन्यो।

‘‘तपाईंको अब हामीले देख्दा अठार प्लस इधर उधरको गरेर लु पन्ध्र सौ मिनिमम। जम्मा तेत्तिस सौ । तेत्तिस सौले घर चलाउनुहुँदैछ तपाईं। भनेपछि एउटा कम्प्रोमाइज मात्रै गर्नु हुँदैछ । हो कि होइन भन्नोस् है?’’

हो नै भयो नवराजलाई र टाउको हल्लाएर सँगसँगै मुखले पनि भन्यो-

‘‘कोइ कोइ बेला त मरौ र बिहामै सकिन्छ स्यालेरी।’’

अझसम्म हातमा समातेको मोबाइलमा के के थिच्दै बसेको सङ्गीत बोल्यो- ‘‘अहिले त बिहा र बर्थडेले पनि खुत्रुक्कै पो पार्छ त। एउटा बिहामा नभनेको पनि दुई हजार त हो नै हो । गिफ्ट भन्यो, सराउ, टिका लाएर बेहुला-बेहुलीलाई…’’

नमिताले आफ्नै सालीको बिहा पनि छ सयमा ठामठिम पारेको सम्झेर आफ्नो स्थिति र स्तरको अनुभव अर्कै पाराले गऱ्यो नवराजले। नसकेरै हो बेसी खर्च नगरेको भनेर मानिलियो उसले  मन-मनमा।

धेरै दिनपछि आज निकै कुरा सोच्यो उसले। आजसम्म आफ्नो कमाइबारे यतिको गहिरिएर सोचेको थिएन नवराजले।

यसैगरी कालो ब्याग बोकेर आउने कतिजनाले उसलाई आकाश-पाताल देखाएकै हुन्, तर हावामहल नबनाउने कुरामा दृढ थियो ऊ। अरूले नानाथरिका सपना देखाउँदा पनि टसमस नभएको नवराजका मनमा अनेक प्रकारले प्रभाव पर्नलागेको भान ऊ आफैले गऱ्यो आज।

# # #

पल्टने दाजुसँग आमा-बाबा गएपछि एकपल्ट चाहिँ ‘उसले पाल्न नसक्ला भनेर उनीहरू छड्केका हुन् कि’ भन्ने सोचेर निक्कै नमिठो लागेको थियो उसलाई।

पछि तिनै दाजु-भाउजू र आमा-बाबाले नमितासँगै उसको बिहे गरिदिए। फेरि एक चक्कर देश घुमेर आउने भनेर बाबु-आमा हिँडेको साल उसले तिनीहरूको बाटो हेरिबस्यो। तर दसैँमा दाजुले दुवैजनालाई उतै बोलाए। उनीहरू गएर दाजुकैमा दसैँ मनाए।

फर्कने बेलामा आमाले बुहारीलाई एउटा मोबाइल दिइन्। दाजुले आमालाई भनेर किनिदिएको। तिनले चलाउन नजानेको। नमानेको।

‘‘कुराकानी भैबस्छ नि। हामीलाई पनि ढुक्कै हुने तिमेरलाई पनि।’’  – बाबुले भने।

त्यसपछि तिनीहरू फर्के।

टिकाको तीन दिनपछि ससुराली गयो नमितासित नवराज।

र फेरि अर्को वर्ष गर्दै सालुन्ने त्यही क्रम चल्न लाग्यो।

# # #

एउटा कलाकारले जस्तै; नमिताले अभाव र अपुगहरूलाई ठुलो हुन दिइन रहिछ घरमा। उसको गुण सम्झेर मक्ख पऱ्यो नवराज।

कोही कोही हुन्छन् त्यस्ता। त्यो कोही कोहीमा परेकी नमिता पनि एउटा हो। भन्न सकिने। सम्झ्यो नवराजले- साथीहरूसित भनौँ भनौँ पो लाग्यो नवराजलाई त्यतिबेला।

‘‘के सोच्नुभो?’’ – कवीन्द्र।

‘‘होइन। त्यसै।’’ – नवराज।

‘‘हो कि होइन, सोच्नुस् है।’’ – भन्यो कवीन्द्रले।

के सोच्नु-के सोच्नु भयो नवराजलाई।

‘‘ठिकै हो।’’ – भन्यो। त्यसै। नसोची।

‘‘तपाईंको, मेरो, हामी सबैको एउटा इच्छा हुन्छ, सपना हुन्छ; एउटा राम्रो, सक्सेसफुल र आर्थिक रूपमा स्वतन्त्र जीवन जिउने।’’ – सङ्गीतले भन्यो।

‘‘ठिकै हो।’’ – नै भन्यो नवराजले फेरि। यी यस्ता प्रसङ्गहरू थिए, जसमा नवराजहरूले कुनै तर्क उठाउने प्रश्न र उठाउनपर्ने ठाउँ नै थिएनन्।

‘‘तर कुनै पनि कम्पनीको काम गर्दा कसरी स्वतन्त्र भइयो?’’ – एउटा साधारण प्रश्न सोध्न मन लाग्दा लाग्दै सोधेन फेरि नवराजले। सोध्न सकेन वा पाएन। अथवा दुइटै।

‘‘तपाईंले, भाउजूले कति सम्झौता गरिसक्नुभयो होला अहिलेसम्म ! हामी सब त्यही अवस्थामा कहिलेसम्म बाँच्ने ? … हाम्रो कम्पनीले इनर्जेटिक युवाहरूलाई एउटा प्लेटफार्म र करियर दिन्छ।’’

– आफ्नै, उनीहरू तीनजना मिलेर बनाएको जस्तो पाराले ‘हाम्रो कम्पनी’ भन्यो कवीन्द्रले । धेरैवटा चिटफन्ड कम्पनी, मल्टिलेभल मार्केटिङ कम्पनीहरूले दुःख-सुख गरेर कमाइ गरेका र बचत गर्न चाहेका छर-छिमेकका पैसाहरू गुटमुट्याएर चम्पट कसिदिएका कुराहरू उसका सम्झनामा आए । तर त्योभन्दा धेर उसले नमितालाई आफ्नो परिवारबाट निकालेर अलि परतिर राखेर हेऱ्यो। अपराधबोधजस्तै, ग्लानिजस्तै बोध भयो उसलाई यत्तिबेला।

असाध्यै माया लागेर आयो उसलाई नमिताको।

यस्तो अचम्मको स्थितिमा आफूलाई पहिलोचोटि पाएको थियो उसले। आजसम्म कसैसँग तुलना गरेर हेरेको नभएर हुनसक्छ आफैँलाई त्यस्तो भेटेकै थिएन रहेछ उसले।

अब उसले सोध्यो- ‘‘तपाईंको कम्पनीले के काम गर्छ? ’’

‘‘सुन्नुहोस न हामी भन्दैछौँ। ’’ – फलाम तातिएको सम्झेर सङ्गीतले आफूले भिरिल्याएको र अहिलेसम्म भिरी नै राखेको कालो फाइल-ब्यागबाट तीन-चारवटा के के लेखिएका रङ-बिरङका पन्ना, एउटा खाता र एउटा कलम निकालेर काठको टेबलमाथि फिँजायो।

अनि तीनजनाले सक्दो बताए नवराजलाई।

कम्पनीको बारेमा।

कम्पनीले दिने भविष्यको बारेमा।

कम्पनीको विश्वसनीयताको बारेमा।

अनि कम्पनीको काम सुरु गरेकै तीन महिनाभित्रमा सङ्गीत र कवीन्द्रका आर्थिक उपलब्धि, कम्पनीबाट उपहारस्वरूप पाएका लुगा-जुत्ता र घडीका बारेमा।

अनि-

त्यस नयाँ मान्छेको हाल मासिक आय सजिलैसित पैँतालिस हजार भएको बारेमा।

तीनजनाले धेरै कुरा बताए नवराजलाई। लेख्दा आठ-दस पाताभन्दा धेर हुने गरी।

जाने बेलामा पाँच सय रुपियाँ, नवराजका मतदाता परिचय पत्र र माध्यमिकको एडमिटको फोटोकपी अनि तीनवटा पासपोर्ट साइज फोटो पनि लिएर तिनीहरू बिदा भएर हिँडे।

# # #

‘‘औ तिमीलाई कस्तो लाग्यो?’’ – बेलुकी सुत्दै गर्दा उसले नमितालाई सोध्यो।

‘‘के भन्नुभाको?’’

‘‘त्यो हौ अगिका साथीहरूका कुरा।’’

‘‘डर पनि लाग्छ हौ मो त।’’ – भनी नमिताले।

‘‘सारै डर त नहुनु पर्ने।’’ – आश्वस्त हुन चाहेको हो नवराज।

‘‘कोन्त आबो, न पछि उड्ने हो।’’ – आशङ्का प्रकट गरी नमिताले।

‘‘हुनु त इन्सुरेन्सको काम रैछ। सारै डुप्लिकेट त नहुनु पर्ने।’’ – आफैँलाई ढाडस दिएको जस्तो भन्यो नवराजले।

‘‘…भरपर्दो ठाउँमा खै त अन्त ? लकले फेभर नगरेको हो कि ? हुनुम् अप्पर्च्युनिटी पनि त केइ छैन यता। केइ न केइ त गर्नुई पर्छ होला आबो।’’

– कुन्नि किन, आजजस्तो बोझिलो उसले आजसम्म अनुभव गरेकै थिएन।

निदाउन खोजेको उसका स्मृतिपटमा आज देखेका तीनवटा काला ब्याग आए। फेरि त्यस्तै कालो ब्याग बोकेर उसकै घरको उकालो-ओरालो गर्ने समीर भाइ आयो। समीर भाइले उठाएको पैसा, कम्पनी उडेको र समीर भाइ गाउँ छोडेर हिँडेको। सबै आए।

सम्झ्यो- त्यसै नबोक्दा रहेछन् युवाहरू त्यसरी त्यस खालका ब्याग।

‘मृगतृष्णाजस्तै’ – सोच्यो। ‘कोही कोही त राम्रा पनि छन्।’ – पनि सोच्यो।

‘‘कमिसन पनि जायज लाग्यो तेत्तिको। ठिकठिकै हिसाबमा दिँदोरहेछ। हप्तामा एक दिन त भ्याउँछु होला खट्नु।  छुट्टीतिर पनि खट्छु।’’

– सुनेर नवराजले अठोट नै गरिसकेको बुझेर नमिताले भनी- 

‘‘राम्रो रैछ भने त गर्नु नि त इच्छा लाग्यो भने।’’

# # #

तिनै कवीन्द्र र सङ्गीतले आउँछौँ गाइड गर्नु भनेकाले नवराज शनिवारको दिन बिहानैदेखि घरमा बसिरह्यो।

नौ बजेतिर आउँछौँ भनेका तिनीहरू आए। दुईजना आए।

एउटा राम्रो पोलिथिनको रङ्गीन धोक्रोभित्र त्योभित्र फारमहरू र कम्पनीका जानकारीहरू भएको एउटा कालो ब्याग ल्याएका रहेछन्। नवराजको कालो ब्याग। दिए तिनीहरूले।

मुटु ढुकढुक भयो नवराजको।

चिया र हल्का खाजा खाइसकेपछि आ-आफ्नो ब्याग बोकेर तीनैजना हिँडे गाउँतिर।

गाउँकै एउटा हुने-खाने परिवारको बैठक कोठामा बसेर त्यस परिवारको मुखियालाई जीवन बिमा योजनाबारे बताएर, बुझाइसकेपछि आफ्ना र आफ्ना परिवारमा कसैको बिमा नभएको नवराजले भन्यो- ‘‘आफ्नै पनि एउटा पोलिसी गरेको छु र ढुक्कै छु। खुदा न खास्ता म केही भइगएँ भने मेरो फ्यामिलीले इन्सुरेन्सको एमाउन्ट पायो । केही भइनँ भने म्याचुरिटी त छँदैछ ।’’

– अनि आफ्नो त्यसक्षण उल्लेख गर्न अप्ठ्यारो हुने बचत पुञ्जी भएको नवराज अझ भन्दै गयो-

‘‘…लु दाजुको पैसा तलमाथि केइ भइगयो भने पनि मै रिफन्ड गर्छु।’’

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here