गान्तोक, 8 फरवरीः एसडीएफ पार्टीका प्रवक्ता एवं उपाध्यक्ष जेबी दर्नाल, प्रवक्ता ज्याक राई किरात, लामा टाशी पाल्गे भोटिया लगायत अन्य कार्यकर्ताहरूमाथि प्राणघातक हमला गरेको आरोप सत्तारूढ एसकेएम पार्टीमाथि लागेको छ।
एसडीएफको आरोपका अनुसार जेबी दर्नाल, ज्याक राई, लामा टाशी पाल्गे भोटिया र अन्य कार्यकर्ता बिरामी हेरेर फर्किँदै गर्दा जोरथाङ थाना छेउ डाँडागाउँमा एसकेएम पार्टीका कार्यकर्ताहरूले बाटो ढुकेर उनीहरूमाथि प्राणघातक आक्रमण गरेका हुन्।
आक्रमणबारे जानकारी गराउँदै जेबी दर्नाल भने – एसकेएमका कार्यकर्ताहरूले बाटो ढुकेर हामीमाथि प्राणघातक हमला गरेका छन्।
“सत्तारूढ एसकेएम पार्टीको यस्ता गुन्डागर्दी कार्यले के सिक्किममा आज प्रजातन्त्र जिउँदो छ भन्ने प्रश्न उठ्छ”, उनले थपे, “सिक्किममा अहिले गुन्डाराज चलिरहेछ। यस्तो स्थितिमा सिक्किमे जनतालाई बाँच्नै गाह्रो छ।”
एसडीएफ प्रवक्ता दर्नालको दाबीका अनुसार भोलिका दिन पुनः एसकेएमकै सरकार बनेको खण्डमा कोही पनि सुरक्षित रहनेछैन।
यसैले उनले एसकेएम पार्टीलाई सत्ताच्यूत गर्न सिक्किमेली जनतासँग अनुरोध गरेका छन्।