गान्तोक, ११ फरवरीः पूर्व सिक्किमको रानीपुलमा ग्राउन्डमा एउटा ट्याङ्करले धेरै मानिस र वाहनलाई ठक्कर दिँदा तीनजनाको मृत्यु हुनका साथै लगभग २४ जना घाइते भएका छन्।
मृतकहरूका परिचय पश्चिम बङ्गाल जयगाउँनिवासी डोमा शेर्पा, पूर्व सिक्किमको छुजाचेननिवासी ३२ वर्षीय रिक्जिङ दोर्जी भोटिया र पूर्व सिक्किमको साङनिवासी २० वर्षीय पेम्पा छितेन भोटियाका रूपमा खुलिएको छ।
मणिपाल अस्पतालले दिएको जानकारीका अनुसार २४ जना घाइतेमध्ये पाँचजनाको अवस्थाको गम्भीर रहेको छ। सामान्य घाइते भएका तीनजनालाई उपचारपछि छुट्टी दिइएको छ।
उल्लेखनीय छ, एसके ०१-डी-२१२८ नम्बरको ट्याङ्कर रानीपुल ग्राउन्डमा लागिरहेको मेलामा पसेर त्यहाँ जमा मानिस र केही वाहनलाई ठक्कर दिँदा यो भीषण दुर्घटना भएको हो।
जतिबेला यो घटना भएको थियो, त्यसबेला ग्राउन्डमा धेरै मानिस थिए। मानिसहरू हाउसी खेलिरहेका थिए।
प्रत्यक्षदर्शीहरूका अनुसार यो घटना लगभग साढे सात बजे भएको हो।
ठक्कर दिने ट्याङ्करमा सिक्किम मिल्क युनियन लेखिएको भए तापनि उक्त ट्याङ्कर अहिले सिक्किम मिल्क युनियनको अधीनमा नरहेको तथा उक्त वाहनलाई युनियनले २०२२ -मा नै लिलाम गरिसकेको जानकारी सिक्किम मिल्क युनियनका प्रबन्ध निर्देशक डा. तिलक घतानीले जानकारी गराएका छन्।
पुसिले तत्कालै ट्याङ्करका चालकलाई हिरासतमा लिएर घटनाबारे छानबिन गरिरहेको छ।