मुसलधारे पानीको कारण जलमग्न बनेको सिलगढ़ी। |
सिलगढ़ी, 10 सेप्टेम्बरः आइतवार बिहानदेखि लगातार रूपमा परिरहेको पानीले सिलगढ़ी र जलपाइगढ़ीका धेरै ठाउँ डुबानमा परेका छन् भने सालबारीमा एउटा अपार्टमेन्ट ढल्दा एक व्यक्तिको मृत्यु भएको छ। आज बिहान ग्रीन हुड अपार्टमेन्ट ढल्दा नारायण मण्डलको मृत्यु भएको हो। सोमवार सखारै सिलगढ़ीको समरनगरमा निर्माणाधीन एउटा पुलको एक भाग नै चोइटिएको छ।
लगातार घना वृष्टिपातका कारण पहाड़ र सिलगढ़ी समतल क्षेत्र डुबानमा परेको छ। मतिगड़ा, सालबारी, मेथिबारी, बाघडुग्रा, पाती कलोनी, आदर्शनगरसहित सिलगढ़ी अनि जलपाइगढ़ी जिल्लाका धेरै ठाउँ डुबेका छन्।
अलिपुरद्वार जिल्लाअन्तर्गत डुवर्स क्षेत्रमा पनि बाढ़को स्थिति बनेको छ। डुवर्सको नगरकट्टा क्षेत्रमा बाढ़ले निकै ठूलो क्षति पुर्यापएको छ। सिलगढ़ीको महानन्द र जलपाइगढ़ीको तोरसा नदीमा पानीको बहाउ उच्च बनेको छ। कुनै पनि समय स्थिति विकराल हुनसक्छ।
सिलगढ़ीका मेयर तथा विधायक अशोक भट्टाचार्य आज बिहानदेखि नै बाढ़ प्रभावित क्षेत्रहरूको भ्रमण गरिरहेका छन्। स्थानीय जनप्रतिनिधि तथा सरकारी अधिकारीहरूले धेरै ठाउँ जनतालाई सतर्क गराएका छन्। दार्जीलिङकी जिल्लापाल जोयसी दासगुप्तले भनिन्,“सिलगढ़ी नजिकै मतिगढ़ाअन्तर्गत पत्थरघट्टा क्षेत्र धेरै प्रभावित छ भने अन्य क्षेत्र स्थिति भने नियन्त्रणमा नै छ।” गएरातिदेखि लगातार मुसलधारे पानी परेपछि रेल सेवा पनि बाधित बनेको छ।
अलिपुरद्वारा डिभिजनमा रेलको लीक क्षतिग्रस्त भएकोले सातवटा लामो दूरीका रेल सेवा रद्द गरिएको छ, दुईवटा छोटो दूरी र चारवटा रेललाई डाइभर्ट गरिएको छ। उत्तरपूर्वी सीमान्त रेलले दिएको जानकारीअनुसार, आइतवार राति अलिपुरद्वार डिभिजनको क्यारोन र बानरहाट रेलवे स्टेशनबीच लीक क्षतिग्रस्त बनेकोले केही रेल सेवा रद्द गरिएको छ।