कालेबुङ, २ मार्चः आउँदो लोकसभा चुनाउमा आफूहरूले जुन पार्टीलाई समर्थन गर्छ, त्यै पार्टीले चुनाउ जित्ने ठोकुवा विमल गुरुङको छ।
गुरुङ अहिले लोकसभा चुनाउकै तयारीका लागि साङ्गठनिक गतिविधि लिएर गाउँ गाउँ गइरहेका छन्।
उनले भनेका छन् – हामी जसलाई सघाउँछौँ, उसैले एक सय दश प्रतिशत चुनाउ जित्नेछ।
पहाडको सत्तारूढ दल भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा (भागोप्रमो)-ले चुनाउ जित्छु भनेर सपनामा पनि नसोच्दा हुने गुरुङको ठोकुवा छ।
विमलका दावी अनुसार पहाडवासीले अनित थापा नेतृत्व भागोप्रमोलाई ठ्याम्मै भोट हाल्नेछैनन्। किनभने 2017 पछि पहाडवासीले धेरै कष्ट भोगेका छन्। यसैले अनित थापाहरूलाई पहाडवासीले आगामी लोकसभा चुनाउमा जवाफ दिनेछन्।
विमल गुरुङका भनाइ अनुसार आज सभा र जुलुसमा धेरै मानिसहरू छन् भनेर अनित थापाहरूले जीतको कल्पना गर्नु व्यर्थै हुनेछ, किनभने मानिसहरू जाति र माटोप्रेमी छन्।
उल्लेखनीय छ, लोकसभा चुनाउलाई लिएर अहिलेघडी पहाडमा सबैभन्दा सक्रिय देखाएको भागोप्रमोका अध्यक्ष अनित थापाले यसपालि आफूहरूले नै चुनाउ जित्ने ठोकुवा गर्दै आइरहेका छन्।