सोकेथाङमा सरकारी नर्सिङ कलेज र आयूषको उद्घाटन, चामलिङले भने – आज सिक्किमले जे सोच्छ, भोलि भारतको अर्को राज्यले सोच्छ

0
1264
सोकेथाङमा सरकारी नर्सिङ कलेज र आयूषको उद्घाटन गर्दै मुख्यमन्त्री पवन चामलिङ। 

गान्तोक, 10 सेप्टेम्बर : आज सिक्किमले जे सोच्छ, भोलि भारतको अर्को राज्यले त्यो सोच्छ”,मुख्यमन्त्री पवन चामलिङले आज यसप्रकारको मन्तव्य गरे। राज्यमा भइरहेका नवोन्मेषी, प्रगतिशील र छलाङमुखी कार्यहरूलाई रेखाङ्कित गर्दै मुख्यमन्त्रीले यसप्रकारको धारणा प्रकट गरेका हुन्। मुख्यमन्त्री चामलिङ आज राजधानीको सोकेथाङमा सरकारी नर्सिङ कलेज र आयूष अस्पतालको उद्घाटन कार्यक्रमलाई सम्बोधन गरिरहेका थिए। यी दुई पूर्वाधार राज्य सरकारको महत्वाकांक्षी परियोजना निर्माणाधीन 1000 पलङयुक्त बहुविशेषतासम्पन्न अस्पतालकै एउटा अङ्ग हो। पूर्वाञ्चल भारतकै सर्वबृहत् स्वास्थ्य पूर्वाधारहरूमध्ये एक मानिएको यो अस्पतालको निर्माण कार्य दिसम्बरसम्म पूरा गर्ने लक्ष्य राखेर राज्य सरकारले काम गरिरहेको छ।
हजार पलङयुक्त अस्पताल बनाउने परिकल्पना गर्दा हामीसँग यसका लागि हजार रुपियाँ पनि बजेट थिएन। तर मैले साथीहरूका सल्लाहमा आँट गरे अनि काम थालियो। राज्यले आफ्नोखुशी ऋण लिन पाउँदैन। एक वर्षमा 660 करोड़भन्दा बढ़ी ऋण हामीले चाहेर पनि लिन सक्दैनौं। अस्पताल बनाउन एक प्रतिशतको दरमा हामीले 300 करोड़ ऋण लियौं। राज्य सरकारको योजना बजेटबाट यसमा धनराशि लगाइएको छ। अनि, पूर्वोत्तर र अन्य क्षेत्रका स्रोतबाट पनि केही धनराशि यता खनाइएको छ”,मुख्यमन्त्रीले राज्य सरकारको महत्वाकांक्षी परियोजनाको थालनी-कथा सुनाए। पहिलो र दोस्रो चरणको कार्य समाप्तिको सङ्घारमा रहेको बताउँदै तेस्रो र चौथो चरणमा मेडिकल कलेज तथा क्वार्टरहरू निर्माण गरिने उनले जानकारी दिए। जनताका हितमा गरिएका सबै कार्यलाई संस्थागत गर्नु राज्य सरकारको सर्वप्रमुख प्राथमिकता रहेको मुख्यमन्त्रीले जिकिर गरे।
व्यक्ति वा मुख्यमन्त्री पनि सधैं रहँदैन, तर जनमुखी र उच्च विचारले गरिएका कार्यहरू संस्थागत गरिनुपर्छ। मुख्यमन्त्री वा व्यक्ति आउँछ-जान्छ तर विचार र राम्रा काम सधैं बाँचिरहन्छ। यो अस्पताललाई ठूलो संस्थान बनाउन चाहन्छौं, ताकि 1000 वर्षपछि पनि यसले सिक्किमलाई फाइदा पुगोस्”, मुख्यमन्त्रीले भने। यस ढङ्गको सरकारी पूर्वाधार भारतमा आफूले विरलै देख्नपाएको उनले उल्लेख गरे। 9 देखि 14 वर्षका किशोरीहरूलाई सर्भाइकल क्यान्सरविरुद्धको एचपीभी खोप लगाउने सिक्किम देशमै पहिलो सफल राज्य बनिसकेपछि देशमै अहिले सिक्किम मोडललागू गरिनुपर्ने चर्चा उठेको छ। 
यस सन्दर्भमा मुख्यमन्त्रीले भने, “म सिक्किमे जनताको जिन्दगानीलाई सबैभन्दा बढ़ी माया गर्छु। त्यसमा पनि म नारीहरूलाई धेरै माया र सम्मान गर्छु। मेरो राजनीति घृणाको होइन, महाप्रेमको हो। सर्भाइकल क्यान्सरबाट छोरीहरूको मृत्यु नहोस् भनेर 2013 मा नै हामीले यसको खोप लगाउने निर्णय गरेका थियौं। तर विपक्षी पार्टीहरूले जनतालाई मिसगाइड गरे। जनताका छोराछोरी मार्न आट्योभने। यति राम्रो कामलाई पनि राजनीतिकरण गरेर खोप लगाउन दिइएन। हामीलाई चार वर्ष लाग्यो यो योजना लागू गर्न। त्यो चार वर्षको अवधिमा 9-14 वर्ष आयुसीमाका छोरीहरू यो खोप लगाउनबाट वञ्चित भए। उनीहरूलाई सर्भाकल क्यान्सर लाग्यो भने विपक्षी पार्टीहरूलाई पाप लाग्छ।” 
चामलिङले यस मामिलामा विपक्षी एसकेएमलाई निकै कटाक्ष गरे। एमजी मार्ग बनाउँदा पनि 99 प्रतिशत स्थानीय व्यापारीले विरोध गरेका थिए, तर हामीले विरोधको परवाह गरेनौं। आज सबै विरोधीहरू एमजी मार्गको प्रशंसा गर्छन्। भीड़को मानसिकताबाट माथि उठेर शिक्षित व्यक्तिहरूले सही र गलतलाई छुट्याउनुपर्छ र जनतालाई त्यो बताइदिनुपर्छ। राम्रोको समर्थन र खराबको विरोध गर्‍यो भने मात्र सिक्किम बाँच्छ”,चामलिङले भने। राम्रो काम गर्दा पनि विरोध हुनु प्रजातन्त्रको सबैभन्दा ठूलो कमजोरी रहेको उनको भनाइ थियो। सरकारले हरेक ठाउँमा नयाँ सोच, चिन्तन र कार्यप्रणाली विकास गरिरहेको बताउँदै उनले सोकेथाङ अस्पताल देशकै सर्वोत्कृष्ट अस्पतालहरूमध्ये एक रहेको उल्लेख गरे। 
आज सिक्किमले जे सोच्छ, त्यो भोलि भारतको अर्को राज्यले सोच्छ”,मुख्यमन्त्रीले भने। यति ठूलो पूर्वाधारलाई टेकन फर ग्रान्टेड’-को रूपमा मात्र लिन नहुने उनले राज्यवासीलाई आग्रह गरे। आफूलाई देशकै सबैभन्दा अनुभवी मुख्यमन्त्री बताउँदै उनले भने,“24 वर्षभित्र मैले भारतका सातजना प्रधानमन्त्रीसँग काम गरेको छु। अनुभवले पाकेको मुख्यमन्त्री पवन चामलिङ नै हो। मैले नीति आयोग पनि देखे, योजना आयोग पनि। केन्द्रले राज्यको यस्तो पूर्वाधारको लागि पैसा दिँदैन। यो हाम्रो आँट हो।आफ्ना कामहरूलाई रेखाङ्कित गर्दै मुख्यमन्त्रीले राम्रो सरकारको औचित्य उपस्थित सबैलाई बुझाए,“पार्टीले जित्यो, नेताले जित्यो तर जनताले हारे भने सबै खत्तम हुन्छ। हामीले जनतालाई जिताउने काम गरेका छौं। चुनाउ आउँदैछ, राम्रो सरकार छान्नु अब जनताको जिम्मेवारी हो। अब सरकार छान्ने आपद जनतामा आयो। 24 वर्षमा सिक्किमलाई सुखशान्ति दिएको छ मैले। जनताले आफ्नो राम्रो सरकार छान्न जानेन भने सबै एकैछाक हुन्छ।उनी समाजका उच्च तहका अधिकारी, डाक्टर र नर्सिङ विद्यार्थीहरूलाई एसडीएफ सरकारको महत्त्व बुझाइरहेका थिए। विद्यार्थीहरूले आजको समयमा आर्टिफिसियल इन्टेलिजेन्स’-सँग कड़ा प्रतिस्पर्धा गर्नुपर्ने हुनाले यसलाई स्वीकार गरेर आफूलाई बनाउन उनले आह्वान गरे।
यसै अवसरमा मुख्यमन्त्रीले केही महत्त्वपूर्ण घोषणाहरू पनि गरे। उनले बीएस्सी नर्सिङका विद्यार्थीहरूलाई निःशुल्क अध्ययनको घोषणा गरे। यसैगरी,आगामी वर्षदेखि एमबीबीएस पनि निःशुल्क पढ़ाउने बताए। सबै विद्यार्थीहरूले समान शिक्षाको अधिकार पाउन् भनेर सरकारले राज्यका छोराछोरीहरूलाई एमए स्तरसम्म निःशुल्क शिक्षाको व्यवस्था गरेको उनले जानकारी दिए। 
राज्यको क्याचकार्यक्रमलाई व्यवस्थित गर्नुपर्ने आवश्यकतामाथि मुख्यमन्त्रीले जोड़ दिए। एडहकमा कार्य गरिरहेका चिकित्सक र नर्सहरूको स्थायीकरणमा रोस्टर सिस्टम लागू नगरिने, दुई महिनाभित्र स्वास्थ्य विभागमा रहेका सबै रिक्त पदमा प्रत्यक्ष नियुक्तिद्वारा पूरा गरिने, यस अस्पतालमा तल्लो तहका नोकरीहरूमा अस्पताल वरिपरि क्षेत्रका बेरोजगारहरूलाई एमआर र एडहकमा सोझै नियुक्ति गरिने, राज्यमा लामो समयदेखि काम गरिरहेका तर स्थायी नभएका होम गार्डहरूलाई रोस्टर हटाएर सोझै स्थायीकरण गरेर सुरक्षा गार्डमा लगाउने अनि अस्पतालका सबै रिक्त पदहरूमा शीघ्रै नियुक्त गरिने मुख्यमन्त्रीले घोषणा गरे।
मुख्यमन्त्रीले दशजना आमाहरूलाई गौरवशाली मातृ योजना’-को चेक वितरण गरे, जसमा पहिलो सन्तान र दोस्रो सन्तानका लागि क्रमैले 7000 रुपियाँ र 10,000 रुपियाँसहित शिशुहरूका लागि छः वर्षसम्म 500 रुपियाँ गरेर प्रत्येक महिना प्रदान गरिने योजना सम्मिलित छ। यसैगरी, मुख्यमन्त्रीले क्याच2017-18 को रिपोर्ट र नर्सिङ कलेजको वेबसाइटको पनि लोकार्पण गरे। स्वास्थ्य क्षेत्रमा अमूल्य योगदान दिएवापत् विभागले मुख्यमन्त्रीलाई संवर्धना पनि जनायो। 
यसअघि, कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्री एके घतानीले स्वास्थ्य क्षेत्रमा राज्य सरकारले गरेका विकासबारे प्रकाश पारेका थिए। यहाँ अध्ययनरत् नर्सहरूले रोगीहरूको उदाहरणीय सेवा गर्ने उनले विश्वास जताए। यसैगरी, स्वास्थ्य विभागका आयुक्त तथा सचिव विशाल चौहानले यो देशकै सरकारी अस्पतालमध्ये श्रेष्ठ 10 मा आउने दाबी गरे। यस वर्षदेखि 40 जना गरेर प्रत्येक ब्याचमा नर्सिङको अध्यापन शुरु गरिएको उनले जनाए। बाहिर नर्सिङ पढ्दा वर्षको कम्तीमा एक लाख रुपियाँ लाग्छ। यहाँ सिक्किम सरकारले निःशुल्क अध्ययन गराएको छ। यहाँका विद्यार्थीहरूका लागि यो ठूलो उपहार हो”,उनले भने। राज्य सरकारले आगामी वर्षदेखि यो अस्पताल पूर्ण रूपमा सञ्चालनमा ल्याउने लक्ष्य लिएको छ।
चामलिङले गरेका घोषणाहरू-
सरकारी अस्पताल भारतकै श्रेष्ठ दशमा पर्ने दाबी

-‘जनतालाई 1000 वर्ष फाइदा पुगोस् भन्ने चाहन्छौं’  
-नर्सिङमा बर्सेनि 40 जना विद्यार्थीको निःशुल्क अध्ययन
-एडहक चिकित्सक र नर्सहरूको स्थायीकरण हुने 
-दुई महिनाभित्र स्वास्थ्य विभागका सबै रिक्त पद भरिने 
-पुराना अस्थायी होमगार्डहरूको पनि हुनेछ स्थायीकरण

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here