डा. एमके शर्मा एसडीएफमा सामेल

0
578

गान्तोक, 21 मार्चः एसकेएम  सरकारमा स्वास्थ्य मन्त्री रहेका डा. एमके (मणिकुमार) शर्मा एसडीएफमा सामेल भएका छन्।

यसका साथै उनी लामो समयपछि राज्य फर्केका छन्।

आज खाम्दोङ-सिङ्ताम निर्वाचन क्षेत्र अन्तर्गत थासा, सुमिक लिङ्जेमा आयोजित सामेली कार्यक्रमबिच डा. शर्मा एसडीएफमा जोडिएका हुन्।

उनीसँग उनका धेरै समर्थक र अन्य पार्टीका कार्यकर्ताहरू पनि एसडीएफमा सामेल भएका छन्।

डा. एमके शर्मा सिक्किमको राजनीतिमा एक चर्चित व्यक्ति हुन्। 2014 को विधानसभा चुनाउमा एसडीएफ उम्मेदवार सोमनाथ पौडेलसँग केही मतान्तरले पराजित बनेका उनले 2019 को विधानसभा चुनाउमा एसडीएफ उम्मेदवार जीएम गुरुङलाई पराजित गरेका थिए। 2019 को विधानसभा चुनाउमा पीएस गोले नेतृत्व सिक्किम प्रजातान्त्रिक पार्टी (एसकेएम)-ले पवन चाम्लिङ नेतृत्व सिक्किम डेमोक्रेटिक फ्रन्टलाई दुई सिटको अन्तरले हार चखाएको थियो।

एसकेएम सत्तामा आएपछि खाम्दोङ-सिङ्ताम निर्वाचन क्षेत्रबाट विजयी बनेका डा. एमके शर्मा राज्यको स्वास्थ्य मन्त्री बनेका थिए। त्यसबेला एसकेएमलाई सत्तामा ल्याउन डा. शर्माले पनि महत्त्वपूर्ण भूमिका खेलेका थिए। तर स्वास्थ्य मन्त्री बनेका डा. शर्मा र एसकेएम सरकारबिच बिस्तारै सम्बन्ध चिसिँदै गयो।

यसैबिच, 13 जनवरी 2023 मा सर्वोच्च न्यायालयले सुनाएको एक आदेशमा सिक्किमका नेपालीभाषी समुदायलाई विदेशको ट्याग लागेपछि यसको प्रतिवाद जनाउँदै डा. एमके शर्माले 2 फरवरी 2023 का दिन  स्वास्थ्य मन्त्रीको पदबाट राजीनामा दिएका थिए। त्यसपछि उनी राज्यबाहिर नै बस्दै आइरहेका थिए।  यद्यपि उनले एसकेएम पार्टी छाडिहालेका भने थिएनन्। दुई दिन अघि अर्थात 19 मार्चका दिन डा. एमके शर्माले एसकेएम पार्टीबाट राजीनामा दिँदै आज आधिकारिक रूपमा एसडीएफ पार्टीमा सामेल भएका हुन्।

आउँदो विधानसभा चुनाउ जितेर सिक्किमको सत्तामा पुनः फर्किने लक्ष्य राखेर सक्रिय बनेको एसडीएफ पार्टी डा. एमके शर्माको आगमनसँगै खाम्दोङ-सिङ्ताम निर्वाचन क्षेत्रमा बलियो बनेको छ।

आज सामेल हुने अन्यहरूमा धेरजसो सत्तारूढ एसकेएम पार्टीका कार्यकर्ता रहेको एसडीएफ पार्टीको दाबी छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here