जाप अध्यक्षप्रति राँकियो क्रामाकपा, गोविन छेत्रीले भने – डा. हर्कबहादुर छेत्रीले राज्यको कथित ठेकामा काम गर्दैछन्

0
1732
क्रामाकपा प्रवक्ता गोविन छेत्री (फाइल फोटो)। 

दार्जीलिङ, 10 सेप्टेम्बर : क्रान्तिकारी मार्क्सवादी कम्युनिस्ट पार्टी (क्रामाकपा)- जनआन्दोलन पार्टीप्रति राँकिएको छ। केही दिनयता जापको सभाहरूमा यसका अध्यक्ष डा. हर्कबहादुर छेत्री र महासचिव नयन प्रधानहरूले क्रामाकपा र विशेष गरी यसका अध्यक्ष आरबी राईप्रति दिएको बयानको सन्दर्भमा क्रामाकपा बिच्किएको हो। क्रामाकपा प्रवक्ता गोविन छेत्रीले सोमवार दार्जीलिङको प्रेस गिल्डमा पत्रकार सम्मेलन आयोजन गरी जाप अध्यक्ष डा. हर्कबहादुर छेत्री र उनका टोलीले राज्य अह्राएको कथित ठेकादारीमा काम गरिरहेको बताए।
विगत दुई-चार दिनदेखि जापका अध्यक्ष हर्कबहादुर छेत्री र यसका महासचिव नयन प्रधानले लगातार आक्रामक शैलीमा क्रामाकपाविरुद्ध बयान दिइरहेका छन्। किन जाप अध्यक्ष र महासचिवले क्रामाकपामाथि यस्तो बयान दिइरहेका छन्, हामीले बुझ्न सकेनौं। हामीले यसका कारणहरू खोज्दा थाहा पायौं, जाप, यसका अध्यक्ष र टोलीले पूरापुरी रूपले बङ्गालको घूप बाल्न थालिसकेको पायौं, उनले भने।
7 अक्टोबर 2007-मा छुट्टै राज्यका लागि भनेर गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) गठन भएपछि यसको भोलिपल्टै क्रामाकपाले बिनाशर्त गोजमुमोको गोर्खाल्यान्ड आन्दोलनलाई समर्थन गरेको तर राज्यले विमल गुरुङलाई मुख्यमन्त्री ममता ब्यानर्जीले कोलकातामा बोलाएपछि उनले उल्टै क्रामाकपालाई गाली गर्न शुरु गरेको बताउँदै भने,  अहिले यस्तै परिस्थिति हामी देख्दैछौं। जब केही दिन अघि जाप अध्यक्ष हर्कबहादुर छेत्रीले मुख्यमन्त्रीलाई भेट गरे, त्यसपछि उनले र उनको टीमले फेरि क्रामाकपा र विशेषगरी आरबी राईमाथि खनिनु थालेका छन्। यसबाट के प्रमाण गर्छ भने उनीहरूलाई क्रामाकपालाई मास्न र अध्यक्ष आरबी राईमाथि आक्रमण गर्न राज्यले लगाएको छ।
उनले क्रामाकपामा मात्र एउटा यस्तो पार्टी हो, जसले साँचो हृदयले गोर्खाल्यान्डको मागलाई अघि बढ़ाउने प्रयास गरिरहेको दाबी समेत गरेका छन्।
क्रामाकपा प्रवक्ताले अन्य धेरैवटा पार्टी बिक्री भएको, राज्यले बोलाउँदा कोलकाता उनीहरू गइहालेको तर क्रामाकपा राज्यसँग बिक्री नभएको र राज्यले बोलाउँदा अहिलेसम्म कोलकाता नगएको दाबी गरे।
क्रामाकपा बिक्री नभएपछि, कोलकाता बोलाउँदा नगएपछि राज्यले सोच्नु थाल्यो यसलाई समाप्त गर्नु पर्छ, यसका अध्यक्षमाथि आक्रमण हुनुपर्छ। त्यसैले उनीहरूलाई कथित ठेकामा काम लगाइएको हो। अहिले त्यै काम हर्कबहादुर छेत्री र उनको टोलीले गर्दैछ।
क्रामाकपाको जापसँग कुनै लिनुदिनु नरहेको र दुवै पार्टीले आ-आफ्नो काम गर्ने पनि उनले बताएका छन्। जापप्रति आक्रामक देखिएका छेत्रीले जाप अध्यक्ष र उनका टोलीले गोर्खाल्यान्ड शब्दको उच्चारण केवल जनतालाई भुल्याउन मात्र गरिरहेको पनि बताए।
हर्कबहादुर छेत्री नै हुन्, कुनैबेला गोर्खाल्यान्ड भए म टिस्टामा हाम फाल्छु भन्ने व्यक्ति। इन्द्रेको बाबु चन्द्रेले पनि गोर्खाल्यान्ड ल्याउन सक्दैन भन्ने व्यक्ति पनि उनी नै हुन्। अहिले उनले नै गोर्खाल्यान्ड गोर्खाल्यान्ड भनेर रट्दैछन्, क्रामाकपा नेताले थपे, यो केवल सत्ता हातमा पार्नु भनेर सोच लिएर अहिले गोर्खाल्यान्डबारे जनतालाई विभ्रान्तिमा पार्ने काम गर्दैछन्। चियाबारीमा जन्मेका आरबी राईले चियाकमानबारे के बोलेका छन् भनेर हाँस उठ्दो कुरा गर्दैछन्। उनीहरूलाई हामी चुनौती दिन्छौं- कुनै च्यालनमा चियाबारीमाथि बहसका लागि आरबी राई र हर्कबहादुर छेत्री टेबलमा बसून्। आरबी राईले चियाबारीलाई लिएर 6-7 वटा पुस्तक लेखेका छन्। यसका साथै चियाबारीको समस्यालाई लिएर आरबी राईले केन्द्रिय मन्त्रीहरूलाई पत्र पठाउँदै आएको हो।
विधानसभामा 5 वर्ष बस्दा चियाबारी लिएर हर्कबहादुर छेत्रीले के गरे, त्यसको एउटै मात्र प्रमाण देखाउने छेत्रीले चुनौती दिएका छन्। छेत्रीले विधानसभामा चियाबारीको समस्याबारे यो कुरा उठाए भनेर एउटा मात्र प्रमाण दिऊन्। हामी चुनौती दिन्छौं, गोविन छेत्रीले भने।
श्रमिकहरूको न्यूनतम रोज वृद्धिको लड़ाइँ लड़िरहेको जोइन्ट फोरमलाई लड़नका लागि जापले कार्य गरिरहेको र यसको प्रमाण हर्कबहादुर छेत्रीले क्रामाकपामाथि दिएको प्रमाण रहेको उनको ठोकुवा छ। उनीहरू जोइन्ट फोरममा रहन्छन्-रहँदैनन् त्यो उनीहरूको विचार हो। उनीहरू सरकारको धुपौरे भएर बस्छन् भने हाम्रो भन्नु केही छैन, उनले थपे,  तर क्रामाकपामाथि उनीहरूले जुन मनगड़न्ते आलोचना गर्दैछ, त्यो बन्द गर्नुपर्छ, यदि बन्द गर्न सक्दैनौं भने तिमीहरू पेपरमा दिएर होइन बहसका लागि हाँकाहाँकी आऊ। टेबलमा बसौं।
चियाबारी, बनबस्ती र सिन्कोनाबासीले पर्चापट्टा पाउनुपर्ने माग गर्ने पहिलो पार्टी नै क्रामाकपा रहेको र 1996 को चियाबारीलाई  गरिएको सम्मेलनमा यी मुद्दालाई लिएर प्रस्ताव पारित गरेको पनि क्रामाकपा प्रवक्ता छेत्रीले बताए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here