- उदय थुलुङ
झिङ्गाले
सम्भोग गरिबस्छ
उत्तानो परेर सुतेकी
नानीकी आमाको नाङ्गो कोखिलामा ।
विम्ब कविता इ. सं. २००० मा सुरु गरिएको मुक्तक शैलीमा लेखिने चार हरफे कविता हो । चारवटा हरफ क्रमशः प्रथममा एक , दोस्रोमा दुई, तेस्रोमा तीन र चौथोमा चार शब्दले बनेको कविताको लघु आकार हो – विम्ब कविता । विम्ब कविता शीर्षकविहीन हुन्छ । कविताको अन्तिम चौथो हरफलाई नै कविताको परोक्ष शीर्षक मानिलिनु पर्छ अर्थात् उक्त पङ्क्तिले शीर्षकको हरदर प्रतिनिधित्व गर्दछ । संरचनाको दृष्टिले विम्ब कविताले सूत्रात्मक आधार लिन्छ ।
विम्बर कविताले आफूभित्रको निहित भावलाई सपनाले जस्तो नेपथ्यबाट प्रस्तुत गर्छ । सपनाले अनागत घटनाहरूका लक्षण दिए झैँ कविताले विम्ब भएर यहाँ यो काम गर्छ । यसैले यस्ता प्रकारका स्वरूप संरचनाका कविताहरू विम्ब कविताहरू हुन् । मुक्तक, हाइकु, तीहक. युग्मकहरू झैँ लघु आयामका भए तापनि विम्ब कविताको आफ्नो निजत्व कायम छ । यसले आफ्नै प्रयास र दृष्टिकोणले कविताको अर्थ प्रकाश गर्छ । यसको आफ्नै स्वरूप, स्वत्व र लक्ष्य छ ।
विम्ब कविता अत्यन्त छोटा कविताहरूमाथि गरिएको शैली संरचनात्मक नयाँ प्रयोग हो । यो प्रयोग पूर्वाग्रहमुक्त छ र आफ्नै दृष्टिकोण लिएर विचरण गर्छ । लघु आकारमा पनि साङ्केतिक चरित्रद्वारा एउटा पूर्ण कविताको जिम्मेवारी वहन गर्छ ।
विम्ब प्रधान यी कविताहरूका लक्ष्य जीवनकै विविध पाटालाई हेर्नु हो । जीवन र जिउनुका क्रिया – प्रतिक्रियात्मक द्वन्द्वले मान्छे झैँ सबल प्राणीको चेतना जगत्-मा जुन अनुभूति सिर्जना गर्छ, त्यसकै सापेक्षतालाई विम्ब कविताहरूले रङ रोगन गरी इन्द्रेनी रूप प्रदान गर्छ । यद्यपि भ्रम जस्तो इन्द्रेनी जीवनकै भ्रमित अभिव्यक्ति – रूप हो । विम्ब कविताहरूले इन्द्रेनीको त्यो रङलाई समाउँछ र लघु स्वर र शब्दहरूका विकास गरेर एउटा सार दिन्छ – अभिव्यक्तिको । विम्ब कविताले जीवनलाई नजिकबाट छाम्छ, जीवनको अनुभूतिलाई संवेदनशीलताको लहरले छोप्छ ।
विम्ब कविता यसैले एक दृष्टिमा तात्कालिक परिस्थितिहरूमा सिर्जित संवेदनशीलता पनि हो । यन्त्रणा, भोक र भोग, उल्लास उत्कण्ठा सबै एकसाथ उभिन्छन् – विम्ब कवितामा । विम्ब कविता समग्रमा अनुभूतिहरूका प्रकाशन हो । एउटा पूर्णाङ्ग कविताले भन्न खोजेका कुरा नै मूलतः त्यसभित्र हुन्छ । कवितामा विम्ब त हुन्छन् नै तर विम्ब कविताको मौलिकता भनेको दसवटा शब्दभित्र कविताको प्राणलाई विम्बमय देखाएर प्रस्तुत गर्नु हो । विम्ब कविता लेखिनुपर्ने विषय फाँट पूर्णाङ्ग कविताको जत्रै हुन्छ । दसवटा शब्दले बनेको एउटा वाक्य नभएर चार हरफ कवितामय हुनुपर्छ ।
विम्ब भनेको वस्तुत्वको व्याख्यालाई चाहिने साङ्केतिक भाषा हो । वस्तुको आयामिकतालाई अपेक्षित जटिल सम्प्रेषण नभएर वस्तुको जीवन-जगत्-सितको अन्तरङ्ग सम्बन्ध, त्यसबाट प्राप्त प्रतिक्रिया, जीवनको व्यावहारिक सत्यतालाई सरलतम स्वरूपले व्याख्या गर्नु विम्ब कविताको ध्येय छ । विम्ब यसैले एउटा वाहक पनि हो – भाव बोधको ।
विम्ब, कवितामा श्वास-प्रश्वास हो । पहाडलाई पहाड भन्नका लागि परिभाषाको आवश्यकता रहँदैन । त्यसको ‘पन’ –को अनुभूति नै देख्ने / हेर्नेका लागि पहाड हो । पहाडपन स्टिमुलस हो भने बोध रेस्पन्स हुन्छ । कविताले वस्तुस्थितिलाई जे देख्छ, आन्तरिक वा बाह्य दुवैको अभिव्यञ्जनात्मक व्याख्या गर्नु विम्ब कविताको धर्म हो ।
विम्ब कविताले प्रकृति र मानव जीवनका कुराहरूलाई समाउँछ । अभिव्यक्ति माध्यमका लागि प्रकृतिका जड र चेतन तत्वहरू मानव जीवनका सत्य / झुटा कुराहरूलाई विम्ब बनाउँछ ।
विम्ब कवितालाई रुचाएर यसको सुरुका समयदेखि नै केही नयाँ कवि यसको लेखनमा दृढतापूर्वक लागिपरेका छन् । कतिले यसको संरचनामा ध्यान दिएका छन् त कतिले यसको संरचना र विषय वस्तु दुवैलाई । यद्यपि विम्ब कविता लेखन आजपर्यन्त निरन्तर चलिरहेको छ । सामाजिक सञ्जालको सुविधाले यसको लेखन तथा प्रकाशनमा यथेष्ठ फाइदा पुगिरहेको छ । यस पङ्क्तिकारको विम्ब कविताको सङ्ग्रह इं सं. २०१५ सालमा प्रकाशित भइसकेको छ । यसपछि पनि स्थापित कविहरू उर्मिला घिसिङ, सुभद्रा बमजन आदिले विम्ब कविताको सङ्ग्रह नै प्रकाशित गरिसकेका छन् । कवि क्षेत्र प्रेम मुखियाले हिन्दीमा आफ्ना विम्ब कविताको सङ्ग्रह प्रकाशित गरेका छन् ।
नेपालमा पनि लक्ष्मी नारायण जोशी तथा अन्य कविहरूले विम्ब कविताप्रति देखाएका रुचि र प्रेमले यसको गरिमा अझ बढेर जाने निश्चित छ । यी कविहरूलाई म अग्रिम शुभकामना दिन्छु ।
केही विम्ब कविता
१.
पुतलीलाई
सिलौटामा राखेर
पिसिबस्छे काली केटी
पल्लो घरको भव्य किचनभित्र ।
२.
कागको
कालो रङ
कस्तो राम्रो लाग्छ
आफैँलाई मन नपराउने पन्छीलाई ।
३.
रूखको
पातुलो बोक्रा
बोकेर आउँदैछ समय
छोरीको नाङ्गो जिउ ढाकिदिन ।
४.
मादलका
दुई गाला
धिन्ताङ धिन्ताङ गर्दै
बजाइमाग्छन् आफैँलाई उधारो चाडबाडमा ।
५.
सधैँभरि
धुवैधुवाँको मुस्लो
कस्तो विद्रोही मन
सबभन्दा वृद्ध दार्जिलिङ रेलको ।
६.
चायाले
पुरिएको अनुहारमा
पन्ड्स क्रिमको लेप
कहिलेसम्म दलिदिनु क्यापिटलको घडीलाई ।
७.
सारस
पानीमा उभ्छ
निःशब्द ओठ उचालेर
माछालाई नहेरेको अभिनय गर्छ ।
८.
अम्लिसोको
सुकेको सिटामा
आगो लाउँदै बसिबस्छ
गाउँको अविवाहित वृद्ध मान्छे ।
विम्ब कविता लेखनलाई अघि बढाएर लैजान विम्ब कविहरूका निक्कै लामो सूची समेत बनिसकेको छ । कविहरू विकास ‘विस्मित’, मिलन थुसमोसिस, डिकु मुखिया, सतीश छेत्री, सुशील सुब्बा, विष्णु कुमार ‘चतुर’, अनिल कुमार जिम्बा, धनबहादुर मगर, शरण गुरुङ ‘मुस्कान’, चन्द्रमान ‘क्याक्टस’, विजय कुमार मुखिया, धीरज सुब्बा, वीरेन्द्र ‘अब्जस’ आदिले विम्ब कवितालाई हुर्काएका छन् / बढाएका छन् । कविहरू सुभद्रा बमजन, उर्मिला घिसिङ तथा क्षेत्र प्रेम मुखियाले त अझ विम्ब कविताको सिङ्गो कृति नै प्रकाशित गरिसकेका छन् । सर्वप्रथम इ. सं. २०१५ मा आफूले विम्ब कविताको कृति प्रकाशित गरेपछि क्रमशः कवि सुभद्रा बमजनले समयका डोबहरू (इ. सं. २०१७), कवि उर्मिला घिसिङले विम्ब दृष्टि (इ. सं. २०१८) कवि क्षेत्र प्रेम मुखियाले हिन्दी भाषामा स्खलित सपने (इ. सं. २०१९) कृति प्रकाशित गरेपछि विम्ब कविताले पाठकीय र सृजनात्मक मूल्य पाउनसकेका कुरामा ढुक्क परियो । नेपालमा समेत कवि लक्ष्मी नारायण जोशी आदिले विम्ब कविता लेखनलाई अघि बढाएर लगेका छन्।
हालमा विम्ब कवितालाई ‘विम्ब लेखन’ वा ‘विम्ब वाण’ नाम दिइएको पनि कहीँकतै देखियो । विम्ब कविताको स्वरूप – संरचना सूत्र र कन्टेन्ट्कै कारण विम्ब कविता नाम आफ्नो मौलिक परिचयसित स्थायी रहने कुरा पनि यतिबेला लेख्न पाउँदा एक किसिमको आनन्द लागिरहेछ ।
लेखौँ विम्ब – कविता । लेखिरहौँ साना ठुला कुरा – विम्बमा ।
मङ्पु ।