आइतवार विमलपन्थी गोजमुमोको दिल्ली-एनसीआर शाखाद्वारा बङ्गाल सरकारविरुद्ध गरिएको मौन धरना प्रदर्शन। |
खरसाङ, १० सेप्टेम्बर : विमल गुरुङपन्थी गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) –को दिल्ली एनसीआरले दिल्लीको जन्तर मन्तरमा मौन धरना प्रदर्शन गरेपछि दिल्लीलगायत दार्जीलिङ-तराई डुवर्सका गोर्खाल्यान्ड समर्थकहरूमा नयाँ ऊर्जा सञ्चार भएको गोजमुमो दिल्ली-एनसीआरका महासचिव रोशन रामुदामुले बताएका छन्। उनका अनुसार गोजमुमो दिल्ली-एनसीआरले आइतवार गरेको एकदिने मौन धरना प्रदर्शनको कार्यक्रम लरतरो थिएन। यसले विश्वभरि छरिएर बसेका गोर्खाहरूमा छुट्टै राज्य गोर्खाल्यान्ड आन्दोलन र माग अझै जिउँदै रहेको सन्देश गएको छ।
सोमवार जनसंवादसँग टेलिफोनिक कुराकानी गर्दै उनले भने, “कतिपय स्थितिले हामी प्रायः एकवर्षसम्म मौन बसेका थियौं, तर गोर्खाल्यान्डका मुद्दा भने हामीले छोड़ेका थिएनौं। र छोड़्नेछैनौं। हामी हाम्रो पार्टी अध्यक्ष विमल गुरुङसँगै छौं। र भविष्यमा पनि सधैँ रहनेछौं।”
उनका अनुसार बङ्गल सरकारले दार्जीलिङ-तराई डुवर्समा जस्तो प्रकारले गोर्खाल्यान्ड चाहने समर्थकहरूलाई अन्याय अत्याचार गरिरहेको छ, त्यसलाई प्रत्येक गोर्खा एकजुट भएर विरोध गर्नुपर्नेछ। “ बङ्गालले गोर्खाहरूले गोर्खाल्यान्डको शब्दसमेत उच्चारण नगरोस् भन्ने चाहन्छ। शान्तिपूर्ण र गणतान्त्रिक ढङ्गमा संविधानले दिएको अधिकारअन्तर्गत् छुट्टै राज्य गोर्खाल्यान्डको माग गर्दा बङ्गाल सरकारले कतिसम्म हाम्रा मानिसहरूलाई सताउने कार्य गऱ्यो, त्यो सबैलाई थाहा छ ”, रामुदामुले भने।
एक प्रश्नको उत्तरमा उनले शुरुदेखि नै दिल्ली-एनसीआरका गोजमुमो कार्यकर्ताहरू विमल गुरुङको साथमा रहेको बताए। “ हामी गोर्खाल्यान्डप्रति प्रतिबद्ध र समर्पित छौं, त्यसैले विमल गुरुङसँगै छौं”, उनले भने। साथै हिजो गरिएको धरना प्रदर्शनको सफलताले दिल्लीमा गोजमुमोको शाखा खोलेर सुचारू चलाउने विनय तामाङको योजनालाई पनि ठूलो झट्का लागेको दिल्ली-एनसीआर गोजमुमो शाखा सचिवको दाबी छ। “दिल्ली-एनसीआरमा गोजमुमो कमिटी शुरुदेखि नै अस्तित्वमा छ। यो विघटन भएको छैन। यहाँका केही व्यक्तिहरूलाई लिएर विनय तामाङले दिल्ली-एनसीआर शाखा खोल्ने जुन योजना बनाएको थियो, त्यो योजनालाई ठूलो झट्का लागेको छ ”, उनले थपे, “हामी दिल्ली-एनसीआर क्षेत्रमा जतिजना पनि छौं, गोर्खाल्यान्ड र विमल गुरुङप्रति इमानदार छौं। हाम्रो सपना गोर्खाल्यान्ड रहेकोले ससाना स्वार्थ र सहुलियतमा भुलिनेछैनौं।”
स्मरणरहोस्, आइतवार गोजमुमोको दिल्ली-एनसीआर शाखा समितिले बङ्गाल सरकारले दार्जीलिङमा खुल्ला रूपमा लोकतन्त्रको हत्या गरी गोर्खाल्यान्ड समर्थकहरूमाथि अन्याय अत्याचार गरेको भन्दै मुखमा कालो पट्टी बाँधेर जन्तर मन्तरमा एकदिने मौन धरना प्रदर्शन आयोजन गरेको थियो।