साहित्यकार एवम् राजनीतिक चिन्तक पी. अर्जुनको निधन

0
122

सिलगढी, ५ अक्टोबर : सुपरिचित साहित्यकार, नाटककार, नाट्यअभिनेता एवम् राजनीतिक चिन्तक पी. अर्जुन अब हामीमाझ सशरीर रहेनन्।
पारिवारिक सूत्रका अनुसार उनको आज अपराह्न करिब साढे चार बजे सिलगढीको नेविदिता नर्सिङ होममा निधन भएको छ। उनी ७७ वर्ष पुगेका थिए।
पछिल्लो केही वर्षदेखि उनी अस्थमाको बिरामीले ग्रसित थिए। २ अक्टोबरका दिन उनलाई बिरामीले चापेपछि नेविदिता नर्सिङ होममा भर्ना गरिएको थियो भने आज उपचाररत अवस्थामा उनको मृत्यु भएको हो।


पी. अर्जुन पूर्व प्रशासनिक अधिकारी पनि हुन्।


नेपाली साहित्य र नाटक जगत्-मा विशिष्ट स्थान बनाएका पी. अर्जुनको जन्म १० मार्च १९४७ मा दार्जिलिङ शहरमा भएको थियो। सानैदेखि साहित्य, नाटक, अभिनय र राजनीतिमा गम्भीर चासो देखाएका उनका क्रमशः काव्य दर्शन, हाँस्दै जल्नुपर्छ पूर्णाङ्की नाटक, पहाडकी रानी पूर्णाङ्की, नेपाली दृष्य नाटकहरू र अचानो नाटक सङ्ग्रह प्रकाशित छन्।


कविता र गीत लेखनमा बेजोड उनको बाँच्न जानिनँ कि बचाउन जानिनँ गीत पनि अत्यन्त चर्चित छ।


सधैँ छुट्टै राज्य गोर्खाल्यान्ड प्राप्तिका लागि चिन्तना गरिरहने पी. अर्जुनका लेखादि र नाटकमा पनि दार्जिलिङ र यहाँको जाति – माटाको कथा व्यथा र यसमाथि चिन्तना पाइन्छ।


साहित्य र नाटक क्षेत्रमा पुऱ्याएको दीर्घकालीन सेवाका लागि उनी थुप्रै पुरस्कार र सम्मानद्वारा सम्मानित भइसकेका छन्। पी अर्जुनको निधनले सिङ्गो नेपाली साहित्य जगतमा शोकको लहर छाएको छ। उनले आफूपछि पत्नी, छोरा- बुहारी र नाता नातिनी छाडिगएका छन्।


भोलि अपराह्न उनको अन्तिम संस्कार गरिनेछ।


दार्जिलिङ टक्सका परिवार उनको निधनप्रति गहिरो शोक व्यक्त गर्दै शोकाकुल परिवारप्रति समवेदना प्रकट गर्दछ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here